भन्सार प्रमुख, सुब्बा र सशस्त्र प्रहरीको त्रिकोणीय खेल, भन्सार छली सामान ल्याउन सरकारी साधन प्रयोग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ श्रावण २०७५, सोमबार १०:२६

नेपालगन्ज । भारतबाट साइकल, रिक्सा तथा साना गाडी प्रयोग गरी आयात हुने सामानमा नेपालगन्ज भन्सार कार्यालयका प्रमुखले कडाईका साथ भन्सार राजस्व बुझाउने आदेश दिन्छ भने सोही कार्यालयका अर्थात भन्सार कार्यालयको यात्रु शाखामा कार्यरत प्रमुख सुब्बाले ड्यूटीमा बसेका सशस्त्र प्रहरी इन्चार्जलाई भन्सार नगराएर पठाउने आदेश दिन्छ अनि सशस्त्र प्रहरी बल राजस्व गुल्मको आकस्मिक चेक प्वाइन्टले भन्सार राजस्व बुझाउन सामान फिर्ता पठाउने कार्य गरेको देखिएकोले त्रिकोणीय खेलको चर्चा पाएको छ । नेपालगन्ज भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले व्यवहारिक पक्षलाई आत्मसाथ गरी कडाईका साथ भन्सार राजस्व बृद्धि गर्नको लागि मातहतका कर्मचारीलाई कडाईका साथ आदेश दिइएको अवस्थामा भारतको रुपैडिहा बजारबाट दैनिक २–३ करोड रकमसम्मको सामान आयात हुने क्रममा यात्रु शाखाको बेरियरमा बसेका सशस्त्र प्रहरी बलले भन्सार गराउन यात्रु शाखामा पठाएको अवस्थामा त्यहाँ कार्यरत सुब्बाले भन्सार नगराई पठाउँदा अनि बिच बाटोमा चेकजाँचको क्रममा पुनः भन्सार गराउन फिर्ता पठाउँदा साना आयातकर्ता अहिले अन्यौलमा परेका छन् । नेपालगन्ज भन्सार नाका हुँदै विधिवत रुपमा भन्सार राजस्व बुझाई दैनिक ३–४ ट्रक चामलको भन्सार राजस्व संकलन हुन्छ । त्यस्तै एक–दुई बोरी चामल ओसारपोसार गरी दैनिक चार ट्रकभन्दा बढी भन्सार शुल्क नतिरी सामान आयात हुने गरेको बताइन्छ । त्यस्तै दैनिक लाखौं रकमको दालमोट, चिप्स लगायतको सामान बिना भन्सार नै साइकल र रिक्साबाट आयात हुने गरेको देखिनुको साथै रिक्सामा ६ जना सवार व्यक्तिहरुले दुई–दुई पिस कुर्ता साडीका दरले १२–१५ पिस बिना भन्सार आयात हुने गरेको पाइएको छ । यात्रु शाखा अगाडि चेकप्वाइन्टमा बसेका सशस्त्र प्रहरी बलले सामानसहित भन्सार राजस्व बुझाउन पठाउँदा यात्रु शाखाका सुब्बाले आपसी तालमेल मिलाई बिना भन्सार जान देउ भनी ड्युटीमा बसेका सशस्त्र प्रहरीका इन्चार्जलाई दबाव दिने गरेको समेत पाइएको छ । घरायसी सामानको नाममा सबै सामान ल्याउन छुट दिने हो भने यात्रु शाखाका सुब्बाले भोलिका दिनमा घरायसी प्रयोजनका लागि कुलर, एसी, पंखा, फ्रिज, टिभी, मोटर साइकल, कार लगायतका सामान ल्याउन छुटको व्यवस्था मिलाउनु पर्ने माग अहिले विस्तारै आउन थालेको छ । घरायसी प्रयोजनको लागि भनेर व्यापारिक रुपमा सामान भित्रिने कार्य अत्यधिक भएकोले यात्रु शाखाका सुब्बाका कारण भन्सार राजस्व संकलन छताछुल्ल हुन पुगेको छ । आइतबार साँझ करिब १ घण्टाको दौरानमा करिब ४२ बोरा चामल, दालमोट र चिप्स, अलि अलि गरी भित्र्याउने गरेको कपडाहरु लगायतका सामानहरु सशस्त्र प्रहरी बल राजस्व गुल्म आकस्मिक चेकप्वाइन्टका इन्चार्ज बरिष्ठ हवलदार नेत्र बहादुर