रिसको ब्यवस्थापन यसरी गरौ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ बैशाख २०७५, शनिबार ०५:३६

काठमाडौं । रिस एक नकारात्मक मनोभावना हो । रिसको बाहरी तथा व्यवहारिकरुप भनेको कसैमाथि हमला वा आक्रमण गर्नु हो । रिसलाई सोझै देख्न सकिंदैन । तर, रिसाएको छभने थाहा हुन्छ । कुनै मानिस रिसाएको छ भन्ने कुरा उसको आक्रामक व्यवहारबाट थाहा हुन्छ । रिस मुलतः एउटै भए पनि यसका अनेकौ रुप छन् । दुख, द्वेष ईत्यादि रिसका बिभिन्न रुप छन् । रिसको प्रदर्शन तुरुन्त हुन न सकेमा यो दुख, द्वेषको रुपमा रहिरहन्छ र व्यक्ति मानसिक एवं शारीरिक रुपले रोगि हुन जान्छ ।

अधिकाँश मानिसलाई धेर थोर रिस उठने गर्दछ । तर, रिस उठेको बेलामा कमैले यसलाई ब्यवस्थापन गर्न सक्छन् । डर, त्रास, चिन्ता जस्तै रिस पनि एक प्रकारको भावना हो । मानिसका मनमा अनेक थरिका भावनाहरु आउँछन् । समय परिस्थिति अनुसार मनमा उठेका भावनाहरु स्वत आफै हराएर जान्छ । यसले मानिसको दैनिक जीवनमा खासै नराम्रोअसर पार्दैन । त्यस्तै, रिस सामान्य रुपमा जोसुकैलाई पनि उठ्न सक्छ । धैरै जसोले आफनो रिसलाई नियन्त्रणमा राख्न सक्छन्, जसले गर्दा खासै हानि नोक्सानी हुँदैन । तर, रिस नियन्त्रणबाट बाहिर जान थाल्यो भने समस्या उत्पन्न हुन्छ । धैरै रिसाउने बानीले मानिस शारीरिक एवं मानिसिक रोगबाट पीडित त हुन्छ नै यसको अलावा पारिवारिक समस्यामा पर्नुका साथै उसको करियरमा पनि असर पार्दछ । बढि रिसाउने मानिसलाई कसैले पनि मन पराउदैन र पछि गएर उ एक्लै हुन जान्छ ।

रिसका प्रकारहरु
१. बाणिमा रिस: यसमा रिसाएको व्यक्तिको मुखबाट निस्किने शब्दहरु गालि-गलोज गर्ने, चोट पुर्याउने खालका हुन्छन् ।
२. निस्कृय रिस: यसमा रिसाएको मान्छे निस्कृय भएर आफ्नो रिस प्रकट गर्दछन् । उ केहि बोल्दैन, केहि गर्दैन उठेर एकातिर हिड्छ ।
३. पानीको फोका जस्तो रिस: यस प्रकारको रिस तुरन्तै आउने, तुरुन्तै जाने खालको हुन्छ । सहजै हराउछ र बिर्सिन्छ ।
४. दीर्घकालिन रिस: यस्तो रिस जो कहिले नहराउने, रिस उठाउनेलाई कहिले माफी नगर्ने खालको हुन्छ ।
५. बाढी रिस: यसमा एकै पटक रिसाएर चिच्याउने, कराउने, सामान फ्याक्ने, रिसको झोंकमा आखाँ नदेखने, सानो ठुलोको बिचारै नगर्ने किसिमको हुन्छ ।
६. स्वघाति रिस: यसमा व्यक्ति रिसाएको बेला आफैलाई हानि नोक्सानी हुने किसिमको व्यवहार गर्दछ । जस्तै, भित्तामा टाउको ठोकाउने, खाना नखाइकन सुतिदिने, ब्लेडले शरिरको कुनै भाग काटने प्रयास गर्नु ।
७. पागल रिस: अरुप्रतिको दुख, रिस, डाहाको रिसले गर्दा अव्यवहारिक कुरा गर्ने, दोष दिने, धम्मकाउने, गर्न नहुने कुरा गर्ने आदि ।

