मिसावटयुक्त ४ सय किलो घिउ सहित ६ जना पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ भाद्र २०७१, शनिबार १९:५९

कपिल ज्ञवाली/ बुटवल,७ भदौ ।

गाईभैंसीको शुद्ध घिउ भन्दै बनस्पतीको घिउ र तेल मिसावट गरी विक्री वितरण गर्ने समूहलाई शनिवार बुटवल प्रहरीले पक्राउ गरेको छ । उक्त समूहको साथबाट प्रहरीले करिब ४ सय किलो मिसावट गरि बिक्रीको लागि तयारी अवस्थामा रहेको घिउ बरामद गरेको हो । 10561696_821024014615213_391476563943912580_nतीज नजिकिदै जांदा घिउको माग अत्याधिक रहेको अबस्थामा उनीहरुले उपभोक्ताको हित बिपरित,गुणस्तरहिन मिसावटयुक्त घिउ बेच्दै आएका थिए । सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक सोम थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले बुटवल वडा नंं ८ को शिखरपथमा रहेको एउटा घरबाट घिउ सहित उक्त कार्यमा संलग्न ६ जनालाई पक्राउ गरेको हो । प्रहरीले ग्रामिण क्षेत्रमा गई मिसावट घिउ विक्री वितरण गर्ने भारतीय नागरिक फुलचन्द्र साहनी, जगीलाल प्रसाद चौधरी, नथुमी साहनी, राजकुमार यादव, लकिन्द्र साहनी र भिगारी रायलाई पक्राउ गरेको हो । प्रहरीले उनिहरुको साथबाट गाईभैंसीको घिउमा वनस्पती घिउ मिसावट गरी बिक्रीको लागि तयारी अवस्थामा राखेको २ सय किलो घिउ बरामद गरेको जनाएको छ । त्यस्तै भरीएको अवस्थामा रहेका १३ किलोका १४ वटा स्वस्तीक वनस्पती घिउका टिनका डिब्बा समेत बरामद गरेको प्रहरीले जनाएको छ । उनिहरुले गाईभैंसीको १ किलो घिउमा २ किलो बनस्पती घिउ मिसावट गरी ग्रामिण क्षेत्रमा लगी विक्री वितरण गर्ने गरेको पाईएको प्रहरीले जनाएको छ । प्रहरीले घिउ मिसावट गर्न प्रयोग गरिएका ६ वटा स्टोभ र घिउ मिसाउने जार समेत बरामद गरेको जनाएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक सोम थापाले सो समुहले रौतहट सर्लाही लगायतका जिल्लाहरुबाट गाईभैंसीको घिउ खरिद गरी भारतीय बजारबाट ल्याएको वनस्पती घिउ मिसावट गरी विक्री वितरण गर्ने गरेको बताउनुभयो । पक्राउ परेकाहरु विगत १० वर्षदेखि यस्तो कार्यमा संलग्न रहेको स्विकार गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा कालोबजारी अन्तरगत मुद्धा दर्ता गरी कारवाही प्रकृया अघि बढाईने प्रहरीले जनाएको छ । त्यस्तै बरामद गरिएको घिउलाई जिल्ला प्रशासन, वाणिज्य कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय र पत्रकारहरुको रोहवरमा नष्ट गरिएको छ ।

प्रतिक्रिया