साउनदेखि सशस्त्रको पुरै संरचना परिवर्तन,एकल सरुवा नहुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० असार २०७५, आईतवार १५:१८

काठमाडौं ।अर्ध सैनिक प्रकृतिको सशस्त्र प्रहरी बल आगामी साउनदेखि नयाँ संरचनामा परिवर्तन हुने भएको छ । सरकारले सशस्त्र प्रहरी बल पुनःसंरचना गर्ने प्रस्ताव स्वीकृत गरेसँगै अब अर्ध सैनिक प्रकृतिको यो फौज पुरै फौजी संरचनामा जाने भएको छ । सशस्त्रको यो नयाँ संरचना कतिपय हकमा नेपाली सेनासँग हुबहु मिल्दोजुल्दोसमेत छ ।

मन्त्रिपरिषद्ले संगठन पुनःसंरचनासम्बन्धी प्रस्ताव पारित गरेको भन्दै कार्यान्वयनका लागि गृह मन्त्रालयले पत्र पठाएसँगै सशस्त्र प्रहरी बल प्रधान कार्यालयले अहिले यसका लागि थप गृहकार्य गरिरहेको छ ।

गृहले पठाएको निर्देशनमा हाल विद्यमान पाँचवटा बाहिनीको संख्या वृद्धि गरी प्रत्येक प्रदेशमा बाहिनी संरचना स्थापना गर्ने तथा उपत्यकाका लागि छुट्टै बाहिनीको स्थापना गर्ने उल्लेख छ ।

यस्तै, हाल विद्यमान सीमा सुरक्षा कार्यालयलाई गणमा स्तरवृद्धि गर्ने, आवश्यकतानुसार प्राविधिक समूह गठन गर्ने, हाल विद्यमान रहेका बोर्डर आउट पोस्ट (बीओपी) को मौजुदा अनाश्रित संरचना हटाउने उल्लेख छ । गृहले देशका सबै जिल्लामा सशस्त्र प्रहरी बलको उपस्थिति रहनेगरी गुल्म स्थापना गर्नेसहितको निर्देशनसमेत दिइसकेको छ । यसका अतिरिक्त एक–एकवटा एकेडेमी, अस्पताल र स्टाफ कलेजको व्यवस्था गरिएको छ ।

गृह मन्त्रालयको यो परिपत्रसँगै अब प्रदेश ३ र प्रदेश ५ मा पनि सशस्त्र प्रहरी बलले बाहिनी खडा गर्नेछ । बाहिनीको नेतृत्व नायब महानिरीक्षक (डीआईजी) ले गर्दै आएका छन् । यस्तै, सशस्त्र प्रहरी बलको नयाँ संरचनामा महानगरीय सशस्त्र प्रहरी कार्यालय रहनेछैन । सशस्त्रले यो कार्यालयको नाम परिवर्तन गरी उपत्यका सुरक्षा कार्यालय राखिसकेको छ । पहिला अतिरिक्त महानिरीक्षक (एआईजी) ले नेतृत्व गर्दै आएको यो कार्यालयको नेतृत्व पनि अब डीआईजीले नै गर्नेछन् ।

स्रोतका अनुसार नयाँ संरचनाअन्तर्गत सशस्त्र प्रहरीमा अब बाहिनी आठवटाका अलावा शिक्षालय पाँचवटा, गण ३६ वटा र गुल्म ७७ वटा हुने भएका छन् । अहिले २७ गण, २१ सीमा सुरक्षा कार्यालय र ३८ गुल्म छन् । नयाँ संरचनामा सीमा सुरक्षा कार्यालयलाई पनि अब गणमा रूपान्तरित गरिने भएको छ । सशस्त्रमा अहिले कतिपय जिल्लामा गण र सीमा सुरक्षा कार्यालय दुवै छन् । अब भने एउटै मात्र गण रहनेछ ।

स्रोतका अनुसार सशस्त्रले आगामी साउनदेखि सबै गण तथा गुल्मका नामसमेत परिवर्तन गर्ने भएको छ । सशस्त्रको अधिकांश गण र गुल्मको नाम प्रख्यात देवी देवताका नाममा रहेकोमा अब अंकका आधारमा राखिने भएको छ ।

जस्तो कि अहिले ३६ वटा गण प्रस्ताव गरिएकोमा ती गणको नाम १ देखि ३६ अंकसम्म रहनेछन् । ७७ वटा गुल्म प्रस्ताव गरिएकोमा १ देखि ७७ अंकसम्म रहनेछन् ।

