३० लाख पारिश्रमिक लिएर ‘ए मेरो हजुर ३’मा नायिका झरना थापाकी छोरी सुहानीसँग रोमान्स गर्दै अनमोल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ जेष्ठ २०७५, मंगलवार ०५:५२

चलचित्र ‘क्याप्टेन’को छायांकनमा व्यस्त नायक अनमोल केसीले नयाँ चलचित्र साइन गरेका छन् । नायिका झरना थापाले निर्देशन गर्न लागेको दोश्रो चलचित्र ‘ए मेरो हजुर ३’मा अनमोलले काम गर्ने पक्का भएको छ । आजमात्र यसको निर्माणपक्षले अनमोलसँग लिखित संझौता गरेको हो ।

अनमोल आफ्नो छैठौं फिल्म ‘क्याप्टेन’ को छायांकन सकाएपछि भदौबाट ‘ए मेरो हजुर ३’ का लागि समय दिनेछन् । ३० लाख बढी पारिश्रमिकमा उनलाई यो फिल्ममा अनुवन्धित गरेको खबर प्राप्त छ ।

लभस्टोरी जनरामा निर्माण हुने यस फिल्मलाई फेरि झरनाले नै निर्देशन गर्नेछिन् । अहिले फिल्मका लागि गीतसंगीत तयार पार्ने काम भइरहेको छ । यसअघि ‘ए मेरो हजुर २’ अनमोलले नै काम गर्ने कुरा थियो तर पछि विभिन्न कारणले सम्भव भएन ।

‘क्याप्टेन’ रिलिजको ६ महिनापछि मात्र ‘ए मेरो हजुर ३’ प्रदर्शन गर्ने सर्तमा अनमोलले यो फिल्म साइन गरेका हुन् । हरेक नयाँ फिल्ममा नयाँ नायिकासँग रोमान्स गर्दै आइरहेका उनको यस फिल्ममा भने झरनाकी छोरी सुहानासँग जोडी कसिएको छ ।

सुहानी नायिका झरना थापाकी छोरी हुन् । जसले, चलचित्रमा डेब्यूका लागि उपयुक्त समय पर्खिरहेकी थिइन् । उनै, सुहानीले अब अनमोलको जोडीको रुपमा होम प्रोडक्शनको चलचित्रमा काम गर्नेछिन् ।

चलचित्रलाई संजय लामाले खिच्नेछन् । भदौबाट चलचित्रको छायांकन सुरु हुने निर्देशक थापाले जानकारी दिइन् । चलचित्रको अहिले संगीत तयार पार्ने काम पनि भैरहेको छ । लभस्टोरी कथामा बन्ने चलचित्रमा नायक अनमोल केसीले काम गर्ने भएसँगै दर्शकमा उत्साह पक्कै हुनेछ । चलचित्र क्षेत्रमै लामो समय बिताएका नायक भूवन केसीका छोरा अनमोल केसी र नायिका झरना थापाकी छोरी सुहानी थापाको जोडीले चलचित्र क्षेत्रमा चर्चा पाउने पक्का छ ।

गएको वर्ष प्रदर्शनमा आएको बल्कबस्टर फिल्म ‘ए मेरो हजुर २’ का लागि अभिनेता सलिनमान बनियाँ र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पहिलो रोजाईमा थिएनन् । यी दुईभन्दा अगाडि यो फिल्मको अफर अनमोल केसीसमक्ष पुगेको थियो ।

अनमोलले स्क्रिप्ट सुनेपछि फिल्म गर्ने मौखिक जानकारी दिए तर पछि विभिन्न कारणले उनी यो फिल्मको हिस्सा बन्न सकेनन् । अनमोलको यस्तो व्यवहारले झरना निकै दुखी भईन् । यसपछि अनमोल र झरनाको सम्बन्ध पूरै चिसिएको थियो ।

‘ए मेरो हजुर २’ हिट भएपछि यस फिल्मका निर्माता तथा झरनाका श्रीमान सुनिल कुमार थापा र वितरक मनोज राठीले घरमै पुगेर ‘ए मेरो हजुर ३’ का लागि अनमोललाई ५० लाख पारिश्रमिकको अफर गरे । यो खबर भुवन केसीले मिडियामा बताइसकेका छन् ।

 गोप्य कुरा मिडियामा फैलाएको भन्दै भुवनसँग सुनिल रुष्ट भए । मिडियामा झरना र सुनिलले अनमोललाई ५० लाख अफर गर्दै नगरेको स्पष्टिकरण दिँदै हिँडे ।

यसैबीच गएको शुक्रवार राजधानीमा सम्पन्न ‘दशौं डी सिने अवार्ड’ मा झरनाले ‘ए मेरो हजुर २’ बाट उत्कृष्ट नव-निर्देशकको अवार्ड घर लैजाँदा अनमोलले ‘कृ’ बाट उत्कृष्ट अभिनेताको अवार्ड चुमे ।

झरना र अनमोलले अवार्ड कार्यक्रम सकिएपछि निर्धक्क एकअर्कासँग मिडियामा फोटो खिचाएका थिए । यसपछि यी दुईको सम्बन्ध सुध्रिएको अनुमान गरिएको थियो । अन्ततः अवार्ड सकिएको दुई दिन नवित्दै अनमोलले झरना थापाले निर्देशन गर्ने फिल्म ‘ए मेरो हजुर ३’ साइन गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१