दाहाल-नेपाल समूहले निर्वाचन आयोगमा बुझायो २८७ केन्द्रीय सदस्यको हस्ताक्षर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ पुष २०७७, बिहीबार ०४:५१

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल-नेपाल समूहले आफ्नो पार्टी आधिकारिक रहेको प्रमाणस्वरूप २८७ केन्द्रीय सदस्यको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ।

मंगलबार बसेको केन्द्रीय कमिटी बैठकमा सहभागी ३१५ सदस्यमध्ये बुधबार २८७ जनाको हस्ताक्षर र पार्टीले केपी ओलीलाई अध्यक्षबाट हटाएको जानकारी निर्वाचन आयोगलाई बुझाएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

२९० जनाको नामावली बुझाइए पनि २८७ जनाको हस्ताक्षरसहित मंगलबार पार्टी केन्द्रीय कमिटीले गरेको निर्णय आयोगमा बुझाइएको पाण्डेले बताए । ३ जना भने काम विशेषले हस्ताक्षर गर्ने बेलामा छुटेकाले २८७ जनाको हस्ताक्षरसहित बहुमत पार्टी सदस्यको निर्णय आयोगमा पेस गरेको उनले बताए ।

आयोगमा पार्टी निर्णय बुझाउन नेता सुरेन्द्र पाण्डे, लिलामणि पोखरेल, मुक्ति प्रधान, श्रीराम ढकाल र आफू पुगेको उनले बताए ।

उनका अनुसार तत्कालीन नेकपा–एमाले र माओवादी एकीकरण हुँदा ४४१ केन्द्रीय सदस्य थिए। पछि चार जनालाई मनोनित गरी ४४५ सदस्यी बनाइए पनि तीन जनाको मृत्यु र ८ जनाले राजनीतिक तथा संवैधानिक नियुक्ति पाएपछि नेकपामा ४३४ केन्द्रीय सदस्य छन् ।

तर, दाहाल-नेपाल समूहले पार्टी सदस्यसमेत नरहने गरी ओलीलाई कारबाही गरेको विवरण सार्वजनिक भएपछि मंगलबार ओली समूहको बैठकले ५५६ जना केन्द्रीय सदस्य थपेको छ ।

पुस ५ मा प्रतिनिधिसभा विघटन गरिएपछि नेकपा अनौपचारिकरूपमा विभाजन भइसकेको छ । पुस ५ यता ओली र दाहाल-नेपाल समूहको समानन्तर बैठकले आफू अनुकुलका निर्णय तीव्र पारेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१