रिसाउने व्यक्तिमा देखिने लक्षणहरु
१. सा-साना कुरालाई पनि ठुलो रुप दिने ।
२. आश्यक कुरालाई बढाई-चढाईकन भन्ने र झर्किने ।
३. आफ्नो सहकर्मीका काम बारे टिका टिप्पणी गर्ने ।
४. कामको जिम्मेबारी लिन नमान्ने ।
५. काम बिग्रियो भने त्यसको दोष अरुको टाउकोमा थोपार्ने, आफु पन्छिन खोज्ने ।

रिसका असरहरु
१. रिसले मानसिक तनाव दिंदा कसै कसैलाई बढि खानु पर्ने हुन्छ भने कसैलाई खानै मन नलाग्ने हुन्छ ।
२. आफुलाई बढि नै व्यस्त भएको देखाउने, अफिसमा अबेरसम्म बस्ने र काम बढि गर्ने प्रयास गर्दछन् ।
३. रिसलाई नियन्त्रण गर्न सकेन भने अरुलाई गालि–गलोज, झगडा र मारपिटमा पनि लाग्न सक्छ ।
४. केहि रिसाहा प्रवृतिका व्यक्तिहरु रिस शान्त पार्न या असन्तुष्टिलाई एक छिन भएपनि बिर्सन रक्सी वा गाँजा, भाँग पिउनतिर लाग्छन् ।
५. रिस किन उठने गर्छ, त्यसको मुलकारण पत्ता लगाउनुको सट्टा रिसलाई दबाउने प्रयास गरियो भने रिस आफैतिर फर्किन्छ ।

रिसले निम्त्याउन सक्ने शारीरिक समस्याहरु
१. रिसको कारण पेट पोल्ने समस्या हुन्छ र बढि रिसाउने व्यक्तिलाई ग्यास्ट्रिक, अल्सर समेत हुन सक्छ ।
२. रिसाएको बेलामा शरिरबाट एक किसिमको रसायनतत्व (हार्मोन्स) हरु निस्किन्छन । यि रसायन तत्वले मुटुको गतिलाई अनियमित पार्नुको साथै ब्लडप्रेसरलाई पनि बढाउँछ ।
३. अत्याधिक रिसाएको बेला मुटुमा रक्तसञ्चार गर्ने नलीहरु खुम्चने हुँदा हृदयघात पनि हुन सक्छ ।
४. बिभिन्न अनसुन्धानले के देखाएको छभने धैरे रिस गर्ने व्यक्तिलाई छाला सम्बन्धी रोगहरु हुने संभावना हुन्छ।
५. रिसलाई दवाउन खोजेमा टाउको दुख्ने, जिउ काम्ने तथा दुख्ने पनि हुन सक्छ ।

रिसलाई कसरी ब्यवस्थापन गर्ने ?
१. रिस उठेको बेला म रिसाई रहेको छु भन्नेकुरा मान्न तयार हुने हो भने रिस स्वतः घट्छ ।
२. रिसको झोंकमा आँखा देखिन्न भन्ने गरिएतापनि रिस उठेको बेला आँखा देख्नु नै स्वीकार गर्नु आँखा देख्नु हो ।
३. रिस उठेको बेला उल्टा गिन्ति गनेर (जस्तै, दस, नव, आठ, सात, छ, पाँच,) पनि रिस घटाउन सकिन्छ । यसो गर्दा सोचाईबाट ध्यानअन्यत्र जान्छ र रिसको आवेग कम हुँदै जान्छ ।
४. बिस्तारै लामो स्वास तान्नले पनि रिस कम गर्न सकिन्छ । करिव दस पटक जति लामो स्वास तान्ने र छोड्ने गर्नाले पनि मानसिक तनाव कम हुन्छ ।
५. रिस कम भएपछि आफ्नो सबैभन्दा मिल्ने साथीलाई रिस उठेको कारण बारे भन्नु राम्रो हुन्छ । यसरी साथी–भाईलाई बताउदा मन हल्का हुन्छ ।
६. रिस उठेको बेला आबेगमा आएर कुनैपनि निर्णय लिनु हुँदैन। रिस उठेको बेलामा गरेको निर्णय प्रायजसो गलत हुने गर्दछ । रिस उठ्ने कारण के हो पत्ता लगाउनतिर लाग्नु पर्छ ।

