काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत असई कुलबहादुर राई २० तोला अवैध सुनसहित पक्राउ परेका छन् ।
कतारको राजधानी दोहाबाट आएको कतार एअरवेजको फ्लाइट नम्बर क्यु आर ६५२ नम्बरको विमानबाट शुक्रबार बिहान करिब साढे ११ बजे ओर्लेका परवेज आलम नामका यात्रुसँग विमान अवतरण भएर रोकिने पार्किङ वेमै पुगेर राईले एउटा झोला लिएका थिए । असई राई झोला लिएपछि नियमित अराइभल मार्गको अध्यागमन र भन्सार जाँचको बाटो नभएर पार्किङ(वे हुँदै डोमेस्टिक टर्मिनलबाट बाहिर निस्केर दिउँसो बालुवाटारस्थित डेरामा पुगेका थिए ।
दोहाबाट ल्याइएको अवैध सुन विमानस्थलको भन्सार छलेर बाहिर ल्याएबापत पाइने कमिसनको लोभमा राईले त्यस्तो काम गरेका थिए । पछिल्लो एक वर्षयता विमानस्थलभित्र सादा पोसाकमा खटिएका राई घुमुवा टोलीका सदस्य थिए ।
विमानस्थलभित्रका गतिविधि नियाल्ने र गोप्य सूचना संकलन गरेर विमानस्थल सुरक्षामा खटिएको प्रहरी प्रमुखलाई बुझाउने जिम्मेवारी राईको थियो । विशेष सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले राईलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व विभागमा बुझाएको छ ।
प्रतिक्रिया