मिर्गौला, क्यान्सर र स्पाइनल कर्ड इन्जुरीका बिरामीलार्इ जिविकोपार्जन भत्तावापतको चेक प्रदान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ माघ २०७४, शुक्रबार ०६:३४

काठमाडौं । मिर्गौला, क्यान्सर र स्पाइनल कर्ड इन्जुरी भई प्यारालाइसिस भएका बिरामीलाई सरकारले जिविकोपार्जन भत्ता वापतको मासिक पाँच हजार रुपैयाँ भत्ता वितरण सुरु गरेको छ ।

प्रधानमन्त्री शेरवहादुर देउवाले बिहीबार वीर अस्पतालले राष्ट्रिय ट्रमा सेन्टरमा आयोजित कार्यक्रममा २९ जना पीडितहरुलाई भत्तावापतको चेक प्रदान गरेका हुन् ।भत्ता वितरणका क्रममा प्रधानमन्त्री देउवाको हातबाट ट्रमा सेन्टरमा प्यारालाइसिसको उपचार गराइरहेका ६ जना, बीर अस्पतालमा क्यान्सरको उपचार गराइरहेका १२ जना र मिर्गौलाको उपचार गराइरहेका ११ जनाले जिविकोपार्जन वापतको चेक लिएका थिए ।

भत्ता वितरण पश्चात्त बोल्दै प्रधानमन्त्री देउवाले उक्त भत्ता राज्यको कोषबाट नभई सूर्त्तिजन्य पदार्थमा लगाएको अन्तशुल्ककरबाट उठेको रकमबाट या भत्ता वितरण गरिने हुदाँ यसले राज्यलाई आर्थिक भार नपर्ने बताए ।

‘नेपालमा क्यान्सर, मिर्गौला रोगको बिरामीहरुको अवस्था भयावह रहेकाले त्यस्ता विरामीहरुको सहज जिविकोपार्जनका लागि पनि यस किसिमको भत्ता आवश्यक थियो’, प्रधानमन्त्री देउवाले भने,’ यसले स्पाइन, क्यान्सर तथा मिर्गौलाका विरामीलाई साथै भएपनि सहयोग पुग्छ भन्ने आशा लिएको छु’ ।

कार्यक्रममा स्वास्थ्य मन्त्री दीपक बोहराले उक्त कार्य कुनै राजनैतिक नभई विशुद्ध सामाजिक दायित्व अन्तर्गत रहेरस्पष्ट पारे ।

उक्त रकम सूर्त्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ अनुसार व्यवस्था गरिएको हुदाँ सो रकम सूर्त्ति कर कोषमा आउनुपर्ने २५ प्रतिशत रकमबाटै व्यवस्थापन गरिने बताए ।

कार्यक्रममा वीर अस्पतालका रजिष्टार किरण मानन्धरले स्वागत मन्तव्य व्यक्त गर्दै उक्त भत्ताले विरामीहरुलाई सानै भएपनि राहत पुग्ने आशा व्यक्त गरे ।

त्यसैगरी, स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा। विनोद मान श्रेष्ठले कार्यक्रमको उद्देश्यबारे प्रष्ट पार्दै मृागैला, क्यान्सर रोगी तथा स्पाइन्ल कर्ड इन्जुरीका विरामीलाई दिइदै आएको एक लाख रुपैयाँ सहयोग अपुग भएकाले मंसिर १३ गते पारित भएको प्रस्ताव अनुसार बिरामीको भरण, पोषण तथा सहज उपचारका लागि उक्त भत्ता वितरण सुरु गरेको जानकारी दिए ।

कार्यक्रम वीर अस्पतालका उपकुलपति डा। गणेश गुरुङ्गको सभापतित्वमा सम्पन्न गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै वीर अस्पतालका निर्देशक डा। भूपेन्द्र बस्नेतले यस वर्ष वीर अस्पतालमा दुई हजार ८३६ मिर्गौला रोगीहरुले डायलासिस सेवा लिएको जानकारी दिए ।

त्यसैगरी, क्यान्सर तर्फ एक हजार १५२ जनाले उपचार सेवा लिएकोमा त्यसमध्य प्रत्येक महिना दुई सय जना क्यान्सर रोगीहरु वीर अस्पतालमा क्यान्सर रोगको उपचारका लागि आउने गरेको उनले बताए ।

स्वास्थ्य मन्त्रालयको एक तथ्यांक अनुसार नेपालमा करिब १७ हजारको हाराहारीमा मिर्गौला रोग, क्यान्सर तथा स्पाइनल कर्ड इन्जुरीका विरामी रहेका छन् ।

प्रतिक्रिया