रोहित पौडेल
यौन पशु जगतको सबैभन्दा प्राचिन सत्य हो। यौन र समाजको अनोन्याश्रित सम्बन्ध छ। महाभरतकालिन युगमा दिव्यास्त्रको खोजमा स्वर्ग पुगेका अर्जुनलाई उर्वशीले यौनको प्रस्ताव राखेकी थिइन्। त्यस प्रस्तावलाई आफ्ना पिता इन्द्रकी सेविका भएकाले अर्जुनले उर्वशीलाई माताको दृष्टीले हेरेको भन्दै अस्विकार गरे। फलस्वरुप; क्रोधित भएकी उर्वशीले अर्जुनलाई नपुंशक हुने श्राप दिईन्। जुन श्रापको आयु इन्द्रको आग्रहमा उर्वशीले १ वर्ष मात्र बनाइदिइन्। गुप्तवासको क्रममा अर्जुनले वृहन्लल्ला नामकी नपुंशक नर्तकी भएर उत्तरालाई नृत्य सिकाए। यो कथाको व्याख्या दुई तरिकाले गर्न सकिन्छ। पहिले अर्जुन इन्द्रियजयी थिए तसर्थ उनले एक सुन्दरी अप्सराको प्रस्ताव अस्विकार गरे र अर्को अर्जुन उर्वशी जस्तो दिव्य जगतमा थिएनन् र उनलाई समाजको संकोचले रोकेको हुन सक्दछ। कथाको मर्म जे होला, यौन आकर्षण नयाँ कुरा होईन, यसले स्वर्गको बन्धन र मर्यादा मात्र होईन जगतको भेद पनि नहेर्दो रहेछ, त्यसैले त एउटी दिव्य कन्या सामान्य मानवको मोहमा परिन्।
आज हामी नेपाली समाजलाई धेरै पाश्चात्यकरण भएको भन्दछौं। रहन सहन, लगाई, खुवाईले आधुनिक भएको हाम्रो समाजका दुई पक्ष छन्; व्यवहारिक पक्ष र समाजको सोच। हामी व्यवहारिकता जसको प्रतिनिधित्व श्रब्य, दृष्यमा हुन्छ त्यसमा आधुनिक भएपनि सोच सिकिर्णताबाट उठ्न सकेको छैन। त्यस कारणले हामीले निर्माण गरेको समाज जहिले दोहोरो मापदण्डमा जिवित रह्यो।
हामीले सामाजका केही स्थापित मापदण्डहरुलाई परिवर्तन गरिसकेका छौं। ति हाम्रो समाज अनुसार सहि थिए वा गलत यसै भन्न सक्ने आधार छैन तर पश्चिमा जगतका अनुसार गलत थियो र आधुनिक समाजकालागी अपाच्य थियो त्यसैले परिवर्तित भए। समाज कपडा जस्तो हुन्छ; धागाका साना साना रेसा मिलेर बनेको। एउटा कपडाका केही रेसा निकालेर त्यसलाई उपयोग गर्दछु भनेर खोज्यो भने त्यो कपडा च्याङ्लो हुन्छ, त्यसले लज्जा छोप्न सक्दैन तसर्थ व्यवहारिक रुपमा जीवनशैलीमा ठुलो परिवर्तन आएको हाम्रो जस्तो समाजको सोचमा परिवर्तन हुन पनि नितान्त आवश्यक बन्दछ। कुनै पनि सभ्यता र जीवन दोहोरो मापदण्डमा रहन र चल्न सक्दैन।
यौन जीवनको प्राथमिक अङ्ग हो र समाजले यसलाई हेर्ने दृष्टीमा अनिवार्य परिवर्तन हुनुपर्दछ नत्र समाज थप कुण्ठा, हिंसा र बलत्कारको सिकार बन्न सक्दछ। हामी मध्ये कतिको यो मत हुन सक्छ समाज यौनको मामिलामा बढी खुल्ला र अराजक बनेको छ तर यो विश्लेषणसंग म सहमत हुन सक्दिन। आज भन्दा ४५ वर्ष अगाडी मेरो पिताले १४ वर्षको उमेरमा विवाह गर्नु भएको थियो जुन समयमा यौवनका तरङ्गहरु भर्खरै मुखारित हुने तरखरमा थिए। अहिले समाजमा ठुलो परिवर्तन आएको करिव पिताको विवाहको दोब्बर उमेरमा पनि म अविवाहित नै छु। यो पुरुषकोलागी मात्र लागुहुने कुरा पनि होईन र मेरालागी मात्र पनि होईन। सम्पुर्ण युवाहरुमा लागु हुने कुरा हो। हामी विवह गर्ने समयमा केही आधारभुत परिवर्तन गरेका छौं भने यौनलाई हेर्ने दृष्टिमा पनि परिवर्तन हुन आवश्यक छ।
