टंक बुढाथोकीले अशोक दर्जीको प्रतिभाको कदर कि श्रम शोषण  गरे ? चर्चित कलाकारनै टंक बुढाथोकीको बिरुद्दमा उत्रिए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ श्रावण २०७५, मंगलवार ०६:२३

काठमाडौँ । भनिन्छ– बालबालिका काँचो माटोबराबर हुन्छन् । भविष्यमा केही बनून् भनेर उनीहरूलाई बेलैदेखि आकारविशेषमा ढाल्दै जानुपर्छ । कति बालबालिकाले भविष्यमा के बन्ने भन्ने लक्षण सानैमा देखाइसकेका हुन्छन् भने धेरैजसोलाई अभिभावकको मार्गदर्शनको खाँचो परिरहन्छ । प्रतिभा भएकालाई पनि उत्प्रेरणा, भरथेग, हौसला लगायतको आवश्यकता परिरहन्छ । कान्तिपुरमा खबर छ ।

नेपाली मनोरञ्जनका क्षेत्रमा केही समययता ‘भाइरल’ भइरहेका अशोक दर्जी गायनका हिसाबले ‘हुने बिरुवाको चिल्लो पात’ हुन् । कुनै समय सडकमा गाउँदै पैसा माग्ने उनी यति बेला युटयुबमा छाइरहेका छन् । उनी के खान्छन्, के लाउँछन्, कुन स्कुलमा भर्ना भए, कुन देश पुगे, प्लेनमा चढ्दा कस्तो अनुभव गरे जस्ता उनीसम्बद्ध हरेक घटना युटयुबका सामग्री बनेका छन् ।

भर्खरै आठ वर्ष पुगेका उनी, स्वाभाविकै हो, गीत गाउनमै रमाइरहेका छन् । पछिल्ला दिन भने यी ‘भाइरल ब्वाई’ को भविष्यबारे अनेक प्रश्न उठ्न थालेका छन् । अशोकलाई प्रयोग गरेर अरूले नै फाइदा उठाइरहेका आरोपहरू लाग्न थालेका छन् । अशोकलाई नै जोडेर बालमनोविज्ञानदेखि बालश्रम शोषणसम्मका बहस हुन थालेका छन् ।

को हुन् अशोक ? झापाको दमकका हुन् अशोक । घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण उनले पढ्न पाएनन् । बाटो र होटलमा दिनभर गीत गाउँदै हिँड्न थाले । बेलुकी चामल बोकेर घर फर्किन्थे । आमाबुबा अरूको पर्म जान्थे । दुई बहिनीका यी दाजुलाई २०७३ माघ २५ मा रूपक सापकोटाले गाउँदै गरेको भेटेपछि झापाबाटै फेसबुक लाइभ गरे । त्यसमा अशोकले अनेक गीतका टुक्रा गाउँदै भनेका छन्, ‘म सडकमा गीत गाएर दिनमा हजारजति कमाउँछु । बुबा थला पर्नुभा’को छ ।’

रूपकले युटयुबमा अशोकसँगको कुराकानी अपलोड गरे । अनि उनीबारे चर्चा–परिचर्चा हुन थाल्यो । चर्चाकै बीच संगीतकार टंक बुढाथोकीले दुई महिनाअघि अशोकलाई काठमाडौं ल्याए । गीत रेकर्ड गराए । विपन्न अशोकको परिवारका लागि घर बनाउने अभियान चाले । पूर्ण वाइबाको संयोजकत्वमा निर्माण समिति नै बनाए ।

यसबीच टंकले अशोकको सम्पूर्ण रेखदेख र भरणपोषण आफंैले गर्ने भनेर उनलाई आफूसँगै राख्न उनका आमाबुबालाई राजी बनाए । अशोकका दु:ख चर्चामा आएपछि उर्लाबारीस्थित बेथेल एजुकेसनल एकेडेमीले १० कक्षासम्म नि:शुल्क पढाउने बस्दोबस्त मिलायो ।

