अन्र्तजातिय विवाहकै कारण गाउँबाट निकालिए दृष्टिविहिन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ भाद्र २०७१, बिहीबार १४:३७
  • सरकारको अभियान असफल

ज्ञानमणि कालोटोपी

काभ्रे, २६ भाद्र  ।  काभ्रे जिल्लाको उत्तरीभेगमा रहेको अन्तिम गाविस चण्डेनीमण्डनका स्थायी वासिन्दा दृष्टि विहिन ज्ञानेन्द्र नेपाल आफूले समाजमा तल्लो जात भनिने विश्वकर्मा थरकी युवती विवाह गरेकै कारण विगत १३ वर्ष देखि गाउँबाट निष्कासित भएका छन् । बाहुनका छोरा ज्ञानेन्द्रले आफूले समाजमा भएको कुरिती विरुद्ध काम गरेकै कारण समाजबाट निस्कासित हुनु परेको गुनासो गरेका छन् । निस्कासित भएपछि अहिले किर्तीपुरको पाँगामा अस्थायी रुपमा वसोवास गर्दै आएका उनलाई न कसैले सहयोग गरेका छन् , न घर परिवार र समाजले खोजी नै ।P1010068
आफूले गरेको काम आफ्नै लागि अभिसाँप भएर आउला भन्ने उनले पहिल्यै सोचेका थिए । आफ्नो गाउँ–ठाउँ र समाज पुरातनवादी छ भन्ने पनि उनलाई राम्रो सँग थाहा थियो । तर पनि ठूलै जोखिम मोलेरै आफू भित्र पलाएको परिवर्तित सोचलाई व्यवहारमा उतारिदिए उनले । जसको उपहार स्वरुप अहिले समाजबाट बहिष्कृत भएका छन् ।b
शारिरीक रुपमा उनी दृष्टिविहिन नै हुन् । जन्मिएको एक वर्ष मै उनका दुवै आँखाको ज्योती गुमेका कारण संसार कस्तो छ उनका लागि कल्पनाकै विषय बनेको छ । समाजमा आफू बाहुनको छोरो भएको र गाउँमा कामी भनेर अरु व्यक्तिलाई होच्याउने परम्परा उनलाई सानै देखि कतिपनि मन पर्दैनथ्यो । त्यसैले उनले समाजलाई चुनौती दिनको लागि कसैले नगरेको काम गर्ने सोचको आफूमा पहिल्यै विकास गरिसकेका थिए । अहिले ३५ वर्षिय उनले ०५७ सालको साउन महिनामा गाउँमा विवाह गरेको हल्लाले सबै अचम्मित बनेका थिए । दृष्टि विहिन भएपनि विवाह गरेकोमा धेरैजसो खुशि पनि थिए । विवाह गरेको एक वर्ष सम्म विवाहित केटी विश्वकर्मा जातकी हुन् भन्ने कसैलाई पनि थाहा थिएन । घर परिवार मै मिलेर बसे ।
उनले विवाह गरेकी लमजुङ्ग जिल्लाकी रुपा विश्वकर्मालाई साथीभाईले एकदिन विवाहको बधाई स्वरुप चिठी पठाए, रुपा विश्वकर्माकै नाममा । त्यस पछि मात्र सबैलाई थाहा भयो की उनले समाजले पानी नचल्ने सुचीमा राखेको तल्लो जातकी केटी विहे गरेछन् । लगतै गाउँका भद्रभलाद्मीहरुको वैठक बस्यो र उनलाई परिवारबाट अलग्गै राख्ने निर्णय ग¥यो । सबै सामान छुट्याएर जिम्मा लगाईदिए, तर आफू पूर्णरुपमा आँखा नदेख्ने र श्रीमती पनि एउटा मात्र आँखा देख्ने हुनाले काम गरेर र समाजमै हेलित भएर बस्न उनको मन मानेन । लगतै उनी काठमाडौं आए ।
सबै मानिसहरु परम्परागत मान्यता राख्ने हुन्छन् भन्ने पनि छैन । उनको यस्तो काम थाहा पाएर ०६० सालमा तत्कालिन भौतिक योजना तथा निर्माण मन्त्री स्व. नारायण सिंह पुनले अभाव र समस्याले पीडित बनेको ज्ञानेन्द्रको परिवारलाई व्यक्तिगत रुपमा एकलाख रुपयाँ नगद पुरस्कार दिने निर्णय गरे । त्यस पछि उनलाई धेरै सजिलो भयो ।
