इबोलाबाट बच्न पश्चिमी नाकामा सतर्कता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ भाद्र २०७१, बुधबार १४:०१

भीमदत्तनगर, ४  भाद्र  । छिमेकी मुलुक भारतको दिल्लीमा इबोला भाइरस देखिएपछि सुदूरपश्चिमको प्रमुख नाका गड्डाचौकीमा सतर्कता अपनाइएको छ ।

भौगोलिक दूरीका हिसाबले गड्डाचौकीबाट भारतको राजधानी दिल्ली ३३१ किलोमिटर मात्रै टाढा छ । दिल्लीमा पनि इबोलाको भाइरस देखिएको खबर आएपछि गड्डाचौकी नाकामा अध्यागन कार्यालयमार्फत विशेष सतर्कता अपनाएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी घिमिरेले गड्डाचौकीस्थित अध्यागमन कार्यालयलाई पत्राचार गरी इबोलाबारे सतर्कता अपनाउन निर्देशन दिएको जानकारी दिनुभयो ।

उहाँले पश्चिमी नाका गड्डाचौकीबाट नेपाल भित्रिने विशेषगरी अफ्रिकन मुलुकका नागरिकमाथि निगरानी बढाउन निर्देशनसमेत दिनुभएको छ । “इबोला फैलिएको देशका नागरिक नेपाल छिर्दा यो रोगबारे सचेत गराउन निर्देशन दिइसकेको छु”–प्रम्ुख जिल्ला अधिकारी घिमिरेले भन्नुभयो–“दिल्लीनजिक भएकाले स्थलमार्गबाट पनि गड्डाचौकी भएर पर्यटक नेपाल घुम्न आउँछन् ।”

साथै इबोलाको भाइरस देखिएका अफ्रिकन मुलुकका नागरिकलाई नेपाल भित्रिन भिसा दिनुपूर्व सतर्कता अपनाउने र शङ्का लागे महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षणका लागि पठाउने निर्देशन आएको गड्डाचौकीस्थित अध्यागमन कार्यालयका अध्यागमन सहायक शेखरनाथ ओझाले बताउनुभयो ।

उहाँले कार्यालयको निर्देशनअनुसार आजदेखि उक्त रोगबारे सीमानाकामा सचेतना दिने काम थालिसकेको बताउनुभयो ।

खासगरी गड्डाचौकी नाका भएर नेपाली नागरिक बढी ओहोरदोहोर गर्ने हँुदा उनीहरूलाई पनि इबोलाबारे सतर्कता अपनाउन सुझाव दिने काम भइरहेको अध्यागमन कार्यालयले जनाएको छ । कार्यालयले दिएको जानकारीअनुसार भारतीय पक्षले पनि सिमानामा इबोलाबारे सतर्कता अपनाउन थालिसकेको छ ।

“वनबासा पुलनिर भएको भारतीय अध्यागमन कार्यालयले पनि सतर्कता अपनाउन थालेको जानकारी आएको  छ”–अध्यागमन सहायक ओझाले भन्नुभयो–“भारतीय पक्षसँग पनि समन्वय गर्न बुधबार हामी त्यहाँ जाँदैछौँ ।”

त्यसैगरी इबोलाबारे सतर्कता अपनाउन आज बिहानदेखि जिल्ला जनस्वास्थ्य कार्यालयको स्वास्थ्यकर्मीको एक टोली गड्डाचौकीमा खटिने प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले जानकारी दिनुभयो ।

“स्वास्थ्यकर्मीको टोलीले आजबाट गड्डाचौकीमा स्वास्थ्य जाँचका साथै इबोलाबारे जनचेतना जगाउन पर्चा पम्पिलेटिङ पनि गर्ने छ ।” प्रजिअ घिमिरेले भन्नुभयो ।

उहाँले यो रोगबारे सतर्कता अपनाउन जिल्ला जनस्वास्थ्य कार्यालयसित पनि थप समन्वय भइरहेको जानकारी दिनुभयो । सुदूरपश्चिमको प्रमुख नाका गड्डाचौकी भएकाले पनि यो नाकामा विशेष निगरानी राख्नुपर्ने जिल्ला प्रशासन कार्यालयको भनाइ छ ।

सुदूरपश्चिमको गड्डाचौकीका साथै धनगढीस्थित गौरीफन्टा नाकामा इबोलाबारे सतर्कता अपनाउनुपर्ने यहाँको चिकित्सकले जोडदिएका छन् । गड्डाचौकी नाकाबाट मात्रै दैनिक सयौँ स्वदेशी तथा विदेशी नागरिक ओहोरदोहोर गर्ने गर्दछन् । रासस

प्रतिक्रिया