बढि सुत्ने मानिसमा कस्ता कस्ता समस्या देखापर्छन् त ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ भाद्र २०७१, मंगलवार १४:५१
वास्तवमा निद्रा मानिसको स्वास्थ्यको लागि अत्यावश्यक छ । एक वयस्क मानिसका लागि औषतमा दिनको ८ घण्टा निद्रा आवश्यक पर्छ भनिन्छ । मानिस निदाउन सकेन भने बुझ्नुपर्छ उसमा केही स्वास्थ्य समस्या छ । र लामो समयसम्म राम्ररी निदाउन पाएन भने पनि ऊ रोगी बन्छ भन्ने कुरा पक्का छ । त्यसैले स्वास्थ्यका लागि पर्याप्त निद्रा आवश्यक हुन्छ । तर निद्रा फाइदाजनक हुन्छ भन्दैमा बढि सुत्नु पनि भएन । आवश्यकता भन्दा बढि सुतियो भने त्यो पनि प्रत्युत्पादक हुन्छ र स्वास्थ्यमा नकारात्मक असर पर्छ ।
बढि सुत्ने मानिसमा कस्ता कस्ता समस्या देखापर्छन् त  ?
  • मधुमेह – अध्ययनले के देखाएको छ भने एक रातमा ९ घण्टा भन्दा बढि समय सुत्ने मानिसहरुमा मधुमेहको समस्या देखा पर्ने खतरा ७ घण्टा सुत्ने मानिसमा भन्दा ५० प्रतिशत बढि हुन्छ ।
  • मोटोपन – अध्ययन अनुसार एक रातमा ९ देखि १० घण्टा सम्म सुत्ने मानिसमा ७ देखि ८ घण्टा सुत्ने मानिसमा भन्दा मोटोपनको समस्या देखापर्ने खतरा २१ प्रतिशत बढि हुन्छ ।
  • मुटुरोग – बढि सुत्ने मानिसमा मुटुरोगको समेत खतरा बढ्दछ । अध्ययन अनुसार हरेक रात ९ घण्टाभन्दा बढि सुत्ने मानिसमा मुटुरोगको समस्या ३८ प्रतिशतले बढ्दछ ।
  • डिप्रेसन – बढि सुत्ने बानीले डिप्रेसनको समस्यालाई झनै बल्झाउँछ । डिप्रेसनलाई कम गर्न छरितो तथा नियमित निद्रा आवश्यक पर्छ ।
  • टाउको दुखाइ – बढि सुत्ने मानिसमा टाउको दुख्ने समस्या समेत देखापर्छ । बढि निद्राले गर्दा मस्तिष्कमा सेरोटोनिन भन्ने रसायनको असन्तुलन पैदा गर्छ जसको कारण टाउको दुख्छ ।
  • ढाड दुख्ने – बढि सुत्ने मानिसमा ढाड दुख्ने समस्याले समेत सताउँछ । बढि समयसम्म सुत्दा ढाडको भागमा बढि चाँप पर्ने भएकाले रक्तनली तथा मांशपेशीमा हानी पुग्ने र ढाड दुख्ने समस्या देखापर्छ । यसका साथै आवश्यकता भन्दा बढि सुत्ने बानीले मानिसको अनुहारको छाला फुंग उडेको जस्तो देखिने, आलस्यपन बढाउने, आँखाको बाहिरी भाग सुन्निएको जस्तो देखिने तथा समग्रमा व्यक्तिको आयु छोट्याउने विज्ञहरु बताउँछन् ।

कति समय सुत्नु उपयुक्त ?

· नवजात शिशु दिनमा १८ घण्टासम्म
 
· स्कुले केटाकेटी १० देखि ११ घण्टासम्म
 
· किशोरकिशोरी १० घण्टा
 
· वयस्क ७ देखि ८ घण्टा

प्रतिक्रिया