युरोपेली मुलुक माल्टामा नेपाली कामदारको माग आयो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० असार २०७५, आईतवार ०५:३६

लन्डन ।  बेलायतको पूर्वउपनिवेश युरोपेली मुलुक माल्टामा नेपाली कामदारको माग बढ्दै गएको छ । वर्क परमिट लिएर काम गर्न यो वर्ष मात्र झन्डै ६ सय नेपाली त्यहाँ पुगेका छन् । विशेषगरी पर्यटन क्षेत्रमा नेपालीको माग बढी छ ।

क्लिनर, वेटर, अकाउन्टेन्ट क्लर्क र हाउस किपिङमा नेपाली संलग्न छन् । यिनीहरूको मासिक न्यूनतम कमाइ करिब ७ सय ३५ युरो छ ।

युरोपको मुख्य पर्यटकीय गन्तव्य माल्टामा नेपालीको माग बढिरहेको लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणले बताए । लन्डनस्थित नेपाली दूतावासले नै कामदार माग प्रमाणीकरण गर्छ । ‘हामीले गत माघमा मात्र ५ सय ५० जनाको प्रमाणीकरण गर्‍यौं । माल्टा जानेमा महिला–पुरुष बराबर छन्,’ आरणले कान्तिपुरसँग भने, ‘माल्टा अध्ययनका लागि होइन, काम गर्न उचित गन्तव्य बनेको छ ।’

नेपालबाट एजेन्टहरूले माल्टामा विद्यार्थीलाई राम्रो अवसर छ भनेर झुक्याए पनि यथार्थमा त्यस्तो नभएको दूतावासको भनाइ छ । नेपाली जाने क्रम बढेपछि नेपाल र माल्टाबीच श्रम सम्झौताका लागि गृहकार्य भइरहेको छ ।

बेलायत तथा गणतन्त्र माल्टाका लागि नवनियुक्त गैरआवासीय राजदूत डा। दुर्गाबहादुर सुवेदीले गत महिना माल्टाकी राष्ट्रपति मारिई लुइज कोलिरो प्रिकासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्ने क्रममा यसबारे कुरा उठाउँदा सकारात्मक जवाफ आएको आरणले बताए ।

माल्टामा नेपालीको कुल संख्या ८ सय ५० हाराहारी र अध्ययनका लागि ६० जति विद्यार्थी छन् । यसअघि विद्यार्थीलाई काम गर्ने अनुमति नभए पनि दूतावासको पहलपछि २० घण्टा प्रतिसाता काम गर्ने व्यवस्था भएको आरणले जनाए । इकान्तिपुरमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१