विभिन्न शिर्षकमा खर्च कटौति गर्ने अर्थमन्त्रीको घोषणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ फाल्गुन २०७४, बिहीबार ०५:२८

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षभित्र खर्च गर्न रकम अपुग हुने भएपछि विभिन्न शिर्षकमा खर्च कटौति गर्ने भएको छ। चालु वर्षको बजेटमाथि अर्धवार्षिकी समीक्षा गर्दै अर्थ मन्त्रालयले विभिन्न शिर्षकमा खर्च कटौति गर्ने घोषणा गरेको छ।

एकातिर बिनियोजित बजेटमै स्रोत अपुग भएको र अर्कोतिर गैरबजेटरी माग पनि उत्तिकै बढेको भन्दै अर्थ मन्त्रालयले खर्च कटौति गर्ने बताएको छ।

संचालनमा रहेका आयोजनाको पुँजीगत खर्चमा स्रोत प्रवाह गर्न मितव्ययिता सम्बन्धि नीति बनाउने अर्थको तयारी छ। तलव भत्ता, पानी, बिजुली, संचार महसुल, घरभाडा, वीमा, खाद्यन्न, औषधि जस्ता अनिवार्य दायित्वको विनियोजित रकम अन्यत्र रकामन्तर नगरिने भएको छ।

त्यस्तै इन्धन, मर्मत, कार्यालय सामग्री, सेवा तथा परामर्श र भ्रमण लगायतका खर्चमा पनि नियन्त्रण गर्ने सरकारी तयारी छ।

कुनै पनि सरकारी कार्यालयमा थप कम्प्युटर,ल्यपटप, प्रिन्टर, फर्निचर र सवारीसाधन खरिद नगर्ने बजेट महाशाखाको भनाइ छ।

खर्च कटौतिबाट २५ र३० अर्ब बचत हुने, ३० अर्ब आन्तरिक ऋण उठाउने र बाँकी विभिन्न कोषमा रहेको रकमलाई राजश्व खातामा ल्याइने छ।

त्यति गर्दा पनि अपुग भएमा कार्यक्रमकै समीक्षा गरिने अर्थमन्त्रीले जानकारी दिए। कार्यान्वयनमा गइसकेको भए त्यसलाई त्यहीअनुसार स्रोतको व्यवस्थान गर्ने र कार्यान्वयन नभएको भए त्यसालाई रोक्न पनि सकिने उनको भनाइ छ।

वित्तीय र बजेटरी अनुशासन सरकारको पहिलो प्राथमिकता भएको भन्दै अर्थमन्त्री खतिवडाले गैरबजेटरी भुक्तानी नहुने प्रष्ट पारे। ‘यसै पनि हामी बजेटरी स्रोत नपुगेर दबाबमा छौं’ उनले भने,‘अनुशासन बाहिर गएर गैरबजेटरी भुक्तानी हुने सम्भावना छैन।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१