“चरी हत्या प्रकरणको” नागरिककर्मी केपी ढुंगानाले चिरफार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ भाद्र २०७१, आईतवार ०५:४९

प्रहरीको गोलीले कुख्यात गुन्डा दिनेश अधिकारी ‘चरी’ मारिए। उनको मृत्युले अपराध दुनियाँ मात्रै तरंगित भएको छैन, राजनीति पनि धेरथोर तरंगित भएको छ। उनी आबद्ध पार्टी एमालेका केही नेता उनको गैरन्यायिक हत्या भएको बताइरहेका छन्, प्रहरीविरुद्ध खनिइरहेका छन्। अनि, ‘चरी’की प्रेमिका खुश्बु पनि बयानबाजीमा उत्रिएकी छिन्। उता, एसएसपी पुष्कर कार्कीको प्रश्न छ– ‘अपराधीलाई रोल मोडल बनाउने कि अस्वीकार गर्ने?’केपी ढुंगानाले ‘चरी’को आपराधिक उडानदेखि भीमढुंगामा उनको इन्काउन्टरसम्मका विभिन्न पक्षलाई विश्लेषण गरेका छन्।

 char gunda


एसएमएस आयो– दिनेश अधिकारी चरी मारिए।

साउन २१ गते बेलुका ५ बजे घटना भएको थियो, काठमाडौँको उत्तरी भेग भीमढुंगामा। सीतापाइलाबाट करिब सात किलोमिटर माथि नर्सरीभञ्ज्याङको पहिलो मोडमा चरीको प्राणपखेरु उडेको थियो।
सूचना पाएको एक घण्टापछि संवाददाता घटनास्थलमा पुग्दा त्यसको सय मिटर वरिपरिको क्षेत्र प्रहरी घेरामा थियो। सडकको देब्रे किनारमा रातो मोटरसाइकल नजिकै ढलेका थिए, चरी। घटनास्थल मुचुल्का टोली मुचुल्का उठाउन व्यस्त थियो। महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख पुष्कर कार्की र महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख उत्तम कार्की सञ्चारकर्मीको जिज्ञासा मेटाउँदै थिए।
‘शंकास्पद गतिविधिमा संलग्नहरूको खोजीमा खटिएको प्रहरी टोलीले मोटरसाइकल पछ्याउँदा प्रहरी टोलीमाथि गोली प्रहार भएकाले आत्मरक्षाका लागि गोली चलाउँदा उनी मारिएका हुन्,’ एसएसपी कार्की भन्दै थिए, ‘उनलाई पछ्याउँदा उनी को हुन् भन्ने जानकारी थिएन। घटनास्थलमा हेरेपछि मात्रै उनको पहिचान खुल्यो।’ एसएसपी कार्कीको भनाइ पनि पृथक् थिएन।
घटनास्थलको सय मिटर तल चरीको परिवार अनि शुभेच्छुकहरूको संख्या बाक्लिसकेको थियो। ‘प्रहरीले जानजान मार्‍यो,’ उनीहरू दाबी गरिरहेका थिए।
घटनाको एक साता बित्यो, न प्रहरीको दाबी फेरिएको छ, न मृतकको परिवारजनको नै। छानबिन समिति गठनको माग गर्दै उनका परिवार र आफन्तनजनको अडानका कारण शव परीक्षण रोकिएको छ। चरीको शव अस्पतालको डिप फ्रिजमा छ।

प्रेम कहानी

हट्टाकट्टा र आकर्षक व्यक्तित्वका धनी थिए चरी। केही शहरी युवतीमाझ उनको छवि गुन्डाको होइन, साहसिक ह्यान्डसम युवाको थियो। उनी रसिक मान्छे थिए। उनको नाम विभिन्न युवतीसँग जोडिएको थियो।
