मनाङको लोक्कल आलु पाँचतारे होटलमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ आश्विन २०७५, बुधबार ०५:२१

मनाङ । मनाङमा फलाइएका अर्गानिक आलुको माग देशका तीन तारे र पाँचतारे होटलहरुबाट आउन थालेको छ । काठमाडौँका हायात होटल, सोल्टी होटलमा समेत यहाँका आलुको परिकार बन्ने गरेको छ । विगत केही वर्षयता मनाङका आलुको चर्चा हुन थालेको छ।

वर्षको एक याम मात्र खेती हुने यस ठाउँमा आलु मुख्य बालीको रुपमा रहिआएको छ । हिमाली हावापानीमा उत्पादन भएका आलु स्वादिष्ट हुने भएकाले धेरैको रोजाइमा पर्ने गरेको छ । अर्गानिक खेती गरिने यस जिल्लामा कुनै प्रकार विषादी प्रयोग गरिँदैन । मनाङको सबै ठाउँमा यसको राम्रो उत्पादन हुन्छ । यहाँका मानिसहरु होटल व्यवसाय सँगै कृषि पेशामा संलग्न छन्।

यहाँ उत्पादन भएका आलु जिल्लाभित्र मात्रै नभई अन्य जिल्ला र देश विदेशबाट समेत माग हुन थालेको छ । विशेष गरेर होटलमा यहाँका आलु बढी खपत हुने गरेको छ । मनाङ आउने आन्तरिक तथा वाह्य पर्यटकले यहाँको आलु बढी रुचाउने गरेको होटल व्यवसायी विनोद गुरुङले बताउनुभयो । यहाँ कुनै बजारबाट बीउ लगेर रोप्ने प्रचलन छैन । आफैंले राखेका बीउ नै रोप्ने गरिएको छ।

यतिबेला मनाङको विभिन्न भागमा स्थानीयवासीलाई आलु भित्र्याउने चटारो छ । तल्लो मनाङमा धेरैजसोले घरघरमा आलु भित्रयाइसकेका छन् भने माथिल्लो मनाङमा आलु खन्न शुरु भएको छ । तल्लो क्षेत्रमा भदौ महिना र माथिल्लो क्षेत्रमा असोजमा आलु खन्ने काम हुन्छ । फागुन–चैतमा रोपेको आलु यतिबेला तयार भएको छ ।

चाडबाड र लामो समयपछि विदामा घर जान लागेका कर्मचारीले आलु नै लिएर मनाङबाट झर्छन् । दशैं तिहारमा घर जाने कर्मचारीको कोशेली आलु नै बनेको हुन्छ । ज्यादाजसो यहाँका आलु बेसीशहर र काठमाडौँ पठाइन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१