मलेसियाका मन्त्रीसँग नेपाली कामदारका समस्यामा छलफल हुने
काठमाडौ – दुईदिने नेपाल भ्रमणमा आएका मलेसियाका मानव संशाधनमन्त्री दातुक रिचार्ड रियट जइमले राजनीतिक भेटघाट गर्दै हुनुहुन्छ ।
उहाँले बिहीबार विहान ११ बजे श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङलाई भेट्ने कार्यक्रम छ । भेटमा नेपालीको प्रमुख श्रम गन्तव्य मलेसियालाई निःशुल्क भिसा र टिकट उपलब्ध गराउन आग्रह गरिने श्रम मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले जानकारी दिनुभयो ।
यस्तै मलेसिया जाने कामदारले लागत भन्दा धेरै रकम बुझाइरहेकाले सिधै नेपालका म्यानपावरसँग सम्पर्क गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरिने प्रवक्ता राईले बताउनुभयो ।
भेटमा नेपाली कामदारका समस्या, श्रम सम्झौता, गैरकानुनी रुपमा मलेसियामा रहेका र बन्दीगृहमा रहेका नेपालीलाई छिट्टै स्वदेश फर्काउने विषयमा पनि कुराकानी हुनेछ । मन्त्रालयका अनुसार मलेसियामा घरेलु कामदारका रुपमा नेपाली महिलालाई अवसर उपलब्ध गराउनेबारे पनि छलफल गर्ने तयारी भएको छ । जइम बिहीबार नै स्वदेश फर्किने कार्यक्रम छ ।
प्रतिक्रिया