नतिजा ढिलाइले विद्यार्थीलाई मर्का

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ भाद्र २०७१, बिहीबार ११:४१

काठमाडौं,५ भाद्र उच्चमाध्यमिक शिक्षा परिषदले कक्षा १२ को परीक्षाको चार महिना लाग्दासमेत नतिजा निकाल्न सकेको छैन। परिषदले कक्षा १२ को परीक्षा वैशाख १९ गते गरेको थियो।image

नतिजा प्रकाशनको ढिलाइले उच्च शिक्षा हासिल गर्न विदेश जाने विद्यार्थीलाई मर्का परेको पीडितको गुनासो छ। ‘भारतीय विश्वविद्यालयमा इन्जिनियरिङ अध्ययन गर्न जाने भनेर सबै तयारी भइसक्यो तर १२ को नतिजा नआएकाले समस्या भयो,’ भावना श्रेष्ठले बताइन्। असनकी भावनाले बैंलोरको रेवा कलेजका लागि सबै तयारी गरिसकेकी छन्। ‘एक सातामा भारतीय विश्वविद्यालयले कक्षा सुरु हुने भनेको छ,’ भावनाले भनिन्, ‘यता हाम्रो प्लस टुको नतिजा आएको छैन।’
आफ्ना बालबच्चा बाहिर पढाउन चाहने अभिभावकले परिषदले नियतवश नतिजा प्रकाशनमा ढिलाइ गरेको आरोप लगाएका छन्। ‘परिषदले निजी प्लस टुको दबाबमा नतिजा ढिला गरेको हामीलाई लागेको छ,’ सिभिल मलमा आयोजित एजुकेसन पार्कमा छोरीका लागि भारतीय कलेज बुझ्न आएका रामप्रसाद ढकालले भने, ‘नतिजा ढिला गर्योय भने सबै विद्यार्थी नेपाली कलेज तथा विश्वविद्यालयम पढ्न बाध्य हुन्छन्। विदेशतिर शैक्षिक सत्र बन्द भइसकेको हुन्छ।’
परिषदको नियमअनुसार परीक्षा सकिएको तीन महिनाभित्र नतिजा निकाल्नुपर्छ। परिषदका परीक्षा नियन्त्रक दुर्गा अर्यालका अनुसार परिषदभित्रको विभिन्न समस्या र विवादका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन गएको हो। तर परिषदले भदौ पहिलो साता नतिजा प्रकाशन गर्ने तयारी गरिरहेको उनले जनाए।
जेठ १६ देखि असार ९ सम्म २५ दिन उच्चमाध्यमिक शिक्षक संघ(हिस्टान)को तालाबन्दीले उत्तरपुस्तिका परीक्षणमा बाधा भएको बताए। परिषद कर्मचारीले समेत कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने माग राख्दै साउन ७ र ८ गते आन्दोलन गरे। जेठमा अस्थायी शिक्षकको आन्दोलनले परिषदको परीक्षाका कामकारबाही प्रभावित बनेकाले समेत नतिजा प्रकाशनमा ढिलाइ भएको उनले बताए। परीक्षामा ३ लाख ९६ हजार परीक्षार्थी सहभागी थिए।
‘शिक्षकको २५ दिने आन्दोलनले हामीलाई ठूलो क्षति पुर्याेयो। ५० लाख उत्तरपुस्तिकाको परीक्षण, सम्परीक्षण, कोडिङ, डिकोडिङ गर्न समय लाग्यो,’ परीक्षा नियन्त्रक अर्यालले नागरिकसँग भने। परिषदमा जनशक्ति अभावका कारण पनि नतिजा प्रकाशनमा ढिलाइ हुने उनले बताए। स्थायी दरबन्दी ३ सय २० कर्मचारी रहेकामा हाल १ सय १७ कर्मचारी मात्र स्थायी दरबन्दीमा छन्।

प्रतिक्रिया