मोरङका ३५ उद्योगी व्यवसायीले साढे २१ करोड कर तिरेनन्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ मंसिर २०७५, शनिबार ०४:३७

विराटनगर ।  आन्तरिक राजस्व कार्यालयले सार्वजनिक सूचना जारी गरेको पाँच महिना बितिसक्दा पनि मोरङका ३५ उद्योगी व्यवसायीले अझै कर बुझाएका छैनन् ।

कार्यालयले ७ जेठमा ३७ करदाताको स्थायी लेखा नम्बर, नाम, ठेगाना र कर बक्यौता खुलाई सूचना जारी गरेको थियो । उनीहरूबाट २१ करोड ८४ लाख ६१ हजार ६ सय २६ रुपैयाँ उठाउनुपर्नेमा दुई करदाताबाट २३ लाख ८६ हजार ७ सय ३९ रुपैयाँ कर मात्र संकलन भयो ।

बाँकी २१ करोड ६० लाख ७४ हजार ८ सय ८७ रुपैयाँ कर असुल्नुपर्ने देखिन्छ । यसमा १६ करोड २१ लाख ४६ हजार ९ सय ३७ रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) तथा ५ करोड ३९ लाख २७ हजार ९ सय ५० रुपैयाँ आयकर समावेश छ ।

केही करदाताले अभिलेखमा टेलिफोन नम्बर र ठेगानासमेत गलत भरेकाले कर संकलन अधिकृतहरूले सम्पर्क गर्न सकेनन् । उक्त कार्यालयले केहीलाई हुलाकबाट रजिस्ट्री पत्र पठायो । ‘हुलाकीले करदाता फेला नपार्दा ती पत्रहरूसमेत कार्यालयमै फिर्ता आए,’ उनले भने, ‘कतिले त विवरण नै बुझाएका छैनन् ।’

कर तिर्न नआएपछि उक्त कार्यालयले आयकर ऐन, २०५८ को दफा १०४ देखि १११ सम्म तथा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१(१) अनुरूप कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।

मोरङमा अहिले ४२ हजार ५ सय करदाता छन् । यसमध्ये १५ हजार करदाता रहेको मोरङको उदीयमान सहर सुन्दर हरैंचा नगरपालिको विराटचोकमा १८ भदौदेखि करदाता सेवा कार्यालय नै राखिएको छ । बाँकी २७ हजार ५ सय करदातामा झन्डै ७० प्रतिशत विराटनगरकै छन् ।

उक्त कार्यालयले आव २०७४/७५ मा पुरानो बक्यौताबापतको ५९ करोड ३३ लाख कर उद्योगी व्यवसायीबाट उठाउनुपर्ने थियो । ७ करोड २१ लाख रुपैयाँ मात्र राजस्व उठ्न सक्यो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१