थापाले भन्सार राजस्व बुझाउन फिर्ता पठाएका थिए । ड्युटीमा खटिएका बरिष्ठ हवलदार थापाको नेतृत्वमा खटिएको १० जनाको टोलीले सक्रियताका साथ राजस्व संकलनको अभियानमा कडाईका साथ चेकजाँच समेत गरेका थिए । यसैगरी भारतको रुपैडिहाबाट भन्सार छल्ने कार्यमा सरकारी सवारी साधनको प्रयोग हुने गरेको समेत पाइएको छ । आइतबार साँझ एक घण्टाको दौरानमा ३ वटा सरकारी मोटरसाइकल र एउटा सरकारी जिप समेत भेटिएको छ । सिचाई कार्यालयको बा २ प ३६६९, भेटेनरीका प्रमुख स्वयं चढेको भे १ ब १०९१, सानो मझौला कृषिको लेखापाल चढेको बा २ ब २३१५ मोटरसाइकल भन्सार छली सामान ल्याएकोमा पुनः सशस्त्र प्रहरी बलको आकस्मिक चेक प्वाइन्टले भन्सार राजस्व तिर्न फिर्ता पठाएको थियो भने सोही दौरानमा स्वास्थ्य संस्थासँग सम्बन्धित बा २ झ ३१५७ नम्बरको सेतो रंगको सुजुकीको ब्रेजा सरकारी जिपसमेत अवैध रुपमा प्रयोग भएको छ । सरकारी गाडीले भन्सार छलेर सामान ल्याई आफ्नो गल्ती स्वीकार गर्दै पुनः यस्ता गल्ती नगर्ने भनेको भिडियो कार्यालयमा सुरक्षित राखिएको छ । सरकारी गाडीको दुरुपयोगको विषयमा प्रमुख जिल्ला अधिकारी समक्ष एसएमएसबाट जानकारी समेत गराइएकोले भोलीका दिनमा यस्ता सरकारी साधन प्रयोग गर्ने उपर के कस्तो कारवाही हुन्छ ? चर्चाको विषय बनेको छ । सशस्त्र प्रहरी सिमा सुरक्षाका एसपी शाहको भनाई र पत्रकारको चासो ः सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालयका प्रमुख एवम् सशस्त्र प्रहरी उपरिक्षक भेषबहादुर शाहले पत्रकारहरु चेकप्वाइन्टमा आएर धेरै बेर बसी भिडियो बनाउनु नहुने भनी विभिन्न स्थानमा आफ्नो अभिव्यक्ति राख्नु अहिले चर्चाको विषय पनि बन्न पुगेको छ । आइतबार भन्सार छली आउने सामान र सरकारी सवारी साधनले भन्सार छलेर ल्याउने विषयमा करिब डेढ घण्टाको बसाई पश्चात पर्दाफास भएको अवस्था आएको थियो भने सशस्त्र प्रहरी उपरिक्षक शाहको आदेश अनुसार पत्रकार आउने फोटो खिच्ने जाने वातावरण हुने हो भने यस्ता दुरुपयोगको पर्दाफास हुन सक्ने प्रमाणित भएको छ । एक थरीका सशस्त्र प्रहरी प्रमुखहरु चेकप्वाइन्टमा पत्रकार बसेर समाचार संकलनको लागि तस्बिर र भिडियो बनाउनमा बढी चासो देखाउने गरेको पाइएको छ भने सिमा सुरक्षाका एसपी शाहले पत्रकार धेरै बेर चेकप्वाइन्टमा बस्न नहुने अभिब्यक्तिले चेकजाँचको स्थिती अझै रहस्यमय बनाएको छ । सिभिल इन्जिनियरको हैसियतमा सशस्त्र प्रहरी बलमा भर्ना पाएका सिमा सुरक्षाका एसपी शाह मोरङमा हुँदा गरेका कार्यको विवरण उनकै सशस्त्र प्रहरी बलका अधिकारीहरुले अहिले बताउने गरेको पाइएको छ । मुलुकमा ५ वर्षसम्म दुई तिहाईभन्दा बढीको बहुमतको स्थायी सरकार भएको तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार निर्मुल र राजस्व बृद्धिको अभिव्यक्ति दिएसँगै अवैध रुपमा पैसा कमाउने मनसाय बोकेका सरकारी अधिकारीले सपना छाडे हुने जस्ता कुरा अहिले विज्ञहरुले बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१