राजस्व बृद्धिमा इमान्दार सशस्त्र प्रहरीको सक्रियता : राजस्व गुल्मद्वारा ठुलो परिमाणमा खाद्यान्न बरामद

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ श्रावण २०७५, बुधबार १२:४६

नेपालगन्ज  । नेपालगन्ज भन्सार कार्यालय सशस्त्र प्रहरी राजस्व गुल्मका इमान्दार समूहले सुर्खेतरोड मेन हाईवेमा भन्सार छली गरी ल्याएको खाद्यान्न ट्रकमा लोड गर्ने बेला खाद्यान्न बरामद गरेको छ । सशस्त्र प्रहरी राजस्व गुल्मका सशस्त्र प्रहरी सहायक निरिक्षक द्रोणबहादुर बुढाको कमाण्डमा खटिएको एक समूहले ट्रकमा लोड गर्न लागिएको अवस्थामा भन्सार छली ल्याएको ठुलो परिमाणमा रहेको खाद्यन्न बरामद गरेको हो । सशस्त्र प्रहरी सहायक निरिक्षक बुढाको कमाण्डमा खटिएको ९ जनाको टोलीले बुधबार विहान करिब ५.२० बजे आदर्शनगर वडा नं. १० स्थित होटल स्नेह अगाडि चामल ४ बोरी, आलु २ बोरा, प्याज ६ बोरा, ड्यू (ठुलो बोतलको पेय पदार्थ) २ पेटी, भेली १० केजी, चिनी ३० किलो, चना बेसन ५ बोरा, रेडिमेड अचार ठुलो डिब्बा १, चाउचाउ १ पेटी, लसुन ३ बोरा, बिस्कुट १ पेटीे, नमकिन १२ माला र लेस (आलु चिप्स) ४ माला बरामद गरिएको छ । बरामद गरिएको सामान आवश्यक कारवाहीको लागि बुधबार नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको छ । सशस्त्र प्रहरी बलको राजस्व समूहले सरकारी राजस्व बृद्धिमा देखाएको सक्रियताका कारण अहिले भन्सार छल्ने गिरोहहरुमा डर त्रास उब्जिन थालेको स्रोतले बताएको छ । विभिन्न मिडिया समूहले सरकारी राजस्व बृद्धिको लागि छाडा अवस्थामा रहेको भन्सार नाका कडा पारिनु पर्ने विषयमा लगातार समाचार प्रकाशित गरेपछि अहिले सशस्त्र प्रहरी बल राजस्व समूहको प्रमुख एवम् सशस्त्र प्रहरी नायब उपरिक्षक निरन्कार नाथ शुक्लाले बिशेष टोलीको समूह बनाई भन्सार छल्ने गिरोहको सामान बरामद गर्ने अभियान नै चलाएका छन् । सरकारी राजस्वभन्दा आफ्नो पकेट भर्ने प्रवृत्तिका कारण भन्सार छाडा हुन गएको तथा त्यस्ता केही तत्वलाई माथिल्लो निकायले पहिचान गरी अन्यत्र सारेमा इमान्दारिताका साथ सरकारी राजस्वमा बृद्धि हुने बताइएको छ । यसैगरी सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालयले पनि भन्सार छल्ने गिरोहमाथि बिशेष निगरानी बढाउँदै भन्सार छलेर ल्याइने सामान बरामद गर्दै आएको छ । सशस्त्र प्रहरी बलको सिमा सुरक्षा कार्यालयले स्थापना गरेको चौलिक्का चेकप्वाइन्टमा खटिएका ड्युटी अफिसरलगायतका कर्मचारीलाई विशेष कक्षा लिई भन्सार छली ल्याएका सामानको भन्सार प्रज्ञापन पत्र हेरी छाड्ने तथा भन्सार प्रज्ञापन पत्र नभएका सामान जफत गर्ने अभियान अघि बढाएमा भन्सार छली सामान ल्याउने गिरोह विस्तारै विलिन हुँदै जानेमा कुनै शंका नरहेको स्थानिय विज्ञहरुले बताएका छन् ।

प्रतिक्रिया