युवराज शर्मा÷पत्रकार
सुन्दरताको भण्डार सारा
के खनाया यसै रारामा
रारा की अप्सरा १ महेन्द्र शाह ।’
२०२० साल चैत महिनाको उखरमाउलो मौसममा मुगुको रारा ताल पुगेका तत्कालिन राजा महेन्द्रलाई राराले शितलो मात्रै दिएन, कविता कोर्न बाध्य पा¥यो । संसारकै राजा महाराजाहरू कठोर हुन्छन, कतै त झुक्न र पग्लिन पनि सक्नुपर्छ भन्ने सभ्यताले राजदरबारमा प्रवेश पाएकै हुँदैन । उतिखेर राजा महेन्द्र पनि झुक्नका लागि होइन, बहादुरी प्रदर्शन गर्न रारा पुगेका थिए ।
काठमाडौंबाट घोंडा चढेर बिकट मुगुको रारा पुग्नु पछाडि महेन्द्रको खास उद्देश्य थियो, रारा राष्ट्रिय निकुञ्जमा बदेलको शिकार गर्नु । तर, जब रारा तालको किनारमा महेन्द्रले घोंडा रोके, घोंडाबाट झरेर धुपिको रुखमुनी सुस्ताए र राराको निलो पानीमा एकटक हेरिरहे, तब उल्टै राराले शिकार खेल्यो महेन्द्रको मनमा । महेन्द्रले राराको नाममा कविता कोरे, आँफ्नै नामलाई पनि घोलिदिए राराको कञ्चन जलमा । संयोग नै भनौं, असिना पानीका कारण पनि महेन्द्रको बदेल शिकार गर्ने योजना पूर्ण रुपमा समाप्त भयो । राराबाट पूरै पग्लिएर फर्किए, राजा महेन्द्र ।
राराको बयान सुन्दा र फोटो देख्दा लाग्छ, मान्छे त धुइरो लाग्छन् होला नि रारामा तर यथार्थ बिल्कुल फरक छ । रारा प्रायः एक्लै हुन्छ, ठूला–ठूला पहाडहरूको बीचमा । निलो मसी पोखिएजस्तै पानी, पानीको छेवैसम्म सल्ला र धुपिका रुखहरू उभिएका, चारैतिर हराभरा तर पनि सुनसान छ, रारा । महिनाको एक र दुईपटक हेलिकप्टर चढेर आउने थोरै पर्यटकले मात्रै राराको सफा, सुन्दर र निर्मल अनुहार कैद गरेर फर्किएका हुन्छन् ।
पर्यटकीय गन्तव्य भनेपछि स्वीजरल्याण्डकै किन कुरा गर्नु प¥यो ? छिमेकी भारतकै नैनी तालमा पर्यटक ओइरिएका देख्दा अचम्म लाग्छ । तर, राराको सामू त नैनी तालको सुन्दरताको बयान नै गर्न मिल्दैन । रारा त कति हो कति सुन्दर तै पनि नैनी तालको तुलनामा नगन्यमात्रै पर्यटक पुग्छन, रारामा किन ? जवाफ सहज र सटिक छ, बिकट मुगुको सुन्दर राराको प्रचार गर्ने र पर्यटक पु¥याउन पहल गर्ने काम राज्यस्तरबाट भएकै छैन ।
नेपालको सबैभन्दा सानो जिल्ला, मुगु । मुगुमै पर्ने देशकै सबैभन्दा सानो निकुञ्ज, रारा राष्ट्रिय निकुञ्ज । र रारा राष्ट्रिय निकुञ्जको आडैमा सुतिरहेको देशकै सबैभन्दा ठूलो ताल, रारा । नेपालमा रहेका ८ सय ६७ प्रजातिका चराहरूमध्ये रारामा २ सय ३६ प्रजातिका पाईन्छन् । धेरैजसो भारत र तिब्बतहुँदै साइबेरिया ओहोरदोहोर गर्ने हाँसहरू छन् । हाँस, जलेवा, क¥याङ कुरुङ जस्ता चरा जलक्रिडामा मग्न भएको देख्दा आँफूलाई पनि उनैको आनन्द चोर्न मन लाग्छ । त्यसैले पनि होला नेपाली सेनाका समरजित गुल्मका जवानले त्यहाँ पुग्ने पर्यटकलाई केहीबेर डुंगा सयर गराएर फुरुङ्ग बनाइदिन्छन । रारामा पाईने तीन प्रजातिका असला माछा संसारमा अन्त कतै भेटिंदैनन । रंग बदलिरहने राराको कञ्चन पानीमा माछाको गतिबिधी नांगो आँखाले नियाल्दा टोलाइराख्न मन लाग्छ ।