म विश्वेश्वर प्रसाद कोईरालाको एउटा अन्तर्वार्ता सम्झन चहान्छु; उहाँलाई एक पत्रकारले शुशिला जी संगको प्रेम प्रसंगमा प्रश्न गर्दा उहाँले अधिकांश मानिसको जीवनमा प्रेम र यौन एउटै संग मात्र नहुने रहेछ र म पनि त्यसको अपवाद भने होईन भन्ने जवाफ दिएर इमान्दारिता प्रस्तुत गर्नु भएको थियो। त्यसको ठिक विपरित हामी यौन र प्रेमको कुरालाई लुकाएर आफु चरित्रावान हुने भ्रम पाल्दछौं। यसको सन्दर्भमा बोल्नेलाई असभ्य भएको ठान्छौं, यो नितान्त गलत हो।
विवाहित वा अविवाहित जो कसैलाई एक-अर्कामा हुने आकर्षण अत्यन्त सामान्य हो। उसले ति कुरालाई बोलीचाली र हाउभाउमा प्रस्तुत गर्दछ। यो मानव जीवनाको अति सामान्य सत्य हो। पुर्विय दर्शनले पनि मानिसले विकारहरुलाई जित्ने क्रममा सबैभन्दा अन्तिममा मात्र काममा विजय हुने दार्शनिकता प्रस्तुत गर्दछ र ऋषीको कोटीमा प्रवेश गरेका विश्वामित्र पनि त्यसमा असफल भएको कथा हिन्दु ग्रन्थमा पढ्न पाईन्छ। त्यसैले यो सामान्य विषय हो भन्ने कुरा मान्न यो समाज तयार हुनुपर्छ। घरमा धेरै माया गर्ने श्रिमती भएको पुरुष सडकमा देखिएकी एउटी सुन्दरीसंग मोहित हुने र निकट हुने चहाना राख्नु अति सामान्य कुरा हो वरु महिलाहरु यसमा अली इमान्दार हुन्छन्। तय महिलाको इमान्दारिता पनि सामाजको हेर्ने दृष्टिकोण र समाजले उनिहरुलाई पुरुषको भन्दा बढी संबेदनशिल हुनुपर्ने विभेदकारी दृष्टिकोण बनाएको कारणले मात्र हुनसक्छ।
सामाजिक रुपमा हामी कसैको व्यक्तिगत जीवनमा बढी चासो लिने भएका कारणले यस्ता घटनाहरुले बढी चर्चा पाउने गरेका छन्। समाजकै एउटा हिस्सा भएका कारणले प्रहरीले पनि यस्ता कुरामा अनावश्यक रुचि लिने गरेको पाईन्छ। भर्खरै छापाहरुमा चर्चाको विषय बनेको कान्तिपुरका पत्रकारहरुको विषयले पनि यस्तै चर्चा बटुलेको थियो। यसमा प्रहरी र पत्रिकाहरुले अनावश्यक चासो लिएको छ भन्ने पङ्क्तिकारको धारणा हो। एउटा निजी कार भित्र मानिसले के गर्छ बन्ने कुरामा राज्यले चासो लिन मिल्दैन। राज्यको जमिनमा बनेको घर भनेर मानिसले घर भित्र गरिने क्रियाकलापमा के राज्यले बन्देज लगाउन मिल्छ? यो प्रसंग पनि ठिक त्यस्तै हो। राज्यको कानुनले समाजमा उश्रिङ्खलता फैलाउने क्रियाकलाप गर्न नपाउने व्यवस्था गरेको छ, गहिरो रुपमा हेर्ने हो भने यो काम प्रहरी र मिडियाले गरेको देखिन्छ। कुनै पनि जोडिले यस्तो क्रियाकलाप