आफ्ना गतिविधि जति ‘चर्चित’ भए पनि संगठित अपराधमा सक्रियहरू सकेसम्म आफ्ना निकटलाई चर्चाभन्दा परै राख्न रुचाउँछन्। परिवारका सदस्यसम्म प्रेसको पहुँच नपुगोस् भन्नेमा उनीहरू निकै होसियार हुन्छन्। त्यसैले चरीका ‘प्रेमचरी’हरू पनि ओझेलमै थिए।
चरीको खोजीमा खटिएको प्रहरी टोलीले उनले प्रयोग गर्ने गरेको गाडी पूर्व मिस टिन खुश्बु ओलीको घरमा फेला पारेपछि उनीसँगै खुश्बु पनि तानिइन्। उनले चरी आफ्नो पारिवारिक सदस्यझैँ भएको सार्वजनिक टिप्पणी गरेपछि उनीहरूबीचको गाढा सम्बन्ध बजारमा छरियो। खुश्बु बिच्किँदै चरी र आफ्नो निकट सम्बन्ध खुलाउने सञ्चारमाध्यमविरुद्ध अदालतमा मानहानिको मुद्दा बोकेर पुगिन्।
चरीको प्राणपखेरु उडेको दिन घटनास्थलमा नदेखिएकी खुश्बु पोस्टमार्टमका लागि शव शिक्षण अस्पताल पुर्यारइँदा त्यहाँ देखिइन्। शोकको माहोलमा रातो पहिरनमा पुगेकी उनले वर्तमान प्रेमीको हत्यामा पूर्वप्रेमी अर्पण कोइरालाको नाम जोडेर नयाँ तरंग ल्याइदिइन्।
उनले चरीको हत्याको योजनाकारका रूपमा नाम लिएकी अर्पण त्यही युवा थिए, जोसँग उनी पाँच वर्ष लिभिङ टुगेदरको रिलेसनसिपमा थिइन्। खुश्बुकै अनुसार अर्पणसँग उनले पाँच वर्ष आफ्नै घरको छतमुनि बिताएकी थिइन्।
खुश्बुको घरमा आउजाउ गर्न अर्पणलाई कुनै बन्देज थिएन। अर्पणको घरको कोठा यी दुवैका सुन्दर तस्बिरले सजिएका थिए। दुवैको सम्बन्धबारे जानकारहरूका अनुसार खुश्बुको परिवारले अर्पणलाई ज्वाइँका रूपमा सम्बोधन गर्थे भने अर्पणको परिवारले उनलाई बुहारी ठान्थ्यो।
उनीहरूको सम्बन्धबारे जानकारका अनुसार लागुऔषधको कुलतमा फसेका अर्पण खुश्बुको संगतमा परेपछि सुध्रेका थिए। उनी खुश्बुलाई निकै मन पराउँथे। खुश्बुसँगको सम्बन्धपछि छोरा ट्र्याकमा आएपछि कोइराला परिवारले यी दुवैको इच्छा पूरा गर्न आफ्नो ढुकुटी खुल्ला गरिदिएको थियो।
हायात, अन्नपूर्ण अनि याक एन्ड यतीमा यो जोडीको उठबस थियो। अन्नपूर्ण क्याफेमा दैनिकी। फाइभस्टार होटलमा बर्थडे पार्टी। किया स्पोर्ट्स अनि आई–टेन गाडीको सवारी। जीवनशैली खर्चिलो थियो। तर, अर्पण खुश्बुका लागि निस्फिक्री खर्च गर्थे।
दरबारमार्ग आउजाउकै क्रममा अर्पण र चरी साथी बनिसकेका थिए। अर्पणबाटै खुश्बु चरीसँग परिचित भइन्। खुश्बु पढाइलाई अगाडि बढाउन चाहन्थिन्। उनी बेलायत पुगिन्। बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा खुश्बु इन्टरनेसनल रिलेसन्स पढ्न थालिन्। अर्पण पनि बेलायत पुगे।
