संखुवासभा। खाँदबारी नगरपालिकामा रकम अनियमितता गर्ने लेखापाल पक्राउ परेका छन्। लेखापाल नवीन कुमार श्रेष्ठलाई नगरपालिकाको रकम अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रले पक्राउ गरेको हो।
महालेखा परीक्षकले नगरपालिकाको आर्थिक वर्ष २०७३र७४ को आर्थिक कारोवार अध्ययन गर्ने क्रममा पाँच करोड रकम बेरुजु औंल्याएको थियो। रकम बेरुजु देखिएपछि नगरपालिका ४ का कार्यबाहक अध्यक्ष श्याम प्रसाद निरौलाको संयोजकत्वमा तीन सदस्यीय समिति बनाई छानविन गरिरहेको थियो। छानविन समितिको अन्तिम प्रविवेदन आउनु अगावै श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा जिल्ला प्रहरी कार्यालय संखुवासभाले आइतबार पक्राउ गरेको हो।
महालेखा परीक्षकको परीक्षणको क्रममा पाँच करोड रुपैयाँ बेरुजु भेटिएको र एक करोड ३९ लाख रुपैँया रकम सम्बन्धित कर्मचारीबाट तत्काल दाखिला गर्न परीक्षकले निर्देशन दिएका थिए। बेरुजु देखिएको पाँच करोड रुपैयाँ मध्ये एक करोड ४९ लाख बाहेक अन्य रकम आयोजना र सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतको रहेको खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमार निरौलाले बताएका थिए।
तत्काल रकम दाखिला गर्नुपर्ने रकममध्ये अन्य कर्मचारीको नाममा समेत बेरुजु देखिएको भएपनि लेखापाल श्रेष्ठले सवै अनियमितता आफैले गरेको स्वीकारेको र आफैले भुक्तानी गर्ने समेत बताएकाले श्रेष्ठ अनुसन्धानको घेरामा परेका थिए। श्रेष्ठलाई सोमबार आयोगमा बुझाइने संखुवासभा प्रहरीले जनाएको छ।
प्रतिक्रिया