पत्रकारिता समस्यामा पर्नुको मूल कारण सामाजिक सञ्जाल होः अर्थमन्त्री महत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ माघ २०८०, आईतवार ०७:१८

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले देशको आर्थिक अवस्थाले मात्र पत्रकारिता समस्यामा नपरेको स्पष्ट पारेका छन् । गोविन्द वियोगी स्मृति ट्रष्टद्वारा स्थापित गोविन्द वियोगी पत्रकारिता पुरस्कार हस्तान्तरण तथा वरिष्ठ पत्रकार सम्मान समारोहलाई सम्बोधन गर्दै मन्त्री डा. महतले पत्रकारिता समस्यामा पर्नुको मूल कारण सामाजिक सञ्जाल भएको बताए ।

‘सूचना प्रविधिको विकासले परम्परागत सञ्चारमाध्यम जोखिममा परेका छन् । हात–हातमा स्मार्ट फोन छ, त्यहाँ जसले जे पनि राख्न पाउँछ । कतिपय झुटा कुरा पनि सेयर भइरहेका हुन्छन् ।’ उनले भने, ‘हेर्दाहेर्दै त्यही कुरा मानिसलाई सत्य लाग्न थाल्छ । आम मानिसले गम्भीर कुरा चाहिँ पढ्न छाडे । मानिसहरु गहिराइमा जान छोडे, टिकटकमा रमाउन थाले । गहिराइमा पुगेर सत्य तथ्य बुझेर विचार बनाउने मानिसहरुले छाडे । यो अत्यन्तै खतरनाक हो ।’

बीपी कोइरालाले ‘जब सत्यको मुख बन्द हुन्छ, झुटोको थुतुनो चल्छ’ भनेझैं अहिले सामाजिक सञ्जालबाट धेरैजसो झुटोको थुनुतो चलेको उनको दाबी छ । सत्य बुझेकाहरु गाली खाइन्छ भनेर चुप लागेर बस्ने अवस्थामा रहेको बताए ।

‘सामाजिक सञ्जालमा मात्र निर्भर हुनुहुँदैन, मूलधारका सञ्चारमाध्यमलाई पनि अगाडि ल्याउनुपर्छ । परम्परागत सञ्चारमाध्यमको विश्लेषण हुन्छ, छलफल हुन्छ, जिम्मेवारी हुन्छ, निरन्तरता लिइराखेको हुन्छ, यसलाई मर्न दिनु हुँदैन,’– उनले भने ।

प्रतिबन्धित अवस्थामा पनि निर्भिक भएर पत्रकारितामार्फत् आफ्नो कुरा राख्नु चानचुने कुरा नभएको उनले बताए ।

देशको आर्थिक अवस्था अप्ठ्यारा भएकाले कुनै पनि संघसंस्थालाई राज्यले सहयोग गर्न नसकेको उनले बताए । परिस्थिति सहज भएपछि संघसंस्थाको महत्वलाई बुझेर पुनः सहयोग उपलब्ध गराइने उनको भनाइ थियो ।

‘मैले अर्थमन्त्रालयको जिम्मेवारी लिँदा समस्याको पहाड थियो, बजेट व्यवस्थापनमा पनि धेरै खालका बिथिति थिए । त्यसलाई अर्डरमा ल्याउने चुनौति मेरो सामू थियो । बानी परिसकेपछि त्यसलाई छोडेर अर्को बाटो तय गर्नु एकदमै कठिन काम हुँदो रहेछ । त्यो बिथितिलाई एकै धक्कामा सफा गर्न पनि कठिन थियो । विस्तारै काम भइरहेको छ । दायित्वमाथि दायित्व सिर्जना हुँदै जाने, हिसाबकिताब नदेखिने अवस्थाको हामीले अन्त्य गर्दैछौं । यसबाट स्वार्थ समूह बेखुशी छन् । बजेट व्यवस्थापन विस्तारै सिस्टममा ल्याउँदैछौं,’– उनले भने ।

साथै, अर्थतन्त्र विस्तारै लयमा फर्किने क्रममा रहेको उनले बताए । उनले जग्गा कारोबार चलायमान भएको, नेप्से परिसूचक उकालो लागेको, धेरै वर्षपछि उच्च संख्यामा पर्यटक भित्रिएका र बाहिरबाट सिस्टममा प्रशस्त पूँजी प्रवाह भएको बताए । यसले उद्योगी व्यापारीहरुमा आत्मविश्वास पनि बढेको उनको भनाइ छ । ‘आर्थिक वृद्धि पहिलेको तुलनामा बढ्छ, लगानीको नयाँ क्षेत्रको पहिचान गर्नुपर्छ । अर्थतन्त्रमा देखिएको अन्योल समाप्त हुँदैछ । सञ्चारकर्मी साथीहरुले सकरात्मक भाष्यलाई अगाडि बढाउनु हुनेछ । यसले आत्मविश्वास बढाउँछ,’– उनले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१