अर्पण परिवारनिकटका अनुसार बेलायत बसाइकै क्रममा उतै रेस्टुरेन्टको व्यापार गर्ने इच्छा देखाएपछि उनको परिवारले बबरमहलमा रहेको घर डेढ करोडमा बेचेर अर्पणलाई दिएका थिए। केही समयपछि अर्पण नेपाल आए। उता, रेस्टुरेन्ट खुल्यो या खुलेन? त्यो पैसा कहाँ गयो अन्योल नै रहेछ।
अर्पण निकटका अनुसार अर्पणको किया स्पोर्ट्स खुश्बुले प्रयोग गर्दै आएकी थिइन्। ट्राफिकले ब्लुबुकमा किचकिच गरेको भन्दै गाडी खुश्बुकै नाममा नामसारी भएपछी गाडी बिक्री भयो।
यो बीचमा यी दुवैको सम्बन्धमा चिरा पर्न थालिसकेको थियो। खुश्बुका अनुसार दुई वर्षअगाडि यी दुवैको सम्बन्ध टुंगियो। तर, सम्बन्धको अन्त्य एकतर्फी थियो। अर्पणले खुश्बुलाई पछ्याउन छाडेका थिएनन्।
खुश्बुले अर्पणसँग पाँच वर्ष निकट सम्बन्ध रहेको स्वीकार गरे पनि लिभिङ टुगेदर रिलेसनसिपमा रहेको भने स्वीकार गरिनन्। अर्पण पाँच वर्ष आफ्नो घरमा बसेको र उनको परिवारले उनलाई छोराझैँ व्यवहार गर्ने गरेको तथ्य भने खुश्बुले लुकाइनन्।
गत शुक्रवार धापाखेल हाइटमा रहेको सिभिल होम्सको घर नम्बर ३४ मा यो संवाददातासँग कुरा गर्दै उनले भनिन्, ‘ड्रग्समा फसेको ऊ मेरै कारण सुधि्रएको थियो। पाँच वर्षसम्म सम्बन्ध राम्रै थियो तर दुई वर्षदेखि हामी छुट्टिइसकेका थियौँ। उनले आफू बेलायतमा एक्लै बसेको र बेलायतबाट फर्कंदा अर्पण पुनः लागुऔषधको कुलतमा फसेपछि बाध्य भएर आफू टाढा भएको तर्क गरिन्।
अर्पणको आर्थिक हैसियत खस्कनुमा उनको खर्चिलो दैनिकी कारक रहेको दाबी खुश्बुको छ। उनले बेलायतमा आफूले बाबुको जग्गा बेचेर अध्ययन गरेको तर्क गरिन्, जो अर्पण निकटकाहरूको तर्कसँग मेल खाँदैनथ्यो।
यसबीच चरीसँग खुश्बुको सम्बध झाँगिसकेको मात्रै होइन, दुवै विवाहको तयारीमा समेत सक्रिय भइसकेका थिए। गत दशैँमा यी दुवैबीच इन्गेजमेन्टको तयारी भए पनि रोकियो। खुश्बुका अनुसार यस वर्षको दशैँमा इन्गेजमेन्ट योजना थियो। जुन अधुरै रह्यो।

बदलाको चक्र

२०७० पुस १४ गते बेलुका ९ बजे वनस्थलीमा विनोद श्रेष्ठले छोरीको सूर्य दर्शनको उपलक्ष्यमा पार्टी आयोजना गरेका थिए। पार्टीमा दिनेश अधिकारी चरी पाहुना थिए। धादिङका राधाकृष्ण भन्डारी उर्फ राधे पनि पार्टीको निम्तालुको सूचीमा थिए।
दुवै एकै जिल्लावासीमात्रै होइन, कुनै समयका घनिष्ठ मित्र पनि थिए। दुवैको आपराधिक यात्राको प्रारम्भ नेपाली कांग्रेसको छत्रछायामा सुरु भएको थियो। चरी कांग्रेस छाडेर एमालेतिर लहसिएपछि पार्टीगत प्रतिस्पर्धासँगै धादिङको बालुवाखानी र ठेक्कापट्टामा कब्जाका लागि झडप सुरु भयो। आक्रमणका क्रममा चरी समूहले राधेको भाइको हात काटिदिए।
