काठमाडौँ । सरकारले मदिरा उत्पादन, बिक्री, सेवन र विज्ञापनमा कडाइ गर्ने भएको छ । यसका लागि मदिरा उत्पादन र बिक्री वितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रणसम्बन्धी कार्यकारी आदेश–२०७५ जारी गरिँदै छ ।
गृह मन्त्रालयले तयार पारेको आदेश मस्यौदा अनुसार इजाजत प्राप्त बिक्रेताले दिउँसो ४ बजेदेखि राति ९ बजेसम्म मात्र मदिरा बेच्न पाउनेछन् । ‘इजाजतपत्र प्राप्त होटल, लज, बार तथा रेस्टुरेन्टले बेलुकी ५ देखि १० बजेसम्म मात्र मदिरा बिक्री वितरण तथा सेवन गराउन पाउने छ,’ मस्यौदामा उल्लेख छ । होटल, लज, रिसोर्ट, बार, रेस्टुरेन्टको बाहिरी भागमा बसेर मदिरा सेवन गर्नरगराउन नपाउने व्यवस्था गरिएको छ । सार्वजनिक क्षेत्र एवं कार्यस्थल आसपास उत्पादन र राजमार्ग आसपास क्षेत्रमा बिक्री गर्नसमेत रोक लगाइँदै छ । ‘सञ्चारमाध्यमबाट मदिरा तथा मदिराजन्य पदार्थ उत्पादनको विज्ञापन, प्रकाशन तथा प्रसारण गर्न, सार्वजनिक स्थानमा होडिङ, पर्चा, पोस्टर टाँस्न पाइने छैन ।’
‘सरकारी वा गैरसरकारी निकाय, शिक्षण संस्था वा व्यक्तिले आयोजना गर्ने सार्वजनिक समारोह वा कार्यक्रममा मदिरा सेवन गर्न पाइने छैन,’ आदेशमा भनिएको छ, ‘सरकारी वा सार्वजनिक निकायबाट आयोजित सभा सम्मेलन र भोजहरूमा मदिरा निषेध गरिनेछ ।’
प्रतिक्रिया