किन बढ्दै छ त आत्महत्या वैदेशिक कामदारहरुको ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ पुष २०७५, मंगलवार ०६:०९

मानसिक स्वास्थ्य समस्याले हरेक समाजमा विकराल रुप लिँदै गएको छ । विश्वमा अकालमा आत्महत्या गरी वाषिर्क १० लाख मानिसले जीवन गुमाउन बाध्य छन् । जसको प्रमुख कारण मानसिक दुरावस्था नै हो  । 

हाम्रो देशमा आत्महत्यालाई सामाजिक रुपमा मात्र लिने गरिएको छ तर यो एक प्रकारको मानसिक रोग बनिसकेको छ । 

हरेक वर्ष कोरिया, मलेसिया लगायतका खाडी देशमा कामको खोजीमा गएका युवाहरुको आत्महत्याका दुखद समाचार महिनैपिच्छे नेपाली सञ्चार माध्यममा आइरहे ।

घर परिवारको बढी अपेक्षा, अपरिपक्व र कलिलै उमेरमा घर परिवारसँगको बिछोड, बिदेश आएर सोचेजस्तो धन आर्जन गर्ने सपना पूरा नहुँदा र नेपाल फर्केर गरीखाने उपयुक्त आधार पनि नदेख्दा धेरैजसो युवाहरुले आत्महत्याको बाटो रोजेको देखिन्छ ।

बैदेशिक रोजगारमा गएका कतिपय महिला दिदीबहिनीहरु यौनजन्य हिंसाका घटनाबाट पनि प्रताडित भएको पाइन्छ, जसको असरले मानसिक सन्तुलन गुमाउनेदेखि आत्महत्यासम्म गर्ने प्रयास गरेको पाइन्छ ।

पछिल्लो समय फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालहरुका कारण हुने गरेको साइबर बुलिङ पनि आत्महत्या बढ्ने कारण बन्दै गएको छ ।

बढी आम्दानी र आरामदायी काम पाइने आशामा खाडी छिरेका नेपाली युवाहरुको दैनिक आउने तीनवटा शव, नेपालीलाई बेला(बेलामा दिइने मृत्युदण्डका समाचार, सामाजिक सञ्जालमा पोष्ट हुने गरेका कारुणिक तस्वीरले कमजोर बैदेशिक रोजगार व्यवस्थाको चित्रण गर्दछ ।

विदेश जाँदा ठूलो सपना बोकेका श्रमिकहरुले बिदेशमा भनेजस्तो काम नपाउने, काम पाइहाले पनि सम्झौता भएअनुसार पारिश्रमिक नपाउने, एक प्रकारको काममा भनेर ल्याई अर्कै प्रकारको काममा लगाउने, कामको करार अवधि सकिएपछि पनि रोजगारदाताले नेपाल नपठाउने, नेपालमा आफ्ना परिवारका सदस्यहरुको निधन हुँदा समेत रोजगारदाताले विदा नदिने, पारिवारिक बिछोड वा समस्या एवं कामको प्रकृति पनि अप्ठयारो र जोखिमयुक्त भएका कारण बैदेशिक कामदारका मनमा निराशा, तनाव र मानसिक उद्वेग जस्ता लक्षण विस्तारै सुरु हुन्छन् । यी समस्या बेलैमा सम्बोधन नहुँदा आत्महत्या गर्ने प्रवृति पनि पछिल्लो समयमा देखिँदै आएको छ ।

मानसिक तथा अन्य रोगहरुको उपचार र पहिचानमा भाषा र संस्कृतिको ठूलो महत्व रहने भएकाले राज्यस्तरबाटै बढी कामदार भएको देशमा तत्कालै हेल्थ डेस्कको व्यवस्था गर्नुपर्दछ । वैदेशिक रोजगार विभागले वैदेशिक कामदारलाई दिँदै आएको अभिमुखीकरण तालिममा तनाव व्यवस्थापनको विषयलाई पनि समेट्नु पर्दछ ।

मानसिक क्षेत्रमा काम गर्ने सामाजिक अभियन्ता, संघ संगठन एवं नागरिक समाज पनि अझ बढी उर्जाशील हुनुपर्ने देखिन्छ भने परिवार र समाजले मानसिक समस्याका कारण फर्किएका बैदेशिक कामदारहरुलाई समाजमा उचित स्थान दिई सकारात्मक व्यवहार गर्नु जरुरी छ । अनि बल्ल आत्महत्या हुन कम हुन्छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१