सर्वोच्चको फैसलाले संविधानलाई लिकमा ल्याएको छः नेकपा (विज्ञप्ति)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ फाल्गुन २०७७, बुधबार ०५:२७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमलाई खारेज गरेर प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई हार्दिक स्वागत गरेको छ । उक्त पार्टीले विज्ञप्ति मार्फत फैसलाले संविधानलाई लिकमा ल्याएको जनाएको छ ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘देशलाई प्रतिगमन तथा राजनीतिक संकटको अध्यारो सुरुङमा धकेल्न चाहने सत्ता लोलुप सर्वसत्तावादी एवम् सबै प्रकारका अलोकतान्त्रिक तथा निरंकुश शक्तिहरुको अपेक्षा र षड्यन्त्रलाई असफल बनाइदिएको छ । यो नेपाली जनता, संविधान, लोकतन्त्र, सत्य र न्यायको विजय हो ।’

विज्ञप्तिको पूर्णपाठ यसप्रकार छः–

मितिः २०७७।११।११ प्रेस वक्तव्य
हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमलाई खारेज गरेर प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई हार्दिक स्वागत गर्दछ । सर्वोच्च अदालतले संविधानको अक्षर, मर्म र भावनालाई आत्मसाथ गरी तदनुरुप संविधान सम्मत फैसला गरेर प्रतिनिधि सभालाई मात्र बचाएको छैन, संविधान र लोकतान्त्रको रक्षामा समेत ऐतिहासिक योगदान पुर्याएको छ ।

यो फैसलाले संविधानलाई लिकमा ल्याएको छ र देशलाई प्रतिगमन तथा राजनीतिक संकटको अध्यारो सुरुड.मा धकेल्न चाहने सत्ता लोलुप सर्वसत्तावादी एवम् सबै प्रकारका अलोकतान्त्रिक तथा निरंकुश शक्तिहरुको अपेक्षा र षड्यन्त्रलाई असफल बनाइदिएको छ । यो नेपाली जनता, संविधान, लोकतन्त्र, सत्य र न्यायको विजय हो ।

सर्वोच्च अदालतको यो निर्णयले इतिहासका विभिन्न कठिन मोडहरुमा झै फेरी एकपटक नेपालको अदालत सबैप्रकारका धम्की र दबाबहरुबाट मुक्त भई स्वतन्त्र ढंगबाट निर्णय गर्न सक्षम छ भन्ने पुष्टि गरेको छ । हाम्रो पार्टी यसको उच्च मूल्यांकन गर्दछ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रतिनिधिसभा विघटनको असंवैधानिक एवम् प्रतिगामी कदमलाई खारेज गर्न संघर्ष गर्ने र आ आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने सबै राजनीतिक पार्टीहरु, नागरिक समाज, पूर्व प्रधानन्यायधीशहरु, संविधान एवम् कानूनविद्हरु, पत्रकार, बुद्धिजीवि र आम जनसमुदायलाई हार्दिक बधाइर्, आभार र धन्यवाद व्यक्त गर्दछ ।

संविधान र लोकतन्त्रको पक्षमा नेपाली जनताले देखाएको यो अभूतपूर्व जागरण र एकतालाई निरन्तर कायम राख्नुपर्ने आवश्यकता छ । अहिले असंवैधानिक एवम् प्रतिगामी कदम परास्त र असफल भएको भएपनि प्रतिगामी षड्यन्त्र एवम् निरंकुशतन्त्रको खतराका विरुद्ध सचेत भइरहन हाम्रो पार्टी सबैलाई अपिल गर्दछ ।

हाम्रो पार्टी नेपाली जनताले बलिदानीपूर्ण संघर्षबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रसहितको ऐतिहासिक राजनीतिक परिवर्तन, संविधान र लोकतन्त्रको रक्षाको संघर्षमा अग्रपंक्तिमा रह्यो । अबको नयाँ परिस्थितिमा नयाँ ढंगले अगाडि बढ्न पनि हामी गम्भीर जिम्मेबारी बोध गर्दछौं ।

संविधान र लोकतन्त्र विरुद्धको अहिलेको प्रतिगामी कदम असफल भइसकेपछि अब हामी संविधानको प्रभावकारी कार्यान्वयन, लोकतन्त्रको उन्नत अभ्यास एवम् सुदृढीकरण, सुशासन, सामाजिक आर्थिक रुपान्तरण, सामाजिक न्यायसहितको समृद्धी र समाजवादको आधार निर्माण लगायतका विषयमा गम्भीर आत्मसमिक्षासहित सबै लोकतान्त्रिक शक्तिहरुसँग हातेमालो एवम् सहकार्य गर्दै नयाँ ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१