खुलेआम गर्दैन लुकेर नै गर्ने प्रयत्न गर्दछ। तर होटल, लज वा घरका कुनै कोठमा यसरी गोप्य रुपमा हुने गरेको कार्यमा प्रहरी र मिडियाले छापा मार्ने मात्र गर्दैन घटनाको व्याख्या गर्दै समाचार बनाउने र देखाउने गर्छ। मेरो सामान्य प्रश्न; समाजसंग लुकेर दुबैको मिलेमतोमा कसैलाई हानी नहुने काम गर्ने दोषी हो की त्यसलाई ठुलो काण्ड बनाएर हल्ला-खल्ला गर्ने? समाजमा उश्रिङ्खलता फैलाउने क्रियाकलाप कसले गर्यो? सामान्यतया यो काम ति जोडिले भन्दा बढी प्रहरी र मिडियाले गरेका छन्। कानुनी उपचार नै खोज्ने हो भने नेपालको कुनै पनि कानुन अन्तर्गत ति जोडीलाई कारवाही गर्न मिल्दैन। आफुले गल्ती गरेको ठानिरहेका उनिहरुलाई तर्साएर वा धम्काएर प्रहरीले घुस खाने बाटो भन्दा बढी यो केही पनि होईन। त्यस्ता जोडीले आफुहरु बिरुद्ध अदालत जान प्रहरीलाई भनेको र मुद्दा दाएर भएको घटना सायदै होला। प्रहरीको दावा कै कुरा गर्ने हो भने पनि उसले समाजको सुद्धिकरण गरेको भन्न सक्छ तर घर परिवार र समाजमा एउटा मानिसको नितान्त निजी जीवनलाई प्रकाशित गरेर समाजको सुद्धिकरण हुन सक्दैन भन्ने कुरा बुझ्न जरुरी छ। यस्ता सम्बन्ध जो कोही बिचमा भएको हुनसक्छ, आपसी समझदारीमा भए यसले कसैलाई हानी नगर्ने भएकाले यो अवैधानिक होईनन्। यस्ता कुराले चर्चा बटुल्नु हाम्रो मानसिकताको गरिवी हो।
मानिस आफु जति नै यौनमा लिप्त भएको भएपनि समाजमा भने आफु स्फटिक जस्तो सुद्ध भएको देखाउन चहान्छ तर अरुको आलोचना गर्छ। “आफ्नो आङको भैंसी नदेख्ने तर अरुको जुम्रा” भन्ने नेपाली उखान चरितार्थ भएको हाम्रो समाजको गती र सोचमा परिवर्तन गर्न जरुरी छ।
यस्ता समस्या र प्रश्न “रेड लाईट एरिया” जस्ता व्यवसायिक स्थान निर्माण गरेर मात्र पनि हुदैन। रेड लाईट एरिया व्यवसायिक वेश्यावृत्तीकालागी मात्र हो। सहमती र प्रेममा यौन खोज्नेहरु सुरक्षित हुनुपर्दछ। यो मानिसको आधारभुत मौलिक अधिकार हो।
आफुलाई हिन्दु भनेर धर्मको नास हुने र समाज बिग्रने तर्क गर्ने हरुलाई म चन्द्रमाको आफ्नै गुरुआमा तारासंगको प्रेम प्रसंग स्मरण गराउन चहान्छु जो रोचक छ। कथाले केही सन्देश पनि दिएको छ, त्यो गलत हो र सन्तानमा विक्रिती आउन सक्छ भनेर। तर एक्काइसौं शताब्दिको चेतनशिल मानिसले त्यो निर्णयको अधिकार आफैं राख्न पाउनुपर्छ। समाजले यौन सामान्य विषय भएको कुरालाई स्विकार गर्दै कानुनी रुपमा त्यसलाई मान्यता दिनुपर्छ किनकी “कानुन मानिसकालागी हो कानुनकालागी मानिस बनेको होईन”। समाज रुपान्तरणसंगै कानुनका मापदण्डहरु फेरिनु पर्ने भएकाले व्यवस्थापिका संसदको आवश्याका पर्ने हो। नत्र संविधान र कानुन एकैपटक बनाएर संसद सुन्य राज्यहरु हुने थिए होलान्।
प्रतिक्रिया