उचाई ः २,९७२ मि ९समुद्री सतहबाट
लम्बाई ः ५ किलोमिटर
चौडाई ः ३ दशमलव २ किलोमिटर
गहिराई ः १ सय ६७ मिटर
क्षेत्रफल ः १० दशमलव ८ बर्ग किलोमिटर ।
ताल्चा–नेपालगन्ज उडान भर्ने जहाजले राराको फन्को लगाइदिएर आनन्द लुट्ने अवसर दिलाइन्छिन । आकाशबाट हेर्दा उपत्यकाजस्तो लाग्ने राराको रंग गाढा निलो देखिन्छ । जेठदेखि आसोजसम्मको मौसाममा बिभिन्न फूलहरू पहिरिएर स्वर्गकी अस्सरा झैं देखिने रारा तालको शोभा रारा निकुन्जमा पाइने कस्तुरी, रतुवा, डाँफेले बढाइदिएका हुन्छन् । सिस्ने र कान्जिरोवा हिमाल रारामै आएर बस्दा त बर्णन गर्ने शब्दकै अभाव पर्छ । राराबाट पश्चिमतर्फ तीन घण्टा हिंडेपछि पुगिने मुर्माटपबाट राराको मनोरम दृश्य र सैपाल हिमालको अवलोकन गर्न पाइन्छ । सुनेको थिएँ, रारा पुगेपछि कविता नफुर्ने मन दुर्लभ नै हुन्छन्रे, राजा महेन्द्रको कविता त पढेकै हो ।
उतिखेर राजा महेन्द्रको पालामा सुर्खेतबाट दुई हप्ता हिंडेरमात्रै रारा पुग्न सकिन्थ्यो । तर अहिले हवाई उडान र मोटरबाटोको सुविधा राराको नजिक पुगेकाले लामो समय लाग्दैन । मोटर चढेर जान चाहनेका लागि सुर्खेतबाट कालीकोट हुँदै रारा पुग्न सकिन्छ । त्यस्तै बाँकेको नेपालगञ्ज र सुर्खेतबाट हवाई उडानमा मुगुको ताल्चासम्म पुगिन्छ र ताल्चाबाट केही घण्टा हिंडेपछि रारा पुग्न सकिन्छ । रुट नं. १ मोटरबाट पैदलहुँदै रारा पुग्ने बाटो सुर्खेतबाट मोटर चढेपछि कर्णाली राजमार्गहुँदै जुम्लाको गोरुचौरसम्म पुग्न सकिन्छ । जुम्ला सदरमुकाम जोडिइसकेको कर्णाली राजमार्गअन्तर्गत कालिकोटको माग्माघाटबाट छुट्टिएर नेपाली भाषाको उद्गमस्थल सिञ्जा उपत्यका हुँदै गोरुचौर हुँदै रारा तालको छेवैमा पुग्न सकिन्छ । फोरहवील गाडीमा सजिलै रारा ताल पुग्न सकिन्छ ।
स्कारपियो, बोलेरो, टाटा सुमो गाडी र मोटरसाइकलमा सजिलै रारा पुग्न सकिन्छ । यातायात सजिलै जाने भएपछि अहिले रारा ताल अवलोकन गर्न जाने आन्तरिक नेपाली पर्यटकहरुको भिडनै लाग्ने गरेको छ । देशका प्रमुख सहरहरुबाट सुर्खेतहुँदै रारा जाने यात्रुको संख्या बढेको छ । दशैं–तिहारको विदाको समयमा एक पटक रारा पुग्ने सपना बोकेका धेरै जोडी रारा पुगेका छन् । अघिल्ला बर्षको तुलनामा यस पटक रारा भ्रमण जाने आन्तरिक तथा बाह्रय पर्यटकको संख्या हवात्तै बढेको छ । सुर्खेतका होटल पर्यटकले भरिभराउ भएका छन् भने साना गाडीले रिजर्वको काम राम्रै पाएका छन् ।
रुट नं. २ आकाशको बाटोबाट रारा पुग्ने बाटो आकाशबाट रारा जानका लागि बाँके र सुर्खेतबाट सम्भव छ । बाँकेको नेपालगञ्जस्थित राजा विमानस्थलबाट र सुर्खेतबाट मुगुको ताल्चासम्मका लागि उडान भरिएको हुन्छ । ताल्चा विमानस्थलमा उत्रिएपछि केही घण्टाको पैदल यात्रामा रारा पुग्न सकिन्छ । रारा जानका लागि भदौ र असोज महिनाको मौसम बढी उपयुक्त मानिन्छ ।
