नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनीविरुद्ध १० आरोप

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ बैशाख २०७५, शनिबार १७:२२

काठमाडौं । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गर्न टेलिकम सञ्चालक समितिले सरकारलाई सिफारिस गरेको छ । सञ्चालक समितिको हालै बसेको बैठकले नियतबस नै कामिनीले नेपाल टेलिकम धराशायी पारेको निकर्ष निकाल्दै यस्तो सिफारिस गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओली र सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले कामिनीकै कारण नेपाल टेलिकमले अबौैं व्यापार गुमाएको र फोरजीलगायत सेवामा जानेरै ढिलासुस्ती गरिदिँदा बजार निजी कम्पनीले ओगटेको निष्कर्ष निकालेपछि सञ्चालक समितिले कामिनी हटाउने प्रक्रिया अगाडि बढाएको हो । सञ्चालक समितिको यस्तो निर्णयपछि प्रबन्ध निर्देशक राजभण्डारी विदा लिएर कार्यालय जान छाडिसकेकी छन् । टेलिकमको निर्देशिकाअनुसार सञ्चालक समितिले प्रबन्ध निर्देशकको कार्यसम्पादन गरी बर्खास्त गर्नेसम्मको सिफारिस गर्न सक्छ । वैशाख २० मा बसेको सञ्चालक समितिको बैठकले यस्तो सिफारिस गरेको हो । कामिनीविरुद्ध १० आरोप

आरोप १.
कामिनी प्रबन्ध निर्देशक भएर नेपाल टेलिकममा काम थालेयता एनसेलको व्यापारले आकाश छुन थालेको छ । नेपाल टेलिकमले भने एनसेललाई सजिलो हुने गरी आफ्नो व्यापार खुम्च्याउँदै लगेको छ । कतिसम्म भने एनसेलभन्दा पहिले नेपाल टेलिकमले फोरजी सेवा सुरु गरेको थियो । तर टेलिकमले बिना कुनै कारण व्यापार विस्तार गरेन । अहिले एनसेलले फोरजी सेवा यति धेरै विस्तार गरिकेको छ कि नेपाल टेलिकमलाई उसको बजारमा प्रवेश गर्नै धौधौ भइसकेको छ । केही समय अगाडि नेपाल टेलिकमका पदाधिकारीलाई बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले फोरजी सेवा जानेरै ढिला गरिएको भन्दै टेलिकमको ‘ इन्जिन’ नै फेरिदिने चेतावनी दिएका थिए ।
आरोप २.
कामिनी प्रबन्ध निर्देशक भएर आएपछि अन्तर्राष्ट्रिय कलबाट हुने आम्दानी पनि घटाइदिइन् भन्ने आरोप छ । नेपाल टेलिकम स्रोतका अनुसार कामिनीविरुद्ध लागेको आरोप र वास्तविकतामा मेल पनि खाएको छ । अन्तर्राष्ट्रिय कलबाट नेपाल टेलिकमले ३ अर्ब आम्दानी गुमाउन थालेको छ ।

आरोप ३.
ग्रामिण दूरसञ्चार कोषको ४ अर्ब ८८ करोड लागतको अप्टिकल फाइबर विछ्याउने काममा कुनै प्रगति भएको छैन । ढिलासुस्ती कै कारण टेलिकमले जिम्मा लिएको अप्टिकल फाइबर विच्छ्याउने काम अलपत्र छ । जबकी यो काम समयै सकिँदा पूर्वाधार विकासमा ठूलो उपलब्धी हुन सक्थ्यो ।

आरोप ४.
तराईमा आधा जनसंख्या बस्छ । व्यापार पनि उल्लेख्य हुने क्षेत्र तराई पनि हो । तर नेपाल टेलिकमको निरिहताले तराईको व्यापार ३० प्रतिशतमा खुम्चेको छ । ७० प्रतिशत बजार एनसेलको जिम्मा लगाएर नेपाल टेलिकमका सयौं कर्मचारी, साधन स्रोत झारा टार्ने स्थितिमा छन् । निजी कम्पनीलाई फाइदा पुग्ने गरी नै प्रबन्ध निर्देशकले कामहरु अगाडि बढाउने र टेलिकमलाई फाइदा हुने फाइलहरु महिनौंसम्म अड्काउने गरेको टेलिकमकै कर्मचारीहरु बताउँछन् ।

