सरकारी असफलताको नमुना, फेरि विद्यार्थी भर्ना अभियान शुरू

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ जेष्ठ २०७५, बुधबार ०५:१०

काठमाडौं । पहिलो चरणको भर्ना अभियानमा उल्लेख्य सफलता हासिल गर्न नसकेको सरकारले दोस्रो चरणको भर्ना अभियान शुरू गरेको छ।

सरकारले दोस्रो चरणको कार्यक्रम भने सघन हुने दाबी गरेको छ। भर्ना अभियानअन्तर्गत प्रत्येक घरमा घरधुरी सर्वेक्षण गरी पहिलो चरणको भर्ना अभियानमा छुटेका बालबालिकालाई अनिवार्यरूपमा विद्यालय ल्याउने कार्यक्रम गर्ने जनाएको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले दोस्रो चरणको भर्ना अभियान शुरू गर्ने घोषणा गरेसँगै यो अभियानले पुनः चर्चा पाएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पहिलो चरणको भर्ना अभियानबाट विद्यालय भित्त्याउन नसकिएका ५९ हजार ७ सय ३३ बालबालिकालाई लक्षित गरी नयाँ कार्यक्रम शुरू गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेलगत्तै बसेको बैठकले सो प्रस्ताव स्वीकृत गरेको थियो।

उक्त अभियानअन्तर्गत कुनै पनि बालबालिका विद्यालयबाहिर नरहेको घोषणा गर्ने, सबै प्रदेशका सामाजिक विकासमन्त्री र जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ प्रमुखहरूको बैठक राखेर बालबालिकालाई भर्ना गराउने योजना सरकारले अघि सारेको छ।

सरकारले हालै सार्वजनिक गरेको बजेटमा पनि विद्यालय ल्याऔं, टिकाऔं र सिकाऔं अभियान सञ्चालन गर्ने उल्लेख गरेको छ। उक्त अभियानलाई सफल बनाउन दोस्रो चरणको भर्ना अभियान सञ्चालन गर्न लागिएको हो।

विद्यालयबाहिर रहेका ३ लाख १३ हजार २ सय ९८ मध्ये पहिलो चरणको भर्ना अभियानको क्रममा २ लाख ५६ हजार ५ सय ५६ विद्यार्थी विद्यालय भित्रिएको शिक्षा मन्त्रालयको तथ्यांकले देखाएको छ। पहिलो चरणको भर्ना अभियानअन्तर्गत ५ देखि ९ वर्ष उमेर समूहका कक्षा १ देखि ५ सम्म ८८ हजार २ सय ७ मध्ये ७६ हजार ६ सय ५७ र ५ देखि १२ वर्ष उमेर समूहका कक्षा १ देखि ८ सम्म ३ लाख १३ हजार २ सय ८९ मध्ये २ लाख ५३ हजार ५ सय ५६ बालबालिका मात्रै विद्यालयमा भर्ना भएका थिए।

पछिल्लो तथ्यांकअनुसार भर्ना अभियानका क्रममा प्रदेश १ मा विद्यालयबाहिर रहेका १ लाख ७२ हजार ८ सय ७४ मध्ये अभियान सकिएपछि पनि ३३ हजार ९ सय ९५ बालबालिका अझै विद्यालयबाहिर रहेका छन्।

विभागका अनुसार प्रदेश २ मा १ लाख ८ सय ६४ मध्ये २४ हजार ३ सय २६, प्रदेश ३ मा २६ हजार ७ सय २६ मध्ये ५ हजार ७ सय ७२, प्रदेश ४ मा ११ हजार ५ सय ४५ मध्य २ हजार ५ सय ४४, प्रदेश ५ मा ५३ हजार ५ सय ६६ मध्ये १३ हजार २ सय १५, प्रदेश ६ मा १० हजार ८ सय ९२ मध्ये २ हजार ३ सय ९७ र प्रदेश ७ मा १५ हजार ९ सय ६८ मध्ये ३ हजार ५ सय ५८ जना बालबालिका विद्यालयबाहिर छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१