काठमाडौँ । सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलो सुन तस्करी सम्बन्धमा गृह मन्त्रालयअन्तर्गत गठन भएको छानविन समितिले काठमाडौँका तीन सुन पसलमा छापा मारेको छ ।
न्यूरोडस्थित राजेन्द्रकुमार शाक्यको आरके ज्वेलर्सका दुई पसल र दरबारमार्गस्थित आर के डायमन्डमा छापा मारिएको हो । सो क्रममा तीनवटै पसलमा रहेको हिरा, सुन, चाँदीलगायत सबै गरगहना छानबिन समितिले नियन्त्रणमा लिएको छ । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा सो छानबिन समिति गठन भएको थियो ।
उक्त पसलका मालिक शाक्य पक्राउ परी थुनामा रहेका छन् । सोही क्रममा अनुसन्धानमा थप प्रमाण जुटाउन भन्दै समितिले आज छापामारी गरगहना नियन्त्रणमा लिएको हो ।
संयोजक ईश्वरराज पौडेलको नेतृत्वमा गएको समितिको टोलीले सोमबार न्यूरोडको दुईटा र दरबारमार्गमा रहेको एउटा गरी आरकेका ३ वटा ज्वेलरी पसलमा छापा मारी ३० करोड बराबरको ज्वेलरीसहित सुन बरामद गरेको छानविनमा संलग्न एक अधिकारीले बताए। उनका अनुसार टोलीले तीन वटै ज्वेलरी पसलमा रहेको सुन जफत गरी शिलबन्दी समेत गरेको छ।
बरामद गरिएको सुनलाई थप अनुसन्धानका लागि विराटनगर पठाउने तयारी समितिले गरेको छ। साढें ३३ किलो सुन प्रकरणको छानविनका क्रममा आरके ज्वेलर्सका मालिक राजेन्द्र शाक्य यसअघि नै गिरफ्तारीमा परिसकेका छन्। सनम शाक्यको हत्या र चुणमणी उप्रेती ‘गोरे’ पक्राउपछि सुन तस्करी प्रकरणका रहस्यहरु क्रमश बाहिर आइरहेका छन्।
प्रतिक्रिया