नासाको अन्तरिक्ष यानमार्फत रोबोट मङ्गलग्रहमा अवतरण, वैज्ञानिकहरुमा खुसियाली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ मंसिर २०७५, बुधबार ०५:०२

लस एन्जलस । अमेरिकी अन्तरिक्ष संस्था ९नासा०को करिब एक अर्ब अमेरिकी डलरको “मार्स इन्साइट” अन्तरिक्ष यान पहिलोपटक मङ्गलग्रहमा अवतरण गरेको छ । उक्त यानमा रहेको रोबोटले मङ्गलग्रहको सतहको पहिलो तस्वीर पठाएको नासाले जनाएको छ ।मार्स इन्साइटको मुख्य लक्ष्य नै रातो ग्रहका रुपमा परिचित मङ्गलग्रहको भित्री तहको रहस्य खोतल्नु, अर्बौं वर्ष पहिले यसको निर्माण कसरी भयो, र पृथ्वीको जस्तै अरु उपग्रह कसरी चट्टानी स्वरुपमा बने भन्ने थाहा पाउनु हो ।मानवरहीत यो अन्तरिक्ष यान करिब सात महिना पहिले प्रक्षेपण गरिएको थियो । पृथ्वीको सबैभन्दा नजिकको मङ्गलग्रहमा अन्तरिक्ष यान पुर्याउने नासाको यो प्रयत्न सफल भएकामा नासाका वैज्ञानिकहरुले खुसियाली मनाएका छन् । सन् २०१२ मा क्युरिओसिटी रोभर नामको रोबोट बनेपछि वैज्ञानिकमा नयाँ आशा पलाएको थियो ।

यसअघि मङ्गलग्रहमा पुग्न ४३ भन्दा बढी पटक प्रयत्न गरिएको थियो । विश्वका अन्य मुलुकबाट गरिएका प्रयत्न समेत असफल भएका थिए । नासाको यस पटकको अन्तरिक्ष यानमा रहेको रोबोटमा युरोपेली मुलुकका अनुसन्धान उपकरणहरु समेत जडान गरिएको छ ।यो अभियानले सन् २०३० को दशकमा मानवलाई मङ्गलग्रहमा पठाउने मार्गप्रशस्त गर्ने नासाका वैज्ञानिकहरुको अपेक्षा छ ।नासाका एकजना प्रबन्धक थोमस जुर्बुचेनले आफूहरुले मङ्गलग्रहको यात्रालाई सामान्य रुपमा कहिल्यै नलिएको चर्चा गर्दै यो साँच्चिकै कठिन यात्रा भएको बताउनुभयो ।मङ्गलग्रहको कक्षमा प्रवेश गर्ने, ओर्लन थाल्ने र अवतरण गर्ने चरण स्थानीय समय अनुसार बिहान ११ बजेर ४७ मिनेटमा शुरु भएको थियो । यसको सम्पूर्ण नियन्त्रण क्यानिफोर्नियास्थित पासाडेनाको जेट प्रपोल्सन प्रयोगशालाबाट भएको थियो ।

बन्दुकको गोलीभन्दा तिब्र गति अर्थात् १९ हजार ८०० किलोमिटर प्रतिघण्टाको बेगमा रहेको यो यानलाई मङ्गलग्रहको वायुमण्डल छिचोल्न निकै कठिन हुने वैज्ञानिकहरुको अनुमान गरेका थिए । वायुमण्डलसँगको घर्षणका कारण यानको बाहिरी तापमान करिब एक हजार ५०० डिग्री सेल्सियस पुग्ने, र रेडियो सङ्केत समेत केही समय अबरुद्ध हुने नासाको भनाइ छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सले मङ्गलग्रहको यात्रामा प्राप्त सफलताका लागि नासाका वैज्ञानिकहरुलाई बधाइ दिनुभएको छ । राष्ट्रपति र उपराष्ट्रपतिले अन्तरिक्ष यानको अवतरणलाई टेलिभिजनमा हेर्नु भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१