दोस्रो बैंकिङ एक्स्पो सुरु, गभर्नरले गरे उद्घाटन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० माघ २०७४, शनिबार ०५:२८

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा दोस्रो बैंकिङ एक्स्पो २०१८ सुरु भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले बैंकिङ एक्स्पोको उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै गभर्नर डा. नेपालले सीमित व्यक्तिले मात्र नभएर सबैले बैंकिङ सुविधा लिन पाउनुपर्छ भन्ने उद्देश्यका साथ आयोजना गरिएको बैंकिङ एक्स्पो कार्यक्रम अत्यन्तै सराहनीय रहेको बताए । वित्तीय कारोबार कसरी गर्ने भन्ने जानकारी दिनका लागि वित्तीय कारोबार गर्ने सम्पूर्ण संस्थाहरुलाई बैंकिङ एक्स्पोले एकै छानामुनि समेटेको भन्दै उनले यसबाट भरपूर फाइदा लिन सुझाए । पढेर नजानिने तर गरेर जानिने उद्यमशीलतासम्बन्धी जानकारीहरु बैंकिङ एक्स्पोबाट लिन सकिने गभर्नर डा. नेपालले बताए ।

वित्तीय चेतना नभएका कारण सर्वसाधारणमा बचत गर्ने बानीको विकास नभएको उनको भनाइ थियो । अन्य विकासशील मुलुकमा जस्तै विद्यालय तहदेखि नै बचत गर्ने, लगानी गर्ने लगायत आर्थिक कारोबारका विषयमा जानकारी दिन सके मुलुक समृद्ध हुने र पैसा कमाउनकै लागि विदेश जानु नपर्ने उनको भनाइ थियो ।

नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बचत गरौँ भन्ने नारालाई कुनै एक बैंकले भन्दा पनि सबै वित्तीय संस्थाहरु मिलेर सामुहिक रुपमा प्रचार गर्न सकेमा बढी प्रभावकारी हुने बताए । बैंकिङ एक्स्पोले वित्तीय साक्षरतालाई अभिवृद्धि गर्ने उद्देश्यले वित्तीय क्षेत्रका सबै संस्थाहरुलाइ समेटेको हुँदा यो कार्यक्रमले सर्वसाधारणमा बैंकिङ चेतना बढाउन ठूलो भूमिका खेल्ने बताए ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक डा. विष्णु गौतमले वित्तीय साक्षरता गाउँगाउँमा पुर्याउन सके आर्थिक कारोबार बढ्ने र मुलुक समृद्ध हुने बताए । आर्थिक कारोबारलाई बढाउन मद्दत गर्ने उद्देश्यले संचालन गरिएको बैंकिङ एक्स्पो जस्ता कार्यक्रमलाई युवा स्वरोजगार कोषले सहयोग गर्दै आएको र आगामी दिनमा पनि गरिरहने बताए । बचत परिचालन गरेपछि लगानी गर्ने संस्थाहरुले लगानीको सदुपयोग भएको छ कि छैन, परिचालित कर्जाले आर्थिक समृद्धिमा मद्दत पुर्याएको छ कि छैन सो कुराको मूल्यांकन समेत गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा डेभलपमेन्ट बैंकर्स संघका महासचिव झलकप्रसाद खनालले एक्स्पोमा सहभागी हुने र स्टल अवलोकन गर्ने युवाहरुले आर्थिक समृद्धि र उद्यमशीलता विकासमा भूमिका खेल्नेमा विश्वस्त रहेको बताए । अहिले ४० प्रतिशत मात्रै रहेको बैंकिङ पहुँचलाई बढाउनु आवयश्यक रहेको र यसमा नियामक राष्ट्र बैंकको भूमिका महत्वपूर्ण हुने उनको भनाई थियो । सबै स्थानीय तहमा बैंक शाखा पुर्याउने सरकारी नीतिलाई विकास बैंकहरुले पनि सहयोग गरिरहेको खनालले जानकारी दिए ।

त्यस्तै, वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले बचत गर्ने र एकाउन्ट खोल्न लगाउने मात्रै नभएर बैंक खाताबाट फाइदा कसरी लिने, बचत गरेको रकमको परिचालन कसरी गर्ने लगायतका विषयमा पनि जानकारी दिनु जरुरी रहेको बताए । कर्जा लगानी गर्नका लागि निक्षेप चाहिने भएकाले कर्जाको मात्रै भन्दा पनि निक्षेपको प्रवद्र्धन गरिनुपर्ने उनको भनाइ थियो । यी सबै कुरामा ध्यान दिन सके मात्रै वित्तीय साक्षरसम्बन्धी कार्यक्रमहरु सफल हुनेमा उनले जोड दिए ।

नेपाल माइक्रोफाइनान्स बैंकर्स एशोसिएसनका उपाध्यक्ष एवं लक्ष्मी लघुवित्त विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले बैंकिङ एक्स्पोले वित्तीय चेतना अभिवृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने बताए । कार्यक्रमलाई लघुवित्तका माध्यकबाट धेरै ठाउँमा वित्तीय पहुँच पुगेको छ तर त्योमात्रै पर्याप्त नभएर यस्ता कार्यक्रम विभिन्न ठाउँमा विभिन्न समयमा आयोजना गरिनु आवश्यक छ ।

