चीन किन कुनै धर्म मान्दैन ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ पुष २०७५, बिहीबार ०५:२३

काठमाडौं । चीन आधिकारिक रूपमा नास्तिक देश हो। विगत ४० वर्षयता त्यहाँ धार्मिक गतिविधि बढेको भएपनि चीनमा धर्मपालनमा धेरैथरी प्रतिबन्ध छन्।

राज्यले पाँचवटा धर्मलाई मात्र मान्यता दिएको छ स् ती हुन् बौद्धधर्म, क्याथोलिसिजम, प्रोटेस्टेन्टिजम, दाओइजम र इस्लाम । त्यसबाहेक सबै धर्मलाई क्रियाकलाप गर्न लगभग बन्देज लगाइएको छ । धार्मिक संगठनहरूले राज्यको स्वीकृति पाएका यी पाँच धर्ममध्ये एकमा दर्ता हुनुपर्छ।

धेरैथरी प्रतिवेदनहरूले चीनमा धार्मिक मानिसहरूको संख्या बढिरहेको देखाएका छन् । शांघाईस्थित चाइना नर्मल विश्वविद्यालयले ४५ सय मानिसमाथि उनीहरूको धार्मिक मान्यताका सम्बन्धमा अनुसन्धान गरेको थियो । अनुसन्धान अनुसार, ३१।४ प्रतिशत मानिसले कुनै न कुनै धर्म मान्ने बताए।

दर्ता नगरेका धार्मिक मानिसहरूको संख्या बढेको छ । अन्डरग्राउन्ड हाउस चर्च र प्रतिबन्धित धार्मिक संगठकहरूमा आबद्ध धेरै मानिस भेटिन्छन्।
सत्तारूढ कम्युनिस्ट पार्टी आधिकारिक रूपमा नास्तिक छ । यस दलले आफ्ना सदस्यहरूलाई धार्मिक मान्यता राख्न प्रतिबन्ध लगाएको छ। पार्टीका सदस्यहरू धार्मिक संगठनमा जोडिएको पाइएमा पार्टीबाट बर्खास्त हुन सक्छन् । पार्टीबाट रिटायर सदस्यले पनि कुनै धर्म मान्न पाउँदैनन्।
धार्मिक आस्थाले वामपन्थी विचारधारा कमजोर हुने सरकारको मान्यता छ। पार्टी सदस्यहरूलाई मार्क्सवादी नास्तिक बन्न लगाइन्छ।

व्यक्तिगत अनुभवमा धर्मको वृद्धिका सम्बन्धमा पार्टी चिन्तित छैन । तर धर्मलाई सामूहिक क्रियाकलापको रूपमा चाहिँ बढ्न सरकारले दिइरहेको छैन। धार्मिक संस्थाहरू पार्टीको आधिकारिकतामाथि प्रश्न उठाउन सक्छन् र आफ्ना लागि खतरा बन्न सक्छन् भन्ने उसको मान्यता छ। केही विद्वानहरूका अनुसार, चीनमा धर्मको प्रभाव सीमित छ र उसले सत्तालाई खासै चुनौती दिन सक्दैन। चीन सरकारले चिनियाँ मूल्यमान्यतालाई प्रोत्साहन गर्ने विचारधारा र विश्वासलाई प्रचार गर्ने गरेको छ, जस्तो कन्फ्युशियनिजम र बौद्ध धर्म ।

चीनमा मुसलमानहरूले अनेक किसिमका प्रतिबन्धको सामना गर्नुपर्छ । शिनजियाङ प्रान्तमा हिजाब लगाउन, दाह्री पाल्न र रमजानका बेलामा रोजा राख्न समेत मनाही गरिएको छ।

सन् १९८० पछि चीनमा क्रिस्चियन धर्मका अनुयायीहरू संख्या निकै बढेको छ । सन् २०१० मा प्यु सेन्टरले गरेको अनुसन्धान अनुसार, चीनको जनसंख्याको पाँच प्रतिशतले क्रिस्चियन धर्म मान्छन् । तर सरकारले क्रिस्चियानिटीलाई प्रोत्साहन गर्दैन ।

सरकारले प्रसिद्ध पादरी झाङ शाओजीलाई भीड जम्मा पारेर कानून व्यवस्था बिगारेको भनी १२ वर्षको कारागार सजाय सुनाएको थियो । चीनमा क्रिस्चियनहरू पक्राउ पर्ने र सजाय भोग्ने घटना धेरै हुन्छन्। बौद्धधर्मप्रति भने चीन सहिष्णु छ । इस्लाम र क्रिस्चियनलाई भन्दा बौद्धलाई बढी छुट छ। चीनका राष्ट्रपति सी चिनफिङले सत्तामा आएपछि बौद्ध धर्मलाई प्रोत्साहित गरेका छन् । सीले सार्वजनिक रूपमै बौद्ध, कन्फ्युसियनिजम र दाओइजमबाट देशको नैतिक नियन्त्रण गर्न सकिने बताएका थिए। एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१