नेकपा विभाजन टुंगो नलागेसम्म कांग्रेस तटस्थ रहने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ फाल्गुन २०७७, शुक्रबार ०५:३९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विभाजनको टुंगो नलागेसम्म कांग्रेस सरकारमा सहभागी नहुने भएको छ ।

बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले नेकपा विभाजन टुंगो नलागेसम्म तटस्थ रहने निष्कर्ष निकालेको हो ।

सत्तारुढ दल नेकपा राजनीतिक रुपमा विभाजित छ । तर कानुनी रुपमा उनीहरु एक छन् । नेकपाको पार्टी विभाजन नटुंगेसम्म हतारिएर सरकारमा जाने कुरा उचित नहुने धारणा नेताहरुले राखेका छन् ।

कांग्रेसले तटस्थ बस्ने निर्णयका साथ तत्काल सत्तामा नजाने आज बसेको बैठकले निर्णय गरेको सह–महामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

नेकपाको विवादका बेला कांग्रेसले गर्ने निर्णयप्रति धेरैको चासो छ । नेपाली कांग्रेस तत्काल सरकारमा सहभागी नहुने देखिएपछि राजनीतिक थप संकट देखिने पक्का भएको छ ।

बैठकमा पार्टी सभापति देउवाले देशको पछिल्लो राजनीतिक परिस्थिति र नेकपाका दुवै पक्षले सहकार्यको प्रस्तावका बारेमा जानकारी गराएका थिए । बैठकमा देउवाले नेकपाको आन्तरिक विवाद टुंगो नलागेसम्म कुनै पक्षमा नरहेको बताएका थिए ।

बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै डा. महतले नेकपा अहिलेसम्म वैधानिक रुपमा एक रहेकोले आफूहरुको जरुरी नै नपर्ने बताए । उनले भने, ‘वैधानिक रुपमा नेकपा एक रहुञ्जेल उनीहरुसँग आफैँ बहुमत हुन्छ, यो अवस्थामा हामी किन उत्ताउलो बन्‍ने ?’

कानुनी रुपमा नेकपा दुई दल भएमा सत्ता समीकरणको कुरा हुने भन्दै उनले अहिलेलाई कांग्रेसको निर्णय भनेको नेकपा कानुनी रुपमा विभाजनको प्रतिक्षा भएको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१