कार्यक्रमका संयोजक माधव निर्दोषले बैंकिङ एक्स्पो कार्यक्रम वित्तीय जागरण राष्ट्रिय अभियानअन्तर्गत संचालन गरिएको एक्स्पोले विशेषतः मेनेजमेन्ट अध्ययन गरेका र गरिरहेका विद्यार्थी वर्ग, उद्यमशील युवा र स्वरोजगार बन्न चाहने युवाहरुका लागि अत्यावश्यकीय जानकारी प्रदान गर्ने बताए । उनले एक्स्पोमा संचालन गरिएका स्टलहरुको अवलोकन गरि आफूले बैंक वित्तबारे चाहेको जानकारी लिन अनुरोध गरे ।

मिडिया इन्टरनेशनलले आयोजना गरेको कार्यक्रमलाई नेपाल राष्ट्र बैंकले प्रवद्र्धन गरेको छ भने नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, वित्तीय संस्था संघ, माइक्रोफाइनान्स बैंकर्स संघ, बीमा समिति र नेपाल क्लियरिङ हाउसले सहकार्य गरेका छन् ।

बैंकिङ प्रविधिले फड्को मारेको छ ः डेपुटी गभर्नर सिवाकोटी
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले नेपालमा बैंकिङ प्रविधिले फड्को मारेको बताएका छन् । मिडिया इन्टरनेशनलले आयोजना गरेको बैंकिङ एक्स्पोको बैंकिङ प्रविधि विशेष अन्तरक्रियामा बोल्दै डेपुटी गभर्नर सिवाकोटीले हिजो ढड्डाबाट शुरु भएको बैंकिङ सेवाले अहिले थुप्रै नयाँ प्रविधि भित्र्याएर बैंकिङ सेवा थप सरल र सहज भएको बताएका हुन् ।
‘हिजो एउटा ऋणिको नाम पत्ता लगाउन १ घण्टा ढड्डामा खोज्नु पर्यो’ अन्तरक्रिया कार्यक्रममा सिवाकोटीले भने– ‘नयाँ अत्याधुनिक बैंकिङ प्रविधिका कारण अहिले घरमै बसेर सुविधा लिन सकिन्छ ।’ पछिल्लो समय भित्रिएका प्रविधिले सर्वसाधारणलाई सुविधाका साथै खर्च समेत कम भएका कारण अर्थतन्त्रलाई नै मद्दत पुगेको डेपुटी गभर्नर सिवाकोटीको भनाई थियो ।
कार्यक्रममा बोल्दै नेपाल क्लियरिङ हाउसका कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले प्रविधिकै कारण चेक क्लियरिङ १० मिनटमै हुने गरेको बताए । मुलुकमा भित्रिएको प्रविधिका कारण नै घण्टौ लाइन लागेर चेक साट्नु पर्ने बाध्यता हटेको उनले बताए ।
त्यस्तै, प्रभु इन्स्योरेन्सकी अध्यक्ष कुसुम लामाले प्रविधिको प्रयोगले कारोबारमा सहजता ल्याउनुका साथै सुरक्षित पनि हुने बताइन् । मुलुकलाई डिजिटल फाइनान्स तथा क्यासलेश ट्रान्ज्याक्सनतर्फ लैजान इकमर्स, इवलेट, बैंकिङ कार्ड जस्ता प्रविधिहरुको प्रयोगमा जोड दिनुपर्ने उनको भनाई थियो । प्रविधिको विकाससँगै विकृतिहरु पनि भित्रिएको भन्दै लामाले प्रविधिको प्रयोग गर्दा सावधानी अपनाउनु जरुरी रहेको बताइन् । उनले भनिन्, ‘बैंकिङ ठगीका कुराहरु आइरहेका छन् । त्यसैले, आफूले मोबाइल वलेट प्रयोग गरेको संस्था राष्ट्र बैंकबाट लाइसेन्स प्राप्त भएनभएको विषयमा विचार पुर्याउनुपर्छ ।’
बैंकर्स एसोसिएसनका कार्यकारी सदस्य एवम् प्रभु बैंकका सीईओ अशोक शेरचनले बैंकिङ प्रविधिको बारेमा प्रचार प्रसार भइरहेको र विस्तारै यसका प्रयोगकर्ताहरु बढ्दै गएको जानकारी गराए । प्रविधिको विकास र विस्तारका लागि नेपालमा पर्याप्त पूर्वाधारहरु बनिनसकेको र शून्यदेखि नै यसको सुरुवात गर्नुपर्ने भएकाले बैंकिङ प्रविधिको प्रयोग र पहुँच विस्तारमा केही समय लागेको उनले बताए । हालसम्म एटिएम कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ लगायतका थुप्रै बैंकिङ प्रविधिहरु प्रयोगमा आइसकेको जानकारी दिँदै शेरचनले आगामी दिनमा बैंकिङ प्रविधिका अन्य विभिन्न प्रोडक्टहरु बैंकहरुले प्रयोगमा ल्याउने बताए । अब प्रयोगमा आउने प्रविधिहरु सुरक्षाका हिसाबले अझ बलियो हुने उनको भनाई थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१