सरकार नै तिर्दैन उपचार खर्च

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ माघ २०७४, मंगलवार ०५:४५

भरतपुर।  सरकारले अस्पताललाई रकम तिर्न ढिलो गर्दा विभिन्न फौजदारी अपराधका क्षतिपूर्ति नपाइने घटना र प्राकृतिक विपत्तिमा घाइते भएकाहरूको उपचारमा कठिनाइ हुने गरेको छ । शुल्क असुल गर्न मुस्किल हुने देखेपछि अस्पतालले नै यस्ता बिरामीको उपचारमा उदासीनता देखाउने गरेका छन् । उपचार गरे पनि डिस्चार्जका बेला समस्या पारिदिन्छन् ।

गत मंसिर २ गते रौतहट, चन्द्रपुर नगरपालिका–५ स्थित कृष्ण मन्दिरनजिकको विस्फोटमा १२ जना घाइते भए । तीमध्ये सरिता राई र उनका नाबालक छोरा जयविकराईको अवस्था गम्भीर थियो । उनीहरूलाई तत्काल चितवन मेडिकल अस्पताल ल्याइयो ।
रौतहट प्रशासनको आग्रहमा चितवनका प्रजिअ नारायणप्रसाद भट्टले घाइतेको उपचार सहज बनाउन पहल गरे । तर, उपचारक्रममै अस्पतालको फार्मेसीले औषधि रोक्यो ।
बिरामीका आफन्तले हारगुहार गर्दा पनि अस्पतालले मानेन । प्रहरी उपरीक्षक दीपक थापाले औषधि नरोक्न आग्रह गरेपछि मात्र उपचार नियमित गरियो । उपचार सकिएपछि आमा सरिता डिस्चार्ज भइन् । तर, छोरा जयविकको डिस्चार्जका बेला अस्पताललाई तिर्नुपर्ने १० लाख ९० हजार रुपैयाँको हिसाबकिताब खोजियो । आमाछोरा झन्डै एक साता अस्पतालमै बन्धकझैं भए ।
अस्पतालका मानव संसाधन प्रमुख अरुण कोइराला सरकारले धेरै रकम तिर्न बाँकी रहेको बताउँछन् । ‘बाँकी बक्यौताका लागि ताकेता गर्दा लामो समयसम्म पनि सरकारले तिरेको छैन,’ उनले भने, ‘तर, पैसाकै कारण अस्पतालले बिरामीको उपचारमा समस्या पारेको छैन ।’ फौजदारी र प्राकृतिक विपत्तिका घटनामा परेकाको उपचारबापत के–कति रकमसरकारले तिर्न बाँकी छ भन्नेचाहिँउनले खुलाएनन् ।
१० लाख तिर्न नसक्दा सरिता र जयविक अस्पतालमै बस्नुपरेको समाचार प्रकाशित भएपछि एमाले नेता रामकुमार भट्टराई केही दिनअघि आफैं पैसाको जमानी बसी उनीहरूलाई डिस्चार्ज गराएका थिए । उक्त रकमका लागि स्थानीय प्रशासनमार्फत गृहमन्त्रालयमा पत्राचार भइसकेको छ ।
गत असारमा सुनौलमा भएको बम विस्फोटमा स्थानीय लेखनाथ सुवेदी गम्भीर घाइते भए । उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज ल्याइयो । झन्डै २ महिना उपचारपछि उनी घर फर्के । अस्पतालले उनको उपचार खर्च १० लाख ४८ हजार रुपैयाँ भएको जनाएको छ । तर, अहिलेसम्म सरकारले तिरेको छैन ।
सुवेदीको उपचारका लागि गृहमन्त्रालयले अस्पताललाई पत्राचार गरेको थियो । त्यस्तै रौतहटमा भएको विस्फोटका घाइतेमध्ये २ जनाको उपचारमा १ लाख ४३ हजार खर्च भएको थियो ।
सरकारले विभिन्न घटनाका घाइतेको उपचारमा लागेको झन्डै ३५ लाख ६९ हजार ४ सय एकाउन्न रुपैयाँ तिर्न बाँकी रहेको अस्पतालका लेखा अधिकृत विनोद आचार्यले बताए । ‘सम्बन्धित निकायमा धेरै पटक पत्राचार र ताकेता गर्‍यौं’, उनले भने, ‘अहिलेसम्म रकम निकासा भएन, घटना हुनासाथ मौखिक आदेशको भरमा बिरामीको उपचार गरिन्छ । पछि पैसाको अत्तोपत्तो हुँदैन ।’
अढाई वर्षअघिको शक्तिशाली भूकम्पमा घाइते भएका चितवन, धादिङ, गोर्खा, नवलपरासीका ९९ जनाको उपचारमा लागेको ३४ लाख रुपैयाँसमेत स्वास्थ्य मन्त्रालयले अहिलेसम्म नतिरेको अधिकृत आचार्यले जानकारी दिए । ‘मन्त्रालयले शल्यक्रिया गरिएका घाइतेको उपचारमा लागेको रकम दिने भनेको छ तर अन्यको खर्च पाउने–नपाउने भन्नेमा पनि अन्योल छ,’ उनले भने । साभार – कान्तिपुर

प्रतिक्रिया