काठमाडौं । प्रहरी नायव महानिरीक्षक सुशील कुमार भण्डारीको अष्ट्रेलिया पुगेर परिवार भेट्ने सपना अब कहिलेपनि पुरा नहुँने भएको छ । शनिवार साँझ काभ्रेमा भएको सवारी दुर्घटनामा डिआइजी भण्डारीको जिन्दगीनै समाप्त भएको छ ।
उक्त दुर्घटनामा उनिसहित तीन जनाको मृत्यु भएको छ। अष्ट्रेलियामा रहेका आफ्ना परिवारलाई भेट्न जाने सपना बोकेर भोली सोमबार त्यसतर्फ उड्ने तयारीसहित पासपोर्टमा भिषासमेत लगाइसकेका थिए तर भण्डारीको यो सपना अब सपनामै सिमीत रह्यो । भण्डारीका अष्ट्रेलियामा श्रीमती प्रमिला र छोराछोरी छन्।
अष्ट्रेलिया जाने दिन पर्खिरहेका उनले भ्रमणका लागि प्रहरी संगठनबाट विदा स्वीकृत समेत गराइसकेका थिए।
प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार उनले १२ कार्तिकदेखि विदा स्वीकृत गराएका थिए। उनकै शाखाको समेत समन्वयमा तयार भएको समुदाय–प्रहरी साझेदारी कार्यक्रममा लागि भण्डारी रोकिएका थिए। आफ्नै शाखाले ल्याउन लागेको समुदाय–प्रहरी साझेदारी कार्यक्रम उद्घाटन सत्रमा सहभागी हुने र यात्रामा निस्किने उनको तयारी थियो।
शनिवार साँझ काभ्रेको मण्डनदेउपुरमा बा३च २८७ नम्बरको जिप दुर्घटनाग्रस्त हुँदा डिआइजी भण्डारीसँगै पत्रकार जीवन पराजुली र ट्रेड युनियन कांग्रेसका प्रदेश–३ संयोजक विनोद कार्कीको मृत्यु भएको हो।
प्रतिक्रिया