बाँकेमा बाढीग्रस्त क्षेत्रका बासिन्दा भाइरल ज्वरो र रुघाखोकीको उच्च जोखिममा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ भाद्र २०७१, सोमबार १६:४१

काशीराम शर्मा

बाँके, २ भदौं । निरन्तरको वर्षाले बाढीग्रस्त क्षेत्रका बासिन्दाहरु भाइरल ज्वरो र रुघाखोकीको उच्च जोखिममा रहेका छन् । त्यसमा पनि सबैभन्दा धेरै बालबालिकाहरु जोखिममा परेका छन् । बाँकेको बाढी प्रभावित क्षेत्र कम्दी, फत्तेपुर, बेतहानी र होलिया गाविसको अध्ययनका क्रममा स्थानीय प्रशासनले राहतस्वरुप भुजा, चाउचाउ वितरण गरे पनि सुरक्षित बासस्थानको व्यवस्था नगर्दा पानी र हिलोका कारण स्थानीय नागरिकहरु बिरामी हुने क्रम बढेको छ ।
गर्मी बढेसँगै बाँकेमा भाइरल ज्वरो र रुघाखोकीका बिरामीहरुको संख्या बढ्न थालेको छ । बाढीका कारण डुवान भएलगत्तै बाँकेका नीजि तथा सरकारी अस्पतालहरुमा भाइरल ज्वरो र रुघाखोकीका बिरामीको संख्या बढ्न थालेको डाक्टरहरुले बताएका छन् । उच्च ज्वरो, रुघाखोकी, घाटी दुख्ने, खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने र सिगान निस्कने लक्षण देखिनेहरु उनीहरुले बताएका छन् ।download (4)
नेपाल हेल्पलाइन फाउन्डेसनले शनिबार कम्दीमा बाढी प्रभावित ६२ परिवारको स्वास्थ्य परीक्षण गर्दा ९० प्रतिशत बालबालिकामा ज्वरो, रुघाखोकी र पेट दुख्ने समस्या बढी देखिएको उपचारमा संलग्न सिएमए सहबुद्दिन खानले बताए । स्वास्थ्य सावधानी र सरसफाइमा ध्यान दिनुका साथै लगातार ज्वरो आएमा तुरुन्त स्वास्थ्य संस्थामा लैजान चिकित्सकले पीडितलाई सुझाव दिए पनि सरकारी हेल्थ पोस्टसमेत डुबानमा परेकाले उपचारमा समस्या भएको छ ।
यता पीडितको उपचारका लागि सरकारले कुनै कदम नचालेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका फुलाराम थारूले बताए । थारूका अनुसार राप्तीपारिको फत्तेपुर, गङ्गापुर, मटेहिया, बेतहानी, होलिया, कम्दीलगायत सात गाविस पूर्ण रूपमा प्रभावित भएका छन् । यस्तै बाढी प्रभावित क्षेत्र राप्तीको मूल सडक राप्ती नदीले बगाएपछि आवतजावत गर्न समस्या भएको छ ।
स्थानीयस्तरमा रहेका हेल्थपोस्ट डुबानमा छन् भने निजी क्लिनिक बन्द रहेकाले उपचारबाट बाढीपीडित वञ्चित बनेका छन् । डुवानपछि दुषित पानी र खानपिनमा उचित ध्यान नपु¥याउँदा भाइरल ज्वरो र रुघाखोकीको उच्च जोखिम रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकका बरिष्ठ जनस्वास्थ्य प्रशासक जीवनकुमार मल्लले बताए ।
उनका अनुसार अहिले बाढी प्रभावित क्षेत्रमा भाइरल ज्वरो र रुघाखोकी देखिन सक्ने भएकाले स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा राखिएको छ । ‘बाढी प्रभावित क्षेत्रमा भाइरल ज्वरो र रुघाखोकी फैलन नदिन उच्च सतर्कता अपनाएका छौं । त्यसका लागि स्वास्थ्यकर्मीहरुलाई पनि तयारी अवस्थामा राखेका छौं,’ उनले भने ।
भाइरल ज्वरो तीनदेखि पा“च दिनसम्म आफैं निको हुने मान्यता रहे पनि हाल सात दिनभन्दा पनि बढी समय लिइरहेको समेत डाक्टरहरु बताउँछन् । डुवानपछिको दुषित पानी प्रयोग, असावधानी र ज्वरोसमेत तत्कालै सर्ने भएकाले बाढी प्रभावित क्षेत्रमा भाइरल ज्वरो र रुघाखोकी फैलन नदिन सर्वसाधारणहरुलाई समेत सर्तक रहन जिल्ला जनस्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।
स्वासप्रश्वासबाट एकअर्कामा सर्ने भएकाले यसबाट बच्न सरसफाईमा ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ । धेरैजसो भाइरल ज्वरो र रुघाखोकीबाट प्रभावितहरुले आफैं औषधि पसलेको सल्लाहमा एन्टिबायोटिक औषधि खाने गरेकोले त्यसो नगर्न आग्रह गर्दै बरिष्ठ जनस्वास्थ्य प्रशासक मल्लले भाइरल ज्वरोमा चिकित्सकको सल्लाह लिएर मात्र औषधि सेवन गर्नुपर्ने बताए ।

प्रतिक्रिया