किसानले दूधको मूल्य घटाएको भन्दै, २०० लिटर दूध सडकमा पोखेर खोलो बगाए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ श्रावण २०७५, सोमबार ०४:३९

रत्ननगर, चितवन  ।  चितवनका दुग्ध किसानले दूधको मूल्य घटाएको भन्दै आन्दोलन जारी राखेका छन् ।

दुग्ध विकास संस्थान र निजी डेरीले दूधको मूल्य घटाएको आरोप लगाउँदै किसानले आज खैरहनी नगरपालिका–१ ज्यामिरे चोकमा २०० लिटर दूध सडकमा पोखेर विरोध प्रदर्शन गरेका छन् ।

किसानलाई दिँदै आएको दूधको मूल्यमा तीन रुपैयाँ घटाइएको दुग्ध उत्पादन सहकारी संस्था नगर समन्वय समिति खैरहनीका अध्यक्ष मुकुन्द दवाडीले बताउनुभयो । खैरहनीमा रहेका २४ सहकारी संस्थाका प्रतिनिधिले आज सांकेतिक रुपमा भन्दै दूध सडकमा पोखेर विरोध गरेका हुन् ।

यसअघि शुक्रबार उनीहरुले राप्ती नगरपालिकामा पनि यसैगरी सडकमा दूध पोखेर विरोध गरेका थिए । सोमबार रत्ननगरमा दूध पोखेर प्रदर्शन गर्ने चितवन जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष हरिहर सुवेदीले बताउनुभयो । उहाँका अनुसार दुग्ध विकास संस्थान (डिडिसी)ले दूधको गुणस्तरको आधारमा २५ प्रतिशत अतिरिक्त रकम दिने गरेको छ । त्यो रकम संस्थानले कटौती गरेको हो । यसरी कटौती गर्दा यसको मार सहकारी हुँदै किसानलाई पर्न जान्छ ।

यसलाई हिसाब गर्दा करिब तीन रुपैयाँ कटौती हुने दाबी सुवेदीको छ । राज्यले किसानलाई सहुलियत र सुविधा दिनुपर्नेमा अझै मूल्य कटौती गर्नु दुःखद् भएको भन्दै अध्यक्ष सुवेदीले तत्काल निर्णय फिर्ता लिन आग्रह गर्नुभयो ।

दिनमा ७० लिटर दूध बेच्दै आउनुभएका खैरहनी ११ का गणेश थापाले पनि आज यहाँ ३० लिटर दूध सडकमा घोप्ट्याउनुभयो । भारतीय पाउडर दूध भित्र्याएर किसानको दूधको मूल्य घटाएकाले त्यसको विरोधमा आफूले दूध सडकमा ल्याएर घोप्ट्याएको थापा बताउनुहुन्छ ।

मूल्य नबढाए कडा आन्दोलन गर्ने किसानको चेतावनी छ । चितवनमा व्यावसायिक रुपमा दुई लाख ५० हजार लिटर दूध उत्पादन हुन्छ ।

मूल्य घटाएको होइनः डिडिसी  : दुग्ध विकास संस्थानका निमित्त महाप्रबन्धक इश्वरी न्यौपानेले दूधको मूल्य नघटाएको दाबी गर्दै सरकारले दिँदै आएको अतिरिक्त मूल्यमात्रै कटौती गरेको बताउनुभएको छ । उहाँका अनुसार दूधको गुणस्तर हेरेर ‘टिएस’मा २५ प्रतिशत थप मूल्य दिँदै आएकामा सोही थप मूल्य मात्रै कटौती भएको तर तोकिएको मूल्य नघटाइएको दाबी गर्नुभयो ।

अहिले नेपालमा दूध उत्पादन पनि बढेको र बाहिरबाट दुग्धजन्य पदार्थको आयात पनि बढेकाले उद्योगहरुले कच्चा दूध कम लिँदा चाप डिडिसीलाई परेकाले बाध्य भएर अतिरिक्त मूल्य कटौती भएको उहाँ बताउनुहुन्छ ।

न्यौपानेले अहिले सुख्खा सिजनमा समेत डिडिसीले ५०÷६० हजार लिटर दूध पाउडर बनाएर राख्नु परेको उल्लेख गर्नुभयो । उहाँका अनुसार हाल नेपालमा दैनिक २१ लाख मेट्रिक टन दूध उत्पादन हुन्छ । यसको ५० प्रतिशत घरमा नै खपत हुन्छ ।

बाँकी रहेको दूधको ५० प्रतिशत बजारमा आउने, ३३ प्रतिशत आफैँ पोका पारेर बेच्ने र आधिकारिक रुपमा नियमपालन गरेर जम्मा १५ प्रतिशत दूध बिक्री हुने गर्छ । एक लाख ५० हजार लिटर दूग्ध खपत गर्ने चितवन मिल्क बन्द भएकाले पनि समस्या बढेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१