ट्रम्प र किम वार्ता गर्ने ठाउँमा गोर्खाली सेनाको कडा सुरक्षा 

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ जेष्ठ २०७५, आईतवार १०:१६
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको बहुप्रतिक्षित वार्ता आगामी मंगलबार सिंगापुरमा हुने भएको छ । जून १२ मा स्थानीय समय अनुसार विहान ९ बजे दुई नेताबीच भेट हुने हृवाइट हाउसले बताएको छ ।

सिंगापुरमा भेटवार्ता गर्दा ट्रम्प र किमलाई सुरक्षा भने गोर्खा सैनिकले गर्ने भएका छन् । दुवै नेताले आ–आफ्ना सुरक्षाकर्मी ल्याउने भए पनि वार्तास्थल, सडक र होटलको सुरक्षा भने सिंगापुर प्रहरीको उत्कृष्ट गोर्खा दस्ताले गर्ने भएको हो ।यसअघि भारतीय प्रधानमन्त्रीका साथै क्षेत्रीय मन्त्रीहरु उपस्थित सुरक्षा सम्मेलनका क्रममा साग्रिला होटलको सुरक्षा गोर्खा सैनिकहरुले नै दिएका थिए ।

सिंगापुर प्रहरीमा भर्ती भएका गोर्खाहरुले रक्षा कवच, बेल्जियममा बनेको एफएन एससीएआर कम्ब्याट राइफल र पेस्तोलसहित सुरक्षा दिनेछन् । सबै अत्याधुनिक हतियारका बाबजुद गोर्खा सैनिकहरु खुकुरीलाई छाड्दैनन्, जुन उनीहरुको परम्परागत रोजाईको हतियार हो । उनीहरुको मान्यताअनुसार खुकुरीलाई प्रत्येकपल्ट म्यानबाट निकालेपछि यसले रगत बगाउनै पर्छ ।

‘उनीहरु सिंगापुरले उपलब्ध गराउन सक्ने सबैभन्दा उत्कृष्ट सुरक्षाकर्मी हुन् र उनीहरु सम्मेलनमा सहभागी हुनेमा म निश्चित छु’ इन्टरनेसनल इन्ष्टिच्युट फर स्ट्राटेजिक स्टडिज (आईआईएसएस) सिंगापुरको सुरक्षा बल विज्ञ टिम हक्सलीले रोयटर्ससँग भने ।

उनले अघि भने, ‘उनीहरु धेरै मजबुत अग्रपङ्तिको फौजको रुपमा चिनिन्छन् र यस्तो खालको कार्यक्रमहरुको व्यवस्थापन गर्न गोर्खाहरुले विशेष रुपमा तालिम पाएका हुन्छन् ।’

सिंगापुर प्रहरीका प्रवक्ताले कति सङ्ख्यामा गोर्खाहरु खटाइनेछन् भन्ने बारेमा भने प्रतिक्रिया दिन चाहेनन् । आईआईएसएस मिलिटरी ब्यालेन्सका अनुसार ६ प्यारामिलिटरी कम्पनीमा गरी १८०० गोर्खाहरु सिंगापुर प्रहरीमा कार्यरत रहेका छन् ।

ब्रिटिस औपनिवेशिक कालको इतिहास र हालको सिंगापुरको व्यवहारिक नेतृत्वको एक हिस्साको रुपमा रहेका गोर्खाहरु बेलायती परम्परासँग जोडिएका छन् । जसअनुसार नेपाली सैनिकहरुलाई दुई सय वर्षदेखि विशेष फौजको रुपमा भर्ती गरिएको छ ।

१९ औं शताब्दीको नेपाल–अङ्ग्रेज युद्धमा बेलायती सेना धेरै ठाउँमा नेपाली सैनिकहरुबाट पराजित भएको थियो । उनीहरुको वीरता र युद्धकौशलबाट प्रभावित भएपछि औपनिवेशिक बेलायतीहरुले उनीहरुलाई आफ्नो सेनामा भर्ती गराउन थाले ।

अहिले गोर्खा सैनिकहरु नेपाल, भारत, बेलायती सेनाको साथै सिंगापुर र ब्रुनाइमा समेत कार्यरत छन् । गोर्खा सैनिकले दुवै विश्वयुद्ध, फकल्याण्ड युद्धको साथै हालसालै अफगानिस्तानमा समेत लडाईमा भाग लिएका छन् ।

आईआईएसएसका सिंगापुरको सुरक्षा बल विज्ञ हक्सलीले भन्छन्, ‘गोर्खाहरु सिंगापुरको नेतृत्वको विशेष सम्पती हुन्, जसले जातीय विविधता भएको शहरी राज्यमा तटस्थ फौजको रुपमा भीआईपी र दंगा नियन्त्रण सुरक्षामा विशेष योगदान दिएका छन् ।’

क्षेत्रीय तनावको समयमा उनीहरुले अन्तर्राष्ट्रिय विद्यालयहरुको सुरक्षा दिनुका साथै कहिलेकाहीँ मलेसिया र सिंगापुरको सीमा नाकामा पनि उनीहरु तैनाथ गरिन्छन् ।

उनीहरु आफ्नो परिवारको साथमा शहरबाहिर सुरक्षित माउन्ट भर्नोन क्याम्पमा बसोबास गर्ने गर्छन्, जहाँ सिंगापुरका अन्य नागरीक प्रवेश गर्न पाउँदैनन् ।विशेषगरी १८ र १९ को उमेरका युवाहरु नेपालमै छानिएर भर्ती भएपछि तालिमको लागि सिंगापुर आउँछन् ।

तालिमपछि सिंगापुर प्रहरीको रुपमा कार्यरत हुने उनीहरुले ४५ वर्षको उमेरमा अवकाश पाउँछन् । उनीहरुका बालबच्चाहरु स्थानीय विद्यालयमा पढ्ने गर्छन् । तर, गोर्खा सैनिकहरुले स्थानीय महिलाहरुलाई विवाह गर्न पाउँदैनन् ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१