४३ देशका ५ सय जना सर्वोच्च शिखरमा, आरोहण प्रतिस्पर्धामा चीन र भारत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ जेष्ठ २०७५, सोमबार ०६:०५

काठमाडौं । सर्वोच्च शिखर सगरमाथामा यो वर्ष ४३ देशका करिब ५ सय नागरिक पुगेका छन् । यो वर्षको सगरमाथा आरोहणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन विभागबाट अनुमति लिने ३४६ टोली, आरोहीका हाई अल्टिच्यूट वर्कस नामक सहयोगी, गाईडसहित करिब ८००  जना  शिखरतर्फ लागेकोमा ५ सय जनाले शिखर चुमेको पर्यटन मन्त्रालयबाट खटिएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले दिएको जानकारी अनुसार अनुसार यो वर्षको सिजनको आरोहण सुरु भएको करिब दुई सातामा सबैजसो आरोही शिखर चुमेर धमाधम फर्कन थालिसकेका छन् ।मौसम अनुकुल भएकोले अहिलेसम्ममा अधिकांश आरोहीले शिखर चुम्न सफल भइसकेको उनले जानकारी दिए। यो वर्ष पर्यटन मन्त्रालयबाट अनुमति लिने २८६ पुरुष र ६० जना महिला गरी ३४६ जना छन् ।
यसमध्ये २० जना नेपाली रहेका छन् । पर्यटन विभागका अनुसार बुधबार विहानसम्म भएको सगरमाथा आरोहणमा पाँच जना महिला पत्रकारले पनि सफल आरोहण गरेको उल्लेख छ ।

गतवर्ष सन् २०१७ मा ३ सय ६७ जनाले आरोहण अनुमति लिएकामा १ सय ७३ जनाले सगरमाथाको सफल आरोहण गरेका थिए । गत वर्षको तुलनामा यो वर्ष अनुमति लिने आरोहीको र आरोहण गर्नेको संख्या बढेको उल्लेख छ ।

आरोहणमा अमेरिका अगाडि
यो वर्ष सगरमाथा आरोहण गर्ने सूचीमा सबैभन्दा बढी अमेरिकी नागरिक हुने भएका छन् । कुल ४३ देशका आरोहीमध्ये अमेरिकाका ५५ जना पुरुष र नौ महिलासहित जम्मा ६४ जनाले अनुमति लिएका थिए ।

यस मध्ये अघिकांशले आरोहण गरिसकेका छन् । यो वर्ष आरोहण गर्न जानेमा भारतबाट ५९ जना र चीनबाट ५४ जना रहेको पर्यटन विभागका प्रवक्ता रामप्रसाद सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार वर्षेनी आरोहण प्रतिस्पर्धामा भारत र चीन नै बढी हुने गरेको छ, नयाँ कीतिमान भएन । यो वर्ष आरोहणमा कुनै आराहीले उल्लेख्य हुने गरी कुनै कीर्तिमान कायम गर्न नसकेको प्रवक्ता सापकोटाले बताए ।

अघिल्ला बर्ष आरोहणमा जानेले कुनै न कुनै कीर्तिमान घोषणा गरेर जाने गरेका थिए । आरोहणबाट कीर्तिमान कायम गरेको घोषणा गर्दै विभाग आउने गरेकामा यो वर्ष भने सरकारले कार्याविधिमार्फत कडाई गरेको र सगरमाथा आरोहण र यस सम्बन्धि बाहेकको कीर्तिमान मान्य नहुने भनेको थियो । आरोहणमा जानु अघि लिइने ब्रिफिङमा पनि कसैले पनि कुनै प्रकारको कीर्तिमान उल्लेख नगरेको सापकोटाले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१