विवादको चुरो : परिवारलाई सघाउने नाममा अशोकको गलत प्रयोग भइरहेको र सहयोग अभियान पारदर्शिता नभएको विषय अहिले बहसमा छ । बेथेल एजुकेसनल एकेडेमीका प्रिन्सिपल दीपक न्यौपानेका अनुसार ‘सेलेब्रिटीको रौनक’ मा अशोकको पढाइ बिग्रँदै गएको बताए ।

वैशाखमा भर्ना भएका अशोक तीन महिनाको बीच ३० दिन स्कुलै गएनन् । केही दिनअघि टंकसँगै गीत गाउन दुबई गएका अशोक अहिले युरोप टुरको तयारीमा छन्, यही कारण उनको यूकेजीको परीक्षा छुट्दै छ ।

‘परीक्षा दिएपछि लैजाउनुहोला भनेको थिएँ, टंकजीले मान्नुभएन,’ दीपकले भने, ‘भोलिपल्ट बिहानै प्लेनमा पठाउँछु भन्नुभएको थियो, एक हप्ता नाघिसक्यो, उनी स्कुल आएका छैनन् ।’ दीपकका अनुसार यति बेला अशोकका लागि युरोप टुरभन्दा परीक्षा ठूलो हुनुपर्ने हो ।

टंकले भने, ‘परीक्षाभन्दा युरोप जानु नै अशोकका लागि ठूलो उपलब्धि’ हुने बताए । उनले अशोक काठमाडांैमा रहेका बेला आफ्ना छोरासँग तीनकुनेस्थित एप्पल इन्टरनेसनल स्कुलमा पढ्न पठाउने गरेको पनि दाबी गरे ।

केही वर्षका लागि अशोकको अभिभावकत्व आफूले ग्रहण गरेको दाबी गर्दै टंकले अशोकलाई २१ जुलाईमा युरोप टुरमा लाने तयारी गरिरहेका छन् । ‘सडकमा गीत गाउँदै गरेको गरिबको बच्चालाई युरोप पुर्‍याउँदै छु । अहिले एबीसीडी सिकेर के हुन्छ ?’ टंकले ठाडो जवाफ दिए, ‘पढ्न त भोलि पनि सकिहाल्छ नि !’

मनोचिकित्सकहरूका अनुसार बालबालिकालाई सही समयमा सही कुरा दिन सकिएन भने उनीहरूको भविष्य अन्योलपूर्ण हुन्छ । अशोकबारे युटयुब र सामाजिक सञ्जालमा आएका सकारात्मक पक्षसँगै नकारात्मकतासमेत नियालिरहेका मनोचिकित्सक डा. सरोज ओझाका अनुसार अशोकमा नैतिक शिक्षाको अभाव देखिन्छ ।

‘यति बेला उपयुक्त वातावरणमा शिक्षा दिनु नै उनका लागि उपयुक्त हुन्छ,’ उनले सुझाए, ‘स्कुलमा औपचारिक शिक्षासँगै साथीभाइ, आफन्त, शिक्षक, आफूभन्दा ठूला र सानाबीच हुने सम्मानजनक व्यवहार र अरू सामाजिक व्यक्तित्वमाझ कसरी आफूलाई प्रस्तुत गर्ने भन्ने जान्नु नैतिक शिक्षा हो । उनले यो अहिलेदेखि नै सिकेनन् भने पछि सिकाउन एकदमै गाह्रो हुन्छ ।’

प्रतिभा प्रस्फुटन या बालश्रम शोषण ? बालअधिकारकर्मी लोचन रेग्मीका अनुसार, टंकले बाल प्रतिभा प्रस्फुटन गर्ने प्लेटफार्म बनाइदिनु सकारात्मक रहे पनि भविष्यमा पर्न जाने असरलाई ख्याल नगरी ‘कमाऊ प्रतिभा’ का रूपमा अशोकको प्रयोग गर्नु गलत हो । ‘बालबालिकाको आधारभूत अधिकारमा समस्या आउने खालका काम गर्न भने कानुनत: गलत ठहरिन्छ,’ उनले भने ।