जिल्ला तहमा यी दुईको प्रतिस्पर्धा भए पनि त्यसको प्रभाव केन्द्रसम्म आइपुगेको थिएन। गत असार २१ गते जिल्लाको प्रतिस्पर्धा केन्द्र अर्थात् राजधानीमा सर्‍यो।
एमालेका तत्कालीन वरिष्ठ नेता केपी ओलीलाई लिएर धादिङ पुगेका उनी काठमाडौँ फर्किंदा राधेको टार्गेटमा परे। भाइमाथिको आक्रमणको बदला लिने समयको पर्खाइमा रहेका उनले चरीलाई धादिङबाटै पछ्याएर काठमाडौँको नैकापमा आएपछि गोली हाने। टार्गेट मिस भयो। पाखुरामा गोली लागेर चरी घाइते भएसँगै उनले खुल्ला रूपमा राधेलाई सिध्याउने चेतावनी दिएका थिए।
यी दुईको दुश्मनी सल्टाउन त्यो दिन पार्टीमा चरीसँगै राधेलाई समेत निम्त्याइएको थियो। वनस्थली पार्टी प्यालेस पछाडि दुवैको जम्काभेट हुँदा मध्यस्थकर्ताको योजनाभन्दा विपरीत घटना भयो। बदलाको पर्खाइमा रहेको चरी समूहले राधेलाई खुँडाले हानेर गम्भीर घाइते बनाए। घटनालगत्तै चरी ‘अन्डरग्राउन्ड’ भए।
प्रहरीको मोस्ट वान्टेड सूचीमा परेपछि उनी भारत र सिंगापुर पुगे। त्यही बीचमा ललितपुरमा मीनकृष्ण महर्जनमाथि गोली प्रहार भयो। गोली प्रहारको घटनाको प्रारम्भमा अर्का कुख्यात गुन्डा सुजन पौडेल उर्फ रमेश बाहुन तानिए। उनीसँगै चरीसमेत जोडिए।
भारतको सेल्टरसम्मै पुगेर नेपाल प्रहरीले बाहुनलाई नियन्त्रणमा लिएर नेपाल ल्याएपछि चरीको उडान सुस्त भयो। एमालेको अधिवेशनताका काठमाडौँ भित्रिएका उनले आफ्नो केस सेटल गराउन संरक्षकहरूसँग परामर्श गरेर अधिवेशन सकिएलगत्तै भारत फर्किए।
भारतीय प्रहरीले रमेश बाहुनलाई बुझाउँदा ‘इन्काउन्टर’ नगर्ने शर्त राख्दा उनी जोगिएको चाल पाएका चरीले सीधै अदालत पुगेर आत्मसमर्पण गर्ने हिम्मत जुटाउन सकेनन्। उनी एमालेमा रहेका आफ्ना संरक्षकमार्फत गृहजिल्ला पुगेर सरेन्डर गर्ने तारतम्य मिलाउन असार अन्त्यतिर काठमाडौँ फर्किएका थिए।
प्रहरीको दाबीअनुसार चरी फरार रहे पनि उनले आफ्नो समूहबाट पैसा उठ्तीपुठ्तीको धन्दा जारी नै राखेका थिए। उनले आफ्नो समूहका सदस्यलाई परिचालन गरेर व्यापारीलाई धम्क्याएर रकम माग गरेको सूचना प्रहरीसम्म पुगिरहेको थियो।
चैत ३ गते खुसिबू, नयाँबजारमा एक व्यापारीलाई धम्याएर रकम लिन जाँदा उनको समूहका जयराम बानिया, सुनील पाण्डे उर्फ एडा, रामेश्वर सापकोटा पक्राउ परेका थिए। प्रहरीले सो घटना चरीको योजनामा भएको निष्कर्ष निकाल्यो। लगत्तै त्यही महिनाको २० गते अर्का व्यापारीले प्रहरीमा जाहेरी दिए।
