सुन तस्करीको अाराेपी डीआईजीसहित ११ जनामाथि भ्रष्टाचारको छानबिन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ बैशाख २०७५, शनिबार ०५:३९

काठमाडौं।  साढे ३३ केजी सुन तस्करीमा मुछिएका डीआईजी गोविन्दप्रसाद निरौलासहित ११ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा छानबिन कारवाही अघि बढाउने भएको छ। जिल्ला सरकारी वकीलको कार्यालयले यी अभियुक्तमाथि भ्रष्टाचारमा समेत छानबिन हुनुपर्ने देखिएको भन्दै अदालतमा माग गरेपछि अख्तियारले छानबिन गर्ने भएको हो। सुन तस्करीमा मुछिएका डीआईजी गोविन्दप्रसाद निरौला, एसएसपी श्यामबहादुर खत्री, एसपी विकासराज खनाल, डीएसपी सञ्जयबहादुर राउत, सइ बालकृष्ण सञ्जेल, जवान विष्णु खड्का, हवल्दार अमर भन्ने अम्बरबहादुर थापा मगर, नेपाल वायु सेवा निगमका कर्मचारी राजु महर्जन, राजन थापा, तुलाराम थापा र अमरमान डंगोलमाथि भ्रष्टाचारमा छानबिन कारवाही अघि बढाउने तयारी अख्तियारले गरेको छ। अख्तियारका प्रवक्ता दीर्घराज मैनालीका अनुसार उनीहरू राष्ट्रसेवक भएको र निजी लाभको आरोप लागेकाले भ्रष्टाचार निवारण ऐन अनुरूप छानबिन कारवाही अघि बढाइने छ। जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता पूण्यप्रसाद पाठकले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५९ बमोजिम अनुसन्धान हुनुपर्ने भन्दै मिसिल अख्तियारमा पठाउन अदालतसमक्ष माग गरेका हुन्। उक्त दफा अनुसार कुनै राष्ट्रसेवक वा अन्य व्यक्तिले सरकार वा सार्वजनिक संस्थालाई गैरकानुनी हानी नोक्सानी पुर्‍याए अर्को मुद्दा चलेको भए पनि भ्रष्टाचार मुद्दासमेत चलाएर असुलउपर गर्न सकिने व्यवस्था छ। त्यसैका आधारमा अख्तियारले अदालतका मिसिल खिचेर छानबिन गर्ने भएको हो। छानबिनका लागि अख्तियारले अभियुक्तको कलडिटेल्स, आपराधिक व्यक्तिसँगको साँठगाँठ, परिवारको जायजेथा, बैंक खाता, जीवनस्तर, तीनपुस्ते पैतृक सम्पत्ति, नोकरीमा प्रवेश हुनुअघिको र पछिको सम्पत्ति, सवारी साधनलगायत विलासिताका सामग्रीलगायत सबै विवरण खिचेर मूल्यांकन गर्ने भएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१