सोह्र श्राद्धसँगै मुक्तिनाथ मन्दिरमा तीर्थ यात्रीको भीड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ आश्विन २०७५, सोमबार ०५:४६

पोखरा।  हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथमा पितृ उद्धार गर्न तीर्थालु बढेका छन्। प्रत्येक वर्ष आश्विन कृष्ण पक्ष ९पितृ पक्ष० का अवसरमा कागबेनीमा पिण्डदान गरी मुक्तिनाथको दर्शन गरेका पितृ उद्धार हुने विश्वासले देशका विभिन्न भागका दर्शनार्थी मुक्तिनाथ पुग्ने गर्दछन्।

मुक्तिनाथ जाने दर्शनार्थीको चाप पोखरादेखि पर्वत, म्याग्दीसम्म पुग्ने गर्दछ।  पोखरा हुँदै मुक्तिनाथको रानीपौवासम्मको बाटो कालोपत्रे भएका कारण स्थलमार्गबाट मन्दिर पुग्न पनि निकै सहज भएको छ। मन्दिरको दर्शन र भ्रमणमा आउने भक्तजन, आन्तरिक तथा बाह्य पर्यटक बढेसँगै होटलको सङ्ख्या, सुविधा र लगानी पनि बढेको छ।  सामान्यतः एक दिनमा दुई हजार स्वदेशी एवं विदेशी पर्यटक राख्नसक्ने गरी यहाँका होटेलको क्षमता विस्तार गरिएकोे छ।

पाँचवर्ष अघिसम्म मुक्तिनाथ जाने भक्तजन धर्मशाला र स्थानीयवासीका घरमा बास बस्न बाध्य हुनुपरेकामा होटेलको विस्तारले उक्त बाध्यता हटेको छ ।

जोमसोमदेखि २२ किलोमिटर पूर्वोत्तरमा रहेको उक्त मन्दिर समुद्र सतहबाट तीन हजार ७०० मिटर उचाइमा छ। त्यहाँ पुग्न पोखरा, काठमाडौँ, सुनौली, बेनी र मालढुङ्गाबाट सवारीसाधन पाइन्छन्।

हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाको सङ्गमस्थल मुक्तिनाथलाई भगवान् विष्णुको पूण्यभूमि मानिन्छ। भगवान् विष्णुको शरीरबाट आएको पसिनाबाट पानीको मूल फुटेको र सोही पानीको १०८ धारा बनेको किम्बदन्ती छ।

ती १०८ धारामा स्नान र मुक्तिनाथको दर्शन गर्नाले पुण्य मिल्ने धार्मिक विश्वास छ । प्राचीनकालदेखि नै यहाँ रहेको मुक्तिनाथको मूर्तिलाई विसं १८७१ मा मन्दिर बनाइएको थियो । यही स्थलमा बौद्ध गुरु पद्मसम्भवले पनि तिब्बत् जाने बेला तपस्या गरेको भन्दै यहाँ विभिन्न गुम्बासमेत बनाइएका कारण बौद्ध धर्मावलम्बीले पनि यस स्थललाई पवित्र तीर्थस्थलका रुपमा लिन्छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१