काठमाडौँ । टोखामा डेरा खोज्ने बहानामा आएका ४ जनाले एक महिलाको हत्या गरेको खुलेको छ । आइतबार साँझ मुगु टोरु गाउँपालिकाकी २३ वर्षीया अजिता मल्ल शाहीलाई डेरा खोज्ने बहानामा आएकाहरुले घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न चारै जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त महाराजगन्ज र अपराध महाशाखाको टोलीले सोमबार दिउँसो १ बजे उनीहरूलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेहरूमा २४ वर्षीया विष्णुमाया मल्ल, २६ वर्षीया भगवती मल्ल, २३ वर्षीया रिता केसी र २१ वर्षीया गण्डिपराज मल्ल छन्।
उनीहरूले अपराध स्वीकार गरिसकेको वृत्तका डिएसपी खगेन्द्र प्रसाईँले बताए। ‘घाँटी थिचेर हत्या गरेको उनीहरूले स्वीकार गरिसकेका छन्। श्रीमान्ले सौता हालेको रिसमा कान्छी श्रीमतीलाई भाइ बहिनीसँग मिलेर हत्या गरेको देखिन्छ,’ प्रसाईँले भने।
प्रहरीका अनुसार कोठा खोज्ने बहानामा आइतबार ४ बजे आसपास अजिताको कोठैमा पुगेर ४ जना मिली हत्या गरेका उनीहरूले कबुलेका छन्। अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले आइतबार साँझ ४ बजे प्रहरीले जानकारी पाए लगत्तै अनुसन्धान थालेको र पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहँदै हत्यारा पक्राउ परिसकेको बताए।
उनले भने,‘अजिताका श्रीमान् मुगु गएको मौका छोपी हत्या भएको छ। विष्णुमाया पहिलो श्रीमती हुँदाहुँदै अजितालाई कान्छी ल्याएको र घर परिवार बाल बच्चा नहेर्ने गरेको रिसमा हत्या भएको देखिन्छ।’ उनका श्रीमान् एक गैर सरकारी संस्थामा काम गर्ने गर्थे। पक्राउ पर्ने मध्ये भगवती विष्णुमायाकी दिदी हुन् भने गन्दिपराज भाइ हुन्। नागरिकन्युज बाट
प्रतिक्रिया