सामाजिक सञ्जालमा उनी भाइरल भएको देख्दा खुसी र दु:खी दुवै महसुस भएको उनले सुनाए । एउटा प्रतिभा सार्वजनिक हुनु खुसीको विषय भए पनि उनलाई अनावश्यक प्रोजेक्सन गराएर आय आर्जनको बाटो बनाउनु गलत हो ।

टंकले अशोकका आमाबुबासँग पाँच वर्षको संरक्षकत्व आफूले जिम्मा लिएको भन्दै सम्झौताअनुसार नै काम भइरहेको बताए । तर लोचनका अनुसार, यो घुमाउरो प्रकृतिको श्रमशोषण नै हो । भने, ‘बालबालिकालाई प्रोत्साहनका लागि प्रयोग गरेको हो कि आय आर्जनका लागि ? यसबारे स्पष्ट हुनुपर्छ । यहाँ अशोक श्रमिकका रूपमा प्रयोग भएका छन् । उनको गरिबीको फाइदा उठाउन गरिएका कार्यहरू बालश्रम शोषण नै हुन् ।’

सेलेब्रिटीहरूकै विरोध : गायक श्रीकृष्ण लुइँटेलले युटयुब अन्तर्वार्तामा ‘टंकले अशोकलाई सधैंभरि साथ दिनुभन्दा पनि चर्चा र लोकप्रियता बटुल्न मात्रै प्रयोग गरेको’ दाबी गरेका छन् । ‘उहाँले अशोकलाई सधैंभरि साथ दिनुहुन्छ भन्ने लाग्दैन,’ उनले भनेका छन्, ‘युटयुब ट्रेन्डिङमा ल्याउनु छ भन्दै उहाँले आह्वानै गर्नुभएको थियो ।’

त्यस्तै, गायक प्रमोद खरेलले पनि युटयुबमा राखिएको एउटा अन्तर्वार्तामा भनेका छन्, ‘अशोक जस्तो प्रतिभा चिनिनु राम्रो हो । एउटा गीत गाएर सेलेब्रिटी बन्नुभन्दा सिकेर भविष्यमा राम्रो सर्जक बन्नेतिर ध्यान दिनुपर्छ । अशोकले संगीत सिक्नुपर्छ पहिला आज भाइरल हुने अनि भोलि हराउने हुनु हुन्न । उनी सधैंका लागि प्रतिभा बन्ने वातावरण दिनुपर्छ ।’

विवाद बढेपछि टंकले अशोकको अनावश्यक भिडियो र ट्रोल नखिच्न युटयुबमार्फत अनुरोध पनि गरेका छन् । टंकले भने अशोकका गतिविधि निरन्तर पोस्ट गर्ने गरेका छन् । यस्तो गर्नुको पछाडि अशोकको परिवार र समाजप्रति पारदर्शी हुन खोजेको तर्क उनले दिए ।

पारदर्शिताको प्रश्न : दमक नगरपालिका–२ मा अशोकको परिवारका लागि घर बनिरहेको भए पनि हिसाबकिताब पारदर्शी नभएको भवन निर्माण समितिका संयोजक पूर्ण वाइबाले बताए । घरका लागि सुरुवाती लागत २० लाख रुपैयाँ निकालेको र अहिले ८० प्रतिशत काम भइसकेको उनले जनाए । ‘घर बनाउन रोक्न हुन्न भन्ने लागेर अहिले आफ्नै गोजीबाट पैसा हालेर बनाइरहेको छु,’ उनले भने, ‘पैसा माग्दा टंकजी अनेक बहाना बनाउनुहुन्छ । कुनै पनि हिसाबकिताब स्पष्ट छैन ।’

अहिलेसम्म अशोकलाई लिएर टंकले दुबई र मलेसियामा कन्सर्ट गरिसकेका छन् । थुप्रै व्यक्तिले सघाइरहेका पनि छन् । यसबारे सोध्दा टंकले भने, ‘पहिले के भयो, छोडिदिनुस् न, अब खाता खोल्दै छौं । सबै पारदर्शी नै छ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर १२, २०८१