प्रहरी अधिकारीको दाबीअनुसार उनी काठमाडौँ भित्रिएपछि ‘केस मिलाउन पैसा चाहियो’ भन्दै व्यापारीहरूलाई फोनमार्फत धम्क्याउन सक्रिय थिए।
उनी काठमाडौँ भित्रिएको गन्ध पाएर प्रहरी टोली उनको पदचाप पछ्याउन सक्रिय भइसकेको थियो। प्रहरीबाट जोगिन घटनाको दिन दिउँसो उनले कपाल काटे।
तर, न पछ्याइरहेको प्रहरीले उनलाई पक्राउ गर्न सक्यो, न उनले सरेन्डर नै गर्न सके।
आखिर साउन २१ गते भीमढुंगाको एकान्त सामुदायिक वनको सडकमा चरीको दौडधूप समाप्त भयो।

कतै फिल्मी, कतै शंकास्पद

चरी मारिएपछि राजेन्द्र पाण्डेलगायत एमाले सभासद्हरूले खुश्बु अनि उनको परिवारको दाबीझैँ चरी पूर्वयोजनाअनुसार मारिएको दाबी गरे। उनीहरूले आफ्नो दाबीको पुष्ट्याइँका लागि खुश्बुको दाबी दोहोर्यानए। खुश्बुका अनुसार चरीले घटनाकै दिन दिउँसो कपाल काटेर भाइबरमा फोटो अपडेट गरेका थिए। सभासद् पाण्डेले भने चरीलाई देख्नेहरूको हवाला दिँदै प्रहरीले नै चरीको कपाल काटिदिएको तर्कसमेत गर्न भ्याए।
खुश्बुले निरन्तर तर्क गरिरहिन्, ‘दिनेशजी मुठभेडमा मारिएको हैन, प्रहरीले मारेको हो।’ एकान्तस्थलमा मारिनु, घटनास्थलमा रगत नहुनु, छाती ताकेर ८ गोली हान्नुले नक्कली मुठभेड भएको पुष्टि गर्ने उनको तर्कमा केही दम भए पनि घटनाको योजनामा संलग्न भन्दै उनले ज–जसको नाम पोलिरहेकी थिइन्, त्यो विश्वसनीय लाग्दैनथ्यो।
गत शुक्रवार उनको घरमा भेटघाटका क्रममा देखिएका केही दृश्यले समेत शंकालाई बलियो बनायो। कुराकानीको क्रममा खुश्बु अर्पणकेन्द्रित थिइन्। कुराकानीकै क्रममा उनको बाबु उनी नजिकै आएर कानमा बिस्तारै फुस्फुसाए ‘कुमुद (प्रहरी अधिकृत कुमुद ढुंगेल) को नाम पनि भन है।’
त्यसपछिको एक घण्टाको कुराकानीमा अर्पणसँगै ढुंगेलको नाम छुटेन। उनले निरन्तर तर्क गरिरहन्, ‘दिनेशजीलाई यी दुवैले मारेका हुन्।’
त्यतिबेलासम्म संसदमा सरकारको तर्फबाट गृहमन्त्री वामदेव गौतमले घटनाबारे सदनमा जानकारी गराउँदै चरी मारिनुको कारण मुठभेड भएको बताइसकेका थिए। तर, खुश्बु र उनको बाबु न यसलाई स्वीकार गर्ने पक्षमा देखिए, न यी दुईको नाम नै छुटाए।
यी दुवै चरीको पछि लाग्नुको कारण चरीसँगको आफ्नो सम्बन्ध भएको उनले बताइरहिन्। अर्थात्, उनका अनुसार चरीसँगको उनको प्रेम नै मृत्युको कारण थियो।
एक सर्वसाधारण नागरिक, अर्को प्रहरी अधिकृत। यी दुवैको योजनामा मारिएको भए त यी दुवैलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाउनुको साटो राज्य नै जोगाउन लाग्ला र?
