जेल परेको २ महिनामा निर्दोष ठहर भएपछि…

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० चैत्र २०७४, मंगलवार ०५:२१

नुवाकोट। फरार अपराधी भन्दै नुवाकोट अदालतको आदेशमा जिल्ला कारागार नुवाकोट चलान भएका दुईजना बन्दी सर्वोच्च अदालतको आदेशबाट निर्दोष ठहरिएका छन्।

पञ्चकन्या गाउँपालिका वडा नंं ४ थप्रेकका भीमबहादुर तामाङ र वडा नंं ५ भदु्रटारका सानुवीरे तामाङलाई सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसे र मीरा खड्काको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमा आइतबार निर्दोष रहेको ठहर गर्दै थुनामुक्त गर्न आदेश दिएको हो। सर्वोच्चको आदेशमा उनीहरु दुवैजना सोमबार थुनामुक्त भएका छन्।

चेलबेटी बेचबिखन मुद्दामा नुवाकोट जिल्ला अदालतले २०४२ सालमा १० वर्ष कैद सजाय सुनाएकाले सोही मुद्दामा दोषीको नाम मिलेको भन्दै भीमबहादुरलाई नुवाकोट प्रहरीले गत माघ १० गते पक्राउ गरेको थियो। उनको ठेगाना साविक थप्रेक–२ भए पनि दोषी ठहर भएका व्यक्ति थप्रेक–१का रहेको प्रहरीको मिसिलमा उल्लेख थियो।

यस्तै, २०१५ सालमा चोरी मुद्दामा दोषी ठहर भएको भन्दै २०१८ सालमा जन्मनुभएका सानुवीरे तामाङलाई प्रहरीले गत फागुन ९ गते पक्राउ गरी अदालतमा बुझाएको थियो। प्रहरीले बुझाएलगत्तै दुवैजनालाई ‘दोषी ठहर भएका व्यक्ति’ भएको जिकिर गर्दै अदालतका स्रेस्तेदार महिमानसिंह विष्टले कैदीपूर्जी थमाएर कारागार चलान गरेका थिए।

सर्वोच्चबाट निर्दोष ठहर भएका नौले भनिने सानुवीरे तामाङका छोरा प्रेमबहादुरले आफ्नो बुबाले अपराध नगरेको प्रमाण पेश गर्दागर्दै जिल्ला प्रहरी र अदालतबाट पीडित बनाए पनि अहिलेको सर्वोच्चको आदेशमा न्याय मिलेको बताए।

नुुवाकोट प्रहरीले न्यायालयको फैसला कार्यान्वयनलाई पुस अन्तिम सातादेखि अभियानका रुपमा सञ्चालन गर्दै आएको छ। प्रहरी कारवाहीमा निर्दोष व्यक्ति पक्राउ गरी कैदी पूर्जी दिएको भन्दै केही पीडितहरु बन्दी प्रत्यक्षीकरणमार्फत न्यायको पहलमा जुटेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१