गणमा यसअघि ७६१ जनाको जनशक्ति रहँदै आएकोमा अब घटाएर ६२१ मात्र राखिने भएको छ । सशस्त्र प्रहरीको कुल दरबन्दी ३७ हजार ११९ रहेकोमा अब बाहिनीमा ३३५, गुल्ममा १६० र शिक्षालयमा १७६ राखिने भएको छ । हाल बाहिनीमा १२५ जनाको दरबन्दी रहेको छ । गुल्ममा भने फरकफरक जनशक्ति रहँदै आएको छ ।

हाल सशस्त्र मुख्यालयमा ३ हजारभन्दा बढी जनशक्ति रहेकोमा त्यसलाई घटाएर १ हजार ५ सय जना मात्र राखिने भएको छ । यस्तै, प्रशिक्षण प्रतिष्ठानमा ६४९ र स्टाफ कलेजमा ९४ जनाको दरबन्दी कायम गरिएको छ ।

सरकारले सशस्त्र प्रहरी बलको हाल दरबन्दी कायम रहेका ६ वटा एआईजीको संख्या घटाएर दुईमा झार्ने निर्णय गरिसकेको छ । यसैगरी, १८ जना डीआईजी रहेकोमा १६ मा झारिएको छ । हाललाई एआईजीका तीनवटा दरबन्दी मानवस्रोत विभाग, कार्य तथा सीमा सुरक्षा विभाग र राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान कायम गरिएको छ । एआईजीको तीन दरबन्दीमध्ये जुनसुकै कारणवश एक दरबन्दी रिक्त भएमा खारेज गरिने उल्लेख छ ।

सशस्त्रको यो नयाँ संरचना कार्यान्वयनमा आएसँगै प्रदेशगत रूपमा सशस्त्र प्रहरीको परिचालन सन्तुलित र व्यवस्थित हुने प्रधान कार्यालयले जनाएको छ । साथै, गण र गुल्मको परिचालन पनि सहज हुनेछ । एकै तहका युनिटको नफ्रीमा एकरूपता आउने संगठनको विश्वास रहेको छ । यसका अलावा चेन अफ कमान्ड बलियो हुने, युनिट सरुवा र वृत्ति विकास प्रभावकारी र न्यायोचित हुने विश्वास संगठनको रहेको छ ।

सशस्त्रले सबै प्रदेशमा एफीएफ अस्पताल स्थापना गर्ने, प्रत्येक प्रदेशमा एक–एकवटा विशिष्टीकृत तालिम केन्द्र स्थापना गर्ने, खेलकुदलाई व्यवस्थित गर्न र खेलाडीलाई प्रोत्साहित गर्न खेलकुद गण स्थापना गर्ने लक्ष्य राखेको छ । यसका अतिरिक्त काठमाडौैैं उपत्यकामा महिलाको छुट्टै गुल्म स्थापना गरिने भएको छ ।

अब एसपी पावरफुल

सशस्त्र प्रहरी बलले गणको गणपतिमा एसपी खटाउँदै आएकोमा अब उसलाई विशेष अधिकार दिइएको छ । एसपीलाई गणमा खटिने इन्सपेक्टरभन्दा मुनिका प्रहरी कर्मचारीको सरुवा अधिकारसमेत दिइएको छ । साथै, इन्सपेक्टर र डीएसपीको खटनपटन पनि आगामी साउनदेखि एसपीबाटै हुने भएको छ । जस्तो कि, हालको स्थायी संरचना बीओपी रहेका ठाउँमा अब एसपीलाई इन्सपेक्टर पठाउने अधिकार दिइएको छ । हालसम्म सशस्त्र मुख्यालयले नै बीओपीमा इन्सपेक्टरको सरुवा गर्दै आएको छ ।

सशस्त्रमा अहिले जिल्लाभित्र सीमा सुरक्षा, भन्सार, औद्योगिक सुरक्षा कार्यालय रहेकोमा सबैको कमान्ड फरकफरक ढंगले चल्दै आएको छ । अब भने जिल्लामा एउटै कमान्ड चल्ने भएको छ ।

सरुवामा पनि सशस्त्रले नया मापदण्ड लागू गर्ने भएको छ । अब नेपाली सेनाको जस्तै सिंगो गण नै सरुवा हुनेछ । अब एकल सरुवा पनि नहुने भएको छ । जस्तो कि, अब सरुवा हुँदा एउटा गणका सबै सशस्त्र प्रहरी कर्मचारीको ३६ नम्बर गणभित्र जुनसुकै गणमा हुनेछ। राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१