‘म मान्दै मान्दिनँ, यी दुईले नै दिनेशजीलाई मारेका हुन्,’ खुश्बु आफ्नो अडानमा कायम थिइन्। उनको अडानमा न दम देखिन्थ्यो, न त तथ्य नै।
खुश्बु परिवारको तर्कमा जति शंकाको गन्ध आइरहेको थियो, चरी प्रकरणमा प्रहरीले सार्वजनिक गरेको विवरण पनि उस्तै नाटकीय थियो।
घटनाको बेलुका महानगरीय प्रहरी परिसर काठमाडौँले जारी गरेको विज्ञप्तीमा ‘जघन्य अपराधमा संलग्न फरार अपराधीहरू अवैध हतियार लिएर उपत्यकाभित्र प्रवेश गरेको र उनीहरूले व्यवसायीहरूलाई डर, त्रास, धम्की दिई पैसा असुली गरिरहेको भन्ने सूचनाको आधारमा खोजीमा खटिएको परिसर अपराध महाशाखाको संयुक्त टोलीले ५ बजे भीमढुंगामा बा ४९ प ३११२ नम्बरको मोटरसाइकलमा रहेको व्यक्तिलाई शंका लागी रोक्न खोज्दा उनले प्रहरीतर्फ गोली चलाएपछि प्रहरीले आत्मरक्षाका लागि जबाफी फायर गर्दा गोली लागेर मृत्यु भएको’ उल्लेख थियो।
प्रहरी चरीको हुलियाबारे जानकार थियो। तर, विज्ञप्तीमा ‘घटनास्थलमा उपस्थित व्यक्तिहरूका भनाइअनुसार निज मृतक धादिङ, त्रिपुरेश्वरका दिनेश अधिकारी रहेको भन्ने बुझिएको’ उल्लेख थियो।
चरी प्रकरण प्रहरीले भनेझैँ मुठभेड हो या होइन भन्ने कुरा सर्वसाधारणको स्वविवेकले छुट्याउनका लागि प्रहरीको यो विज्ञप्ती नै काफी छ।

दिनेशदेखि चरीसम्म

dinesh-chari
विसं २०५६ को निर्वाचनले धादिङलाई छपक्कै छोपेको थियो। प्रचारप्रसार, नाराबाजी अनि बाहुबलीको खोजीमा दौडिएका नेताहरूका आँखामा दिनेश अधिकारी परे। उनको हातमा चारतारे झन्डा आयो, उनले त्यही उचाले।
धादिङको सीमित घेरामा अटाउन सकेनन् उनी। उक्ले काठमाडौँतिर। नयाँ बजारको बसाइसँगै सो क्षेत्रका चल्तापुर्जा अनि कांग्रेसनिकट कुमार घैँटेको सामीप्यमा पुगे। मारपिट हुँदै पकेट खर्च जुटाउन उठ्तीपुठ्ती सुरु भयो।
धादिङको सडक ठेक्का होस् या बालुवा र ढुंगा खानी, उनको प्रभाव छँदै थियो। काठमाडौँमा समेत उनको प्रभाव विस्तार हुँदै गयो।
घँैटेको समूहमा रहेर हप्ता असुलीमा सक्रिय भएका उनी २०६० सालताका गुन्डागर्दी समूहमाझ परिचित भइसकेका थिए। ठमेल आधार क्षेत्र बनाएका दीपक मनाङे अनि चक्रपथका चक्रे मिलनसँगको शुभेच्छा बटुल्दै गए उनले।
उनको प्रभाव विस्तारसँगै प्रहरीको केस पनि बढ्दै गए। २०६२ सालबाट उनको पक्राउको क्रम सुरु भयो। २०६२ कात्तिक १५ गते प्रकाश सिलवाललाई खुकुरी हानेको केस पर्योउ। त्यही आरोपमा २०६२ मा पक्राउ परे। योसँगै पक्राउ पर्ने र छुट्ने शृंखला निरन्तर चल्यो।