सुन्दर राराबाट निक्कै नमिठो पाटो टिपेर ल्याउने रहर थिएन तर टिप्नुपर्ने आवश्यकता नै बन्यो । २०२० साल चैत २० गते तत्कालिन राजा महेन्द्र रारा पुग्दा राराको सुन्दरता अतिक्रमण हुने देखेर नजिकका दुई गाउँका १५ सय घरधुरीलाई तराइतिर बसाईं सारेका थिए । तर त्यसपछिका सरकारले रारा आसपासमा भएको अतिक्रमणबारे चासो नराख्दा वर्षेनी खण्डीकृत रुपमा गैरहेको पहिरोले रारा तालको अस्तित्व संकटमा पर्दै गएको छ । अब त खतराको संकेत नै गरिएको छ, अतिक्रमण नरोकिए रारा ताल कुनै पनि बेला फुट्न सक्छ । मुगुको सदरमुकाम गमगढीदेखि बढ्दै गएको पहिरो तलितुम गाउँमाथिसम्म पुगेको छ । खण्डीकृत रुपमा जमिन भासिंदै गएपछि गुनढुस्काबाट पहिरोसँगै पानीको मूलसमेत निस्किन थालेको तथा रारा तालछेउबाट झण्डै दुईसय मिटरको दुरीमा रहेको बागचोट डाँडा नजिकसम्म पहिलो पुगेको स्थानीय बताउँछन् । गमगढीतिरको माटो कमजोर भएकाले ताल आसपासका वस्तीलाई अन्यत्र सार्न २०२० सालतिरै भुगर्भविद्हरूले सुझाव दिएका थिए तर मतलव गरिएन र गरिएको छैन ।
रारा राष्ट्रिय निकुञ्ज वरिपरिको वन समुदायलाई हस्तान्तरण गरेपछि दु्रतगतिमा फँडानी भएको र नाङ्गो डाँडोमा पहिरो चल्न थालेपछि सदरमुकाम गमगढीसहित श्रीनगर, कार्कीवाडालगायतका गाउँबस्ती जोखिममा परेका छन् । रारा तालको संरक्षण र सम्बद्र्र्धनका लागि भन्दै वर्षेनी ताल विकास समिति, नेपाल पर्यटन बोर्ड, कर्णाली पर्यटन प्रबद्र्धन विकास समिति, मुगु जिल्ला विकास समितिलगायतका निकायबाट लाखौं रुपैयाँ खर्च गरेको कागजी प्रमाण देखिएपनि ब्यबहारिक उपलब्धी शून्यप्रायः छ ।
अब रारालाई पूर्वाधार मात्र चाहिएको छ, राराले हरियो डलर फलाउने क्षमता राख्छ, योजना कार्यान्वयनको मात्र आवश्यकता छ राराले आफुमात्र होइन नेपाललाई नै संसार चिनाउन सक्छ । पर्यटन पूर्वाधारका लागि मानिसको पुरातन सोचमा रहेको प्रदुषणलाई फ्याँक्न जरुरी छ । लोलुफेरा अभियानले रारा तालको प्रवद्र्धनकै लागि केहीसमय अघि पोखरादेखि रारासम्मको यात्रा तय गरेको थियो, पर्यटन प्रवद्र्धनकै लागि, राराको प्रचारप्रसारकै लागि । रारामै अब त ठूलो रिर्सोटका लागि लगानी समेत जुट्दैछ भनिएको छ । राराले कोल्टे फेर्ने दिन आउँछकी आशा गर्न सकिने ठाउँ छ । किनकी विकासलागि रोक्न कसैले सक्दैन, विकासको गति मात्र कमजोर हुन सक्छ । यो गतिलाई बढाउँदै राराको पर्यटन प्रवद्र्धन गर्नु सबैको दायित्व बनेको छ । तर, सचेत बन्नुपर्ने पनि त्यतिकै आवश्यकता छ, विकासको नाममा कतै राराको सौन्दर्यता लुछिने त होइन भनेर । रारा र आसपासको प्राकृतिक स्वरुपलाई नामेट पार्ने प्रवृत्ति विरुद्ध भने आवाज उठ्न जरुरी छ ।
(विभिन्न अनलाइनहरुको सहयोगमा तयार गरिएको आलेख हो ।)
प्रतिक्रिया