आरोप ५.
नेपाल टेलिकमको आम्दानीको महत्वपूर्र्ण स्रोत एडिएसएल पनि हो । तर पछिल्लो समय एडिएसएलको आय पनि घटेको छ । आम्दानी बढाउने कुनै कार्यक्रम पनि टेलिकमसँग छैन । ‘आम्दानी बढाउनु पर्छ भन्ने सोचसम्म पनि प्रबन्ध निर्देशकमा देखिएन’, टेलिकमकै एक कर्मचारीले बताए ।

आरोप ६.
नेपाल टेलिकमले बिक्री गर्ने जति पनि सेवाहरु छन्, लगभग ती सबैमा आम्दानी कम हुँदै गएको छ ।

आरोप ७.
डाटा बिक्रीबाट पनि नेपाल टेलिकमले खास आम्दानी गर्न सकेको छैन । अर्थात आय निरन्तर ओरालो झरिरहेकोछ । प्रतिस्पर्धी एनसेल डाटा बेचेरै मालामाल भइरहेको छ । नेपाल टेलिकमको डाटा अफरहरु सस्ता र आकर्षक छन् । तर एनसेलकै शैलीमा प्रचार गर्दा एनसेललाई गाह्रो पर्ला भनेर सामान्य प्रयोगकर्ताले थाहा नपाउने गरी प्रचार गर्ने नीति प्रबन्ध निर्देशक राजभण्डारीले लिएको बताइन्छ ।

आरोप ८.
प्रबन्ध निर्देशकले ५० करोडसम्मको कारोबार सञ्चालन गर्न पाउने नियमावली छ । तर यस्ता विषयमा निर्णयका लागि पुगेका फाइलहरु बिना मतलव उनले महिनौंसम्म अड्काउने गर्छिन् । टेलिकम स्रोत भन्छ, ‘आफ्नो भाग सुनिश्चित भयो भने भोलिपल्टै फाइल अगाडि बढ्छ । कुरा मिलेन भने महिनौं थन्किन्छन् ।’

आरोप ९.
नेपाल टेलिकमको आन्तरिक लेखा परीक्षणमा पनि आम्दानी निरन्तर घट्दै गएको देखिन थालेको छ ।

आरोप १०.
प्रबन्ध निर्देशक राजभण्डारी आफैं संस्थागत भ्रष्टाचारमा लिप्त भएको आरोप छ । चाहिएको छ, कुलमान जस्तो तर कामिनी जस्तै ल्याउन चलखेल

नेपाल टेलिकमबाट प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई हटाउने प्रक्रिया सुरु भएसँगै दलालहरु प्रबन्ध निर्देशकमा कामिनीजस्तै असक्षम वा भ्रष्टलाई नियुक्त गर्ने चलखेलमा लागेका छन् । सामान्यतः टेलिकमको प्रबन्ध निर्देशक हुन लाग्ने खर्चको प्रायोजन एनसेलले गरिदिने गर्छ । स्रोतका अनुसार कामिनीका लागि एनसेलले सात करोड प्रायोजन गरिदिएको थियो । कामिनी जस्तै असक्षम प्रबन्ध पुनः नियुक्त गर्न सक्दा निजी कम्पनीको व्यापारमा प्रतिस्पर्धा नहुने ठहर दलालहरुको छ ।
दलालहरुबाट जोगिन सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले विभिन्न उपायहरु चाहिँ अवलम्वन गर्दै आएका छन् । उनले आफ्नो कार्यालयमा दलालहरुलाई भेट नै दिएका छैनन् । निजी टेलिकम सञ्चालकसमेत रहेका अजयराज सुमार्गीले समेत सञ्चारमन्त्री बास्कोटासँग भेट गर्न नपाएको चर्चा बजारमा छ ।
तर नेपाल टेलिकमलाई जनकपुर चुरोट कारखाना हुनबाट जोगाउन कुलमान घिसिङ जस्तै प्रबन्ध निर्देशक चाहिएको छ । सक्षम र इमान्दार प्रबन्ध निर्देशक खोज्न वर्तमान सरकारले सक्ला वा नसक्ला यसै भन्न सकिन्न । तर टेलिकम जोगाउने हो भने पैसा लिएर होइन राम्रो सेवा सुविधा दिएर सक्षम नेतृत्व सरकारले छान्न सक्नु पर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१