अमेरिका र नेपालबीचको सम्बन्ध फराकिलो बनाउँदै

ssapana44@gmail.com' jamuna aryal
४ पुष २०७५, बुधबार १०:३९

पुस ४ ,  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकाका विदेशमन्त्री माइक पम्पेओबीच मङ्गलबार वाशिङ्टन डिसीमा नेपाल र अमेरिकाबीच सात दशक लामो सम्बन्धलाई व्यापक र विस्तृत बनाएर पारस्परिक हितका आधारमा अगाडि बढ्न सहमति भएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले भने, “अमेरिका र नेपालबीचको सम्बन्धलाई साझा अठोटका साथ अझ फराकिलो बनाउँदै लगेर पारस्परिक हितमा काम गर्न साझा प्रतिबद्धता जनाएका छौँ ।” मन्त्री ज्ञवालीले नेपाल सरकारले ‘सुखी नेपाली, समृद्ध नेपाल’ नारालाई व्यापार, लगानी र सहायताको मार्फतबाट अगाडि बढाउन खाजेको र त्यसमा अमेरिका सकारात्मक रहेको बताए ।

“राजनीतिक बैठकले थप उचाइ हासिल गरेको छ”, उनले भने । मन्त्री ज्ञवालीले अमेरिकी सरकारका उच्च अधिकारीसँगको छलफलमा नेपालले तीनै तहको निर्वाचन सम्पन्न गरेर स्थिर सरकारको जग बसाल्न सफल भएको जानकारी गराएका थिए ।

नेपाल सरकारको प्राथमिकताको विषयमा जानकारी दिँदै उनले आफ्ना समकक्षी पम्पेओलाई भने, “हामीले सन् २०३० भन्दा अगाडि नै मध्यमस्तरको राष्ट्रको रुपमा स्तरोन्नति हुने लक्ष्य राखेका छौं ।”

दुई देशबीच राजनीतिक तहको सहभागितामा आर्थिक सहकार्य गर्ने विषयमा पनि महत्वपूर्ण छलफल भएको छ । बैठकमा दुई देशबीच उच्चस्तरीय भ्रमणको आदानप्रदान गर्ने र आर्थिक सहकार्यका लागि राजनीतिक तहको सहभागितामा त्यसलाई अभिवृद्धि गर्न सहमति भएको छ । व्यापार, लगानी र विकास सहायतामा दुई देशबीच सहकार्य गर्ने विषयमासमेत छलफल भएको छ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१