‘अन्तर्राष्ट्रिय सम्मेलन तथा सांस्कृतिक कार्यक्रम आज सम्पन्न हुदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ मंसिर २०७५, शुक्रबार ०५:०१

काठमाडौं । काठमाडौंमा ‘अन्तर्राष्ट्रिय सम्मेलन तथा सांस्कृतिक कार्यक्रम २०७५’ सुरु भएको छ ।
कला संस्कृतिमा सबैको पहुँच’ भन्ने मूल नाराका साथ सुरु भएको सम्मेलनको बुधबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे। उद्घाटन कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले नेपालको कला, संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने भन्दै कार्यक्रम सफलताको शुभकामना दिए।

सम्मेलन उद्घाटनपछि नेपालसँगै कोरिया, इजिप्ट, फिनल्याण्ड, जर्मनी, बेल्जियम, स्वीजरल्याण्ड, मोरक्को, सिंगापुर, स्वीडेनको कला, संस्कृति झल्कने विभिन्न प्रस्तुतिहरु देखाइएको थियो।

नेपालको तर्फबाट कुमारी नाच, मगर कुडा नाच, शारीरिक अपाङ्गता भएकाको कुर्सी नाच, रोमा न्यौपानेको एकखुट्टे नाच प्रस्तुत गरिएको थियो। नेपाल आर्मीले पनि आफ्नो प्रस्तुति देखाएको थियो।

त्यस्तै, इजिप्टको परम्परागत टानआउरा नाचले उपस्थित सबैलाई मनोरञ्जन प्रदान गर्यो। फिनल्याण्ड र कोरियाको प्रस्तुति पनि हेर्न लायक थियो।

कार्यक्रममा नेपालको कला तथा संस्कृतिको विकासमा सहयोग पुर्याएको भन्दै तीन जनालाई सम्मानसमेत गरिएको थियो। सो अवसरमा नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुर्याएवापत गायिका मेनुका पौडेल, नेपालको कला तथा संस्कृतिको विकासमा सहयोग पुर्याएवापत कलाकार अजय अधिकारी र एसिसिएसी नेपालकी सद्भावना दूत उर्शा जोशीलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरुलाई संस्कृतिविद् सत्यमोहन जोशी र बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले संयुक्तरुपमा सम्मानपत्र प्रदान गरेका थिए ।

नेपालको कला संस्कृतिलाई अन्तर्राष्टियस्तरमा पुर्याउने उद्देश्यले एसिसिएसी नेपालले सम्मेलन आयोजना गरेको हो। कार्यक्रम मंसिर २८ गतेसम्म होटल याक एण्ड यतिमा हुनेछ। सम्मेलनले ‘भिजिट नेपाल २०२०’ लाई समेत सहयोग पुग्ने एसिसिएसी नेपालका अध्यक्ष सुशील फुयालले जानकारी दिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१