२०६३ तिर घैँटेसँग उनको विवाद भएपछि उनी एक्लिए। ३० जनाजति युवा समेटेर आफ्नै समूह बनाएपछि लुटपाटका घटनामा उनको नाम जोडिने क्रम बढ्यो। २०६४ पछि ठमेलमा यार्चा व्यापारी लुटिने क्रम ह्वात्तै बढ्यो। त्यस अपराधमा अग्रपंक्तिमा उनकै नाम थियो। प्रहरी सूचीमा उनले लुटेको यार्चागुम्बाको परिमाण करिब ४० किलो हाराहारी छ।
धादिङ एमालेका नेताहरू माओवादीका बाहुबलीलाई टक्कर दिने हिम्मतिलो युवाको खोजीमा थिए। उनीहरूको नजर चरीमा थियो। कांग्रेससँग अघाएका चरीका लागि युथफोर्सले रेडकार्पेट ओछ्यायो।
जिल्लावासी नेताहरूको आशीर्वाद उनीसँग थियो नै। युथफोर्स प्रवेशसँगै महेश बस्नेतको फेरो समातेर उनी पार्टीका वरिष्ठ नेता केपी ओलीसम्मको छत्रछायामा पुगे। त्यसपछि चरीको प्रभाव ह्वात्तै बढ्यो। दलगत र नेतागत संरक्षणसँगै प्रहरी प्रशासनमा समेत उनको प्रभाव र पहुँच पुग्यो। २०५६ सालमा बुथ क्याप्चरबाट सुरु भएको यात्रा असुली धन्दासम्म पुग्दा धादिङका दिनेश अधिकारी कुख्यात गुन्डा चरी भइसकेका थिए।
राजनीतिमा छलाङ मार्दै उनी एमाले धादिङ क्षेत्र नम्बर १ को क्षेत्रीय उपाध्यक्ष भए पनि उनको अपराध यात्रा रोकिएको थिएन। रकम असुली र ठेक्कापट्टा कब्जामा उनको नाम जोडिने क्रम जारी थियो। उनी खाग तस्करीमा समेत जोडिए। केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेर कारबाहीका लागि चितवन पठायो।
उनी पक्राउ परेलगत्तै एमालेका प्रभावशाली नेताहरू खुल्ला रूपमा उनको पक्षमा उभिए। प्रहरीले आफ्नो कार्यकर्तालाई फसायो भन्दै सार्वजनिक रूपमै केपी ओली उनको पक्षमा उभिए। खाग नक्कली भन्दै उनी रिहा भए। तर, नक्कली खागको प्रकरणले राजनीतिक पहुँचको प्रभाव लुकाउन सकेन।
प्रहरीमा पनि उनका संरक्षकहरू थिए। खुसिबूको गोली काण्डको अनुसन्धानमा प्रहरीको खोजी सूचीमै रहेको बेला पक्राउ परे पनि प्रहरी भ्यानमै ‘सेटल’ गरेर चर्चामा आएका उनले पछि महानगरीय प्रहरी आयुक्त कार्यालयमा गएर आत्मसर्मपण गरे। अनि, जिल्ला प्रशासन कार्यालय पुगेर धरौटीमा छुटे।
नुवाकोटका एक ठेकेदारलाई धम्क्याएर २१ लाख रुपैयाँ असुलेर काठमाडौँ भित्रिँदै गर्दा थानकोटमा खुकुरी, तरबारसहित १२ जनाको उनको टोली प्रहरी फन्दामा पर्योर। तर, केही दिनमै धरौटीमा सबै रिहा भए।
क्षेत्रीय उपाध्यक्ष भएपछि उनी क्यासिनो, घरजग्गातिर पनि आकर्षित भए। ढावाको व्यवसाय, असुली धन्दा जारी नै थियो।
यहीबीच उनको जिल्ला तहको दुश्मनीको झिल्को काठमाडौँमा सल्कियो। उनी फेरि आफैँ खुँडा र खुकुरी चलाउन सक्रिय भए। आफूमाथि भएको आक्रमणको बदलास्वरूप उनले राधे भण्डारीलाई खुँडा प्रहार गरे। त्यही अभियोगमा कहिले नेपाल कहिले भारत गर्दै भूमिगत बसेका उनी साउन २१ गते भीमढुंगाको नर्सरी भञ्ज्याङमा मारिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर १२, २०८१