समय बदलियो , हरेक तन्त्रहरु आए तर दृष्टिविहिन र अपांगलाई सहयोग गर्ने कुनै पनि सरकारको ओठे मन्त्र भन्दा व्यवहारिक पक्ष केहि पनि नआएकोले अहिले सम्म आफूहरु जस्ता थुपै्र व्यक्तिहरुले समस्या भोग्नु परेको ज्ञानेन्द्रले बताए । समाजबाट आफू अपहेलित हुनु परेपनि आफूलाई कुनै पश्चाताप नपरेको उनको भनाई छ । तैपनि आफूलाई नराम्रो व्यवहार गर्ने गाउँले र परिवार प्रति उनको चित्त दुखाई छ ।
गाउँबाट निस्किए पछि ज्ञानेन्द्र एक पटक गाउँ गएका थिए । घरबाट भाई दाजूलाई भेट्न एक पटक किर्तीपुर आएको थियो । आमाबाबु भने अहिले सम्मै फर्केर नआएको उनले बताए । अहिले उनीहरुको एउटा छोरा जन्मिएको छ । ३ जनाको परिवार दुःख सुख गरि बसेका छन् । अहिले विएड तेस्रो वर्षमा पढ्दै रहेका ज्ञानेन्द्र लौराको सहयोगले न्यूरोड र महाबौद्धका पसलहरुमा अगरवत्तीको व्यापारमा जाने गरेका छन् । रुपा नजिकै हाते कपडाहरु बुन्ने काम गर्छिन् । यहि हो उनीहरुको दैनिक गुजाराको माध्यम । कसैले सहयोग गरे आफूलाई सजिलो हुने उनले बताए पनि नारायण सिंह पुन जस्तो मनकारी दाता कोहि पनि भेटिएका छैनन् ।
हुन त उनले कसैले सहयोग गर्ला भनेर अन्र्तजातिय विवाह गरेका होईनन् । पछिल्लो समयमा अन्र्तजातिय विवाह गर्ने जोडीलाई सरकारले एक लाख दिने निर्णय गरेको छ । उनले अहिले सम्म यो सहयोग पाएका छैनन् । यसले समाजमा विकृति फैलिने र पैसाको लोभमा विवाह गरेर पछि धोका दिन सक्नेहरु वढ्ने उनको अनुमान छ । ‘ सरकारले यस्ता जोडी र विशेष गरि अपाङ्गहरुलाई उचित अवसर दिन सक्नु पर्छ ।’– उनी भन्छन्
देशमा गएको संविधानसभाले ४ वर्षमा पनि संविधान बनाउन नसकेकोमा ज्ञानेन्द्र चिन्तित् छन् । संविधान बन्ला, देशमा शान्ति आउला र अपाङ्गको हितमा पनि केहि राम्रा निती नियमहरु बन्लान् भन्ने उनको सपना विपनामा परिणत हुन सकेको छैन । अपाङ्ग र दृष्टिविहिनहरुलाई विद्यालयस्तर सम्मको शिक्षाको लागि राम्रै वातावरण मिलेको भएपनि क्याम्पस स्तरको पढाईका लागि सजिलो छैन । पाठ्य पुस्तकहरु दृष्टिविहिनहरुले पढ्न सक्ने लिपीमा लेखिएका छैनन् । यस तर्फ सम्बन्धित निकायको ध्यान पुग्ने हो भने आफूहरु जस्तै सयौं दृष्टिविहिनहरुलाई सजिलो हुने उनको भनाई छ ।
केहि कामको अवसरको खोजीमा रहेका उनी अहिले कम्प्यूटर चलाउन सक्छन् । मोवाइल पनि हातको अनुमानमा रामै्र सँग चलाउँछन् । अवसर पाए कुनै अफिसमा रिसेप्सनिस्ट तथा दृष्टिविहिनहरुलाई पढाउन सक्ने बताउने नेपाल आफ्नो लागि कसैले हेरिदिन नसक्ने र आफैंले गरे मात्र राम्रो हुने रहेछ भन्ने विचार राख्छन् । भन्छन्– “ अपाङ्गहरुलाई हेर्ने सरकारी निती पनि अपाङ्ग नै भएकाले धेरै व्यक्तिहरुले अहिले दुःख भोग्नु परिरहेको छ । यसमा सुधार हुनु जरुरी छ ।” जातभातमा विश्वास राख्नेहरु प्रति भने आफ्नो सोच समय अनुसार परिवर्तन गर्न सक्नु पर्ने उनको सल्लाह छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१