क्यान्सर निको भएकाहरुको ‘फेसन सो’ हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ मंसिर २०७५, आईतवार ०५:००

काठमाडौँ । नेपाल क्यान्सर सपोर्ट ग्रुपको आयोजनामा नियमित उपचारपछि क्यान्सर रोग निको भएका व्यक्तिलाई सहभागी गराई नेपालमै पहिलोपटक सन्देशमूलक ‘पहिरन प्रदर्शनी र नृत्य’ कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रम प्रतियोगितात्मक नभई सहभागितामूलक रहने बताइएको छ ।आगामी पुस २७ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सो कार्यक्रम आयोजना गर्न लागिएको हो । ‘सुदिप्त क्यान्सर सर्भाइभल ¥याम्प सो’ नाम दिइएको उक्त पहिरन प्रदर्शनी तथा नृत्यमा क्यान्सर रोग निको भएर नयाँ जीवन बिताइराखेका महिला र पुरुष गरी तीसभन्दा बढीले भाग लिने बताइएको छ ।’

‘नेपालीको क्यान्सर उपचार नेपालमै’ नाराका साथ क्यान्सर निदान र उपचारमा विगत आठ वर्षदेखि सेवारत नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि, ललितपुर र ‘नेपाल क्यान्सर सपोर्ट ग्रुप’ नामक गैरसरकारी संस्थाको संयुक्त आयोजनामा सो कार्यक्रम आयोजना गर्न लागिएको हो ।‘क्यान्सर लुकाएर बस्न हुँदैन, क्यान्सर लाग्दैमा आत्तिनु हुँदैन, समयमै उपचार गरे क्यान्सर निको हुन्छ र क्यान्सर भइसकेपछि पनि जीवन अझै बाँकी छ, हरेस खानु हुँदैन’ भन्ने सन्देश दिन पहिलो पटक सो प्रदर्शनी आयोजना गर्न लागिएको सुदिप्त क्यान्सर सर्भाइभल र्‍याम्प सो कार्यक्रमकी संयोजक स्वरुपा श्रेष्ठले बताए ।

“नेपाल क्यान्सर अस्पताल हरिसिद्धिका साथै विभिन्न क्यान्सर अस्पतालमा उपचार गरी नयाँ जीवन पाएका व्यक्तिलाई सहभागी गराई पहिरन प्रदर्शनी आयोजना गर्दा समाजमा आफ्नो क्यान्सर रोग लुकाएर बसेका पनि स्वःस्र्फूत रुपमा अगाडि आउने र समयमै क्यान्सर उपचार गर्नेछन् भन्ने हामीले विश्वास गरेका छौंँ”, कार्यक्रम संयोजक श्रेष्ठले भने ।श्रेष्ठका अनुसार उक्त पहिरन प्रदर्शनीमा क्यान्सर निको भएका व्यक्तिको अलावा नेपालका चर्चित हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यका साथै समाजका लब्धप्रतिष्ठित व्यक्तित्व, उद्योगपति, समाजसेवी, कलाकार, खेलाडीलगायतको सहभागिता रहने भएको छ ।

विशुद्ध सामाजिक र सेवामूलक उद्देश्य भएको कार्यक्रम भएकाले क्यान्सर निको भएर क्यान्सरबारे किताब लेख्दै गरेकी चर्चित बलिउड नायिका मनिषा कोइरालालाई पनि कार्यक्रममा सहभागी गराउन प्रयास भइरहेको कार्यक्रम संयोजक श्रेष्ठले बताए ।‘सबैखाले क्यान्सरको उपचार नेपालमै सम्भव छ, उपचारको लागि कुनै पनि बिरामी तनाव लिएर र आर्थिक बोझ बोकेर विदेश जानु पर्दैन’ नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष एवं वरिष्ठ क्यान्सर विशेषज्ञ डा सुदिप श्रेष्ठले भने, “यस प्रकारको सन्देशमूलक कार्यक्रमले क्यान्सर बिरामीलाई समयमै उपचार गराउन हौस्याउँछ ।”

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१