काठमाडौँ । रग्बी विश्वकपको ट्रफी शुक्रबार युनेस्को विश्व सम्पदामा सूचीकृत राजधानीका स्वयम्भूनाथ, पाटन दरबार क्षेत्र, बौद्धनाथ र पशुपतिनाथमा प्रदर्शनमा राखिएको छ । नेपालमा पहिलोपल्ट ल्याइएको ट्रफी हेर्नका लागि यी सम्पदा क्षेत्रमा मानिसहरूको भीड लागेको थियो ।
बिहान स्वम्भूनाथ पुर्याइएको विश्वकप ट्रफी दिउँसो पाटन दरबार क्षेत्रमा सर्वसाधरणका लागि प्रदर्शनमा राखिएको थियो । पाटनमा मानिसहरूले ट्रफीसँगै फोटो खिचाएका थिए । त्यसपछि ट्रफीलाई बौद्धनाथ र पशुपतिनाथ लागेर केही समय प्रदर्शनीमा राखिएको थियो ।
लन्डनबाट बुधबार ल्याइएको विश्वकप ट्रफीलाई बिहीबार समुद्री सतहबाट ५,६४३ मिटर उचाईस्थित कालापत्थरमा हेलिकप्टर चार्टर गरी पुर्याइएको थियो । ट्रफि सगरमाथा आधारशिविरमा पनि पुर्याइएको थियो । चार–चार बर्षमा हुने रग्बी विश्वकपको नवौं संस्करण सन् २०१९ सेप्टेम्बर २० देखि नोभेम्बर २ सम्म जापानमा हुदैछ, जहाँ २० देशले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप ट्रफी टुर विभिन्न देशका विशेष स्थानमा लगिन्छ र त्यसैअन्तर्गत् नेपाल ल्याइएको हो ।
सुनको जलप लगाइएको चाँदीको ३८ सेन्टिमिटर अग्लो विश्वकप ट्रफी शनिबार टुंडिखेलमा प्रदर्शनीमा राखिने नेपाल रग्बी संघले जनाएको छ । ‘यहाँ रग्बीको लोकप्रियता बढाउन र नेपालको पर्यटकीय संभावनालाई अन्तर्राष्ट्रिय जगतमा प्रचार गर्नको लागि विश्वकपको ट्रफि ल्याइएको हो,’ संघका अध्यक्ष टंकलाल घिसिङले बताए । ट्रफी प्रदर्शनीसँगै टुंडिखेलमा सांगीतिक कार्यक्रम र स्कुल रग्बी प्रतियोगिताको फाइनल हेल पनि सञ्चालन गरिदै छ ।
नेपालमा रग्बी आठ क्लब सक्रिय छन् भने यसको ट्रेनिङ राजधानीका २५ वटा भन्दा बढी स्कुलमा नियमित भइरहेको छ ।
प्रतिक्रिया