रिसलाई रोक्ने उपाय
१. नियमित रुपमा कमसेकम ३० मिनट ध्यान गर्ने होभने चाँडै रिसाउने मानिसको पनि रिस घट्दै जान्छ । ध्यानगर्नाले मन, मस्तिष्क शान्त हुन्छ ।
२. यसरी नै प्रणायम, प्रार्थना, पुजा, पाठ पनि मन लगाएर गर्यो भने मानसिक तनाव घट्दछ । तर, यस काममा पूर्णरुपले मन गएनभने यसले फाईदा गर्दैन ।
३. माफ गर्ने, प्राय: पारिवारिक कलह, मनमुटाव र झगडा हुँदा परिवारका सदस्यहरुले एकअर्काको मन दुखाएका हुन्छन् । गहिरो चोट पुर्याएका हुन सक्छन् । एकले अर्कालाई माफ गर्न सकिएन भने मन दुखाएका कुरालाई सधै सम्झिने भित्रभित्रै रिसाउने हुन्छन् । माफ गरिदियो भने मन हल्का भएको अनुभव हुन्छ ।

रिसमा होमियोप्याथिक एप्रोच
यस चिकित्सा पद्दतिमा व्यक्ति (रोगी) को मानसिक अवस्थालाई उपचारको क्रममा बढि ध्यान दिइनुका साथै रोगको कारण पत्ता लागाएर उपचार गरिन्छ । रिस उठने कारणको खोजि गरि उपचार गर्ने भएकोले रिसको ब्यवस्थापनमा पनि यसबाट मद्दत मिल्छ ।
१. आफ्नै सुरमा काम गरिरहेको अवस्थामा कसैले अबरोध गर्यो भने रिस उठदा, नक्सवोमिका, पल्साटिलाले फाइद पुर्याउछ ।
२. रिस उठेको बेला सामानहरु फ्याक्ने तथा तोडफोड गर्ने अवस्थामा छभने स्टेफसिग्रिया, बेलाडोना, केमोमिला आदि उपयोगी हुन्छ ।
३. रिस उठेको बेला शरिर काम्ने, बोलि बन्द हुने, रिसलाई भित्रै दबाउने अवस्थामा कोलोसिन्थ, स्टेफसिग्रिया, ब्रायोनिया आदि औषधिहरु प्रयोग गर्न सकिन्छ ।
४. रिस उठेको बेला आफैलाई हानि पुर्याउने (जस्तै, टाउको भित्तामा ठोकाउनु, ब्लेडले हातको नशा काट्नु आदि )अवस्थामा, टेरेन्टलाहिस्पानिया, टिबरकुलिनमको प्रयोग गर्न सकिन्छ । यसबाट रिसको कारण हुने मानसिक एवं शारीरिक समस्याहरु आउँदैन र व्यक्ति स्वभाविक रुपले रिस को दुष्प्रभावबाट हुने शारिरिक समस्याबाट बच्नुका साथै सहज रुपले नै आफ्नो रिसलाई पनि ब्यवस्थापन गर्न सक्छन् । उपरोक्त होमियोप्याथिक औषधिहरु कुनै योग्य तथा अनुभवि स्थानीय चिकित्सकको सल्लाह लिएर सेवन गर्दा उचित हुनेछ।
अस्तु

डा. लालित कुमार मिश्र
Email: [email protected]

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१