काठमाडौं । ऋण असुली न्यायाधिकरणले हालसम्म १८ अर्ब २० करोड २२ लाख रुपैयाँ ऋण असुली गरेको छ।
चालु आर्थिक वर्षको ८ महिनामा ९७ करोड ३४ लाख रुपैयाँ ऋण असुली भएको न्यायाधिकरण ऋण असुली शाखा प्रमुख प्रकाश पराजुलीले बताए। न्यायाधिकरणले चैत १५ सम्म ४ करोडभन्दा बढी ऋण असुली गरेको छ। गत वर्षसम्म १७ अर्ब १८ करोड ८८ लाख १० हजार रुपैयाँ ऋण असुली गरेको थियो।
हालसम्म ३७२ वटा मुद्दा परेकोमा ७२ वटाको निर्णय भइसकेको छ। मुद्दा परेका केसमा सम्बन्धित व्यक्तिले आवश्यक प्रमाण उपलब्ध गराउन ढिलाइ गर्दा फैसला हुन नसकेको पराजुलीले बताए।
गत आर्थिक वर्षमा १०६ वटा मुद्दा परेकोमा यो आवको साढे ८ महिनामै ९९ वटा मुद्दा आएका छन्। ‘गत सालको तुलनामा यो वर्ष मुद्दाको संख्यामा वृद्धि हुने देखिएको छ,’ पराजुलीले भने।
यो वर्ष अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएको ३ सय ४२ मुद्दा उपर छानबिन भएको छ। जसमा हालसम्म २६ वटा मुद्दाले किनारा पाएका छन्। ‘पुराना मुद्दा फैसलालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं,’ उनले भने, ‘बैंक र ऋणीका कारण पुराना मुद्दा फैसला हुन नसकेको हो।’
बैंक तथा वित्तीय संस्थाको खराब कर्जा उठाउन २०५८ सालमा स्थापना भएको न्यायाधिकरणले २०६० साउनदेखि कार्यसम्पादन थालेको हो।
शून्य दशमलव २५ प्रतिशत रकम न्यायाधिकरणलाई बुझाउनुपर्छ। ऋण असुल भएको अवस्थामा भने उठेको ऋणको एक प्रतिशत शुल्क न्यायाधिकरणले लिँदै आएको छ।
बैंकले आफूले सक्नेजति धितो लिलाम गरी ऋण असुली गर्न नसकेको खण्डमा मात्र त्यस्ता मुद्दा न्यायाधिकरणमा आउने गरेका छन्। साँवा ५ लाख रुपैयाँभन्दा बढी ऋणको मुद्दा मात्रै दर्ता हुने गरेको छ।
प्रतिक्रिया