केरुङ–काठमाडौँ रेलमार्गको अध्ययन गर्न चिनियाँ टोलि नेपाल आउदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ बैशाख २०७५, आईतवार ०४:३९

काठमाडौँ । केरुङ–काठमाडौँ रेलमार्गको अध्ययन गर्न चिनियाँ रेल प्रशासनका उच्च अधिकारी काठमाडौँ आउने भएका छन् ।रेलमार्गको विषयमा सहमति जुटाउन चीन पुगेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसूदन अधिकारी र रेल विभागका महानिर्देशक अनन्त आचार्यसहितको टोलीसँग भएको सहमतिअनुसार चिनियाँ अधिकारी आगामी दुई साताभित्र नेपाल आउने तयारी गरेका छन् । चिनियाँ रेल प्रशासनका उपप्रमुख जेङ जियान नेतृत्वको टोली रेलमार्ग अध्ययनका लागि यहाँ आउन लागेको हो ।

आगामी अगष्टसम्म केरुङ–काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाउने तयारी गरिएको छ ।

हालका सभामुख एवं तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले २०७४ सालको भदौ अन्तिम साता गर्नुभएको चीन भ्रमणका क्रममा नेपालमा रेलमार्ग विस्तारबारे सघन पहल गर्नुभएको थियो । चिनियाँ प्रधानमन्त्री लि खछ्याङ र विदेशमन्त्री वाङ यीलगायतका नेतासँग रेलमार्ग निर्माणका बारेमा छलफल गर्नुभएको थियो ।

सो छलफललगत्तै चिनियाँ रेल प्रशासनका उच्च टोलीले केरुङ– काठमाडौँ, काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको थियो । अध्ययनपश्चात् नेपालमा रेलमार्ग निर्माण गर्न सकिने प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको थियो ।

नेपाली सीमा रसुवागढीदेखि काठमाडौँसम्मको रेलमार्ग करीब एक सय किलोमिटर लामो हुनेछ । करीब एक घण्टाको यात्रामा रसुवागढीबाट काठमाडौँ आइपुगिने प्रारम्भिक अध्ययनमा देखिएको छ । सो रेलमार्गबारे अध्ययन गर्न नेपाली प्रतिनिधिमण्डल यही वैशाख १५ गते चीन प्रस्थान गरेको थियो ।

नेपाल र चीनलाई जोड्ने सो रेल चीनको लाह्सा–सिगात्से हुँदै केरुङबाट रसुवागढी नाका भएर नेपाल प्रवेश गर्नेछ । सोही रेलमार्ग काठमाडौँबाट कुरिनटार हुँदै एउटा लाइन पोखरा जानेछ भने अर्को लाइन लुम्बिनी जाने गरी प्